|

ओखलढुंगा : नियमित रूपमा विद्युत् नआउँदा पूर्वका तीन जिल्लाका उपभोक्ता मारमा परेका छन्।  ६ महिनादेखि विभिन्‍न समयमा पटक-पटक लगातार तीन दिनसम्म विद्युत् अवरुद्ध हुने समस्याका कारण ओखलढुंगा, सोलुखुम्बु र खोटाङका उपभोक्ता मारमा परेका हुन्।

कतिखेर कुन समयमा बत्ती जान्छ र आउँछ भन्ने टुंगो नहुँदा विद्युतमा निर्भर व्यवसायीहरु लाखौं घाटामा पर्ने गरेका छन्। लगातार तीन दिन बत्ति जाँदा सयौं चल्लाहरु मर्ने गरेको पत्रकार तथा व्यवसायी रामहरि श्रेष्ठले बताए। जिल्लाका दर्जनौं कुखुरापालक किसान बत्तीका कारण मारमा पर्ने गरेको उनको भनाइ छ।

अनलाइन शिक्षामा समस्‍या

त्यसैगरी, अन्य व्यवसायीहरु पनि विद्युतले गर्दा हैरान हुने गरेको बताउँछन्। व्‍यवसायी मात्र नभएर कोरोना महामारीका कारण घरघरमा बसेका विद्यार्थीहरुलाई समेत समस्या भएको सोलुखुम्बु घर भई ओखलढुंगामा डेरामा बस्दै आएका प्रकाश बस्नेतले बताए।

आफ्ना दुईवटा बच्चाहरु नियमित अनलाईन तथा रेडियो टिभिबाट पढ्ने गरेका भए पनि नियमत विद्युत नहुँदा नानीहरुलाई समस्या भएको उनको भनाइ छ।

अवरुद्धको कारण माथिल्लो सोलु जलविद्युत

नेपाल विद्युत् प्राधिकरण ओखलढुंगा वितरण शाखाले भने यसरी विद्युत अवरुद्द हुनुको मुख्य कारण माथिल्लो सोलु जलविद्युत् आयोजना भएको बताएको छ।

सोलु करिडोर प्रसारण लाइन सम्पन्न नभएपछि उत्पादन शुरु भएको माथिल्लो सोलु जलविद्युत आयोजनाको ५ मेगावाट विद्युत ओखलढुंगा–बुइपा–गाईघाट ३३ केभी प्रसारण लाइनमै जोडिएको र सोही कारण ३३ केभी प्रसारण लाइनले धान्न नसक्दा विभिन्न प्राविधिक समस्याको आउने गरेको छ।

साथै उपकरणहरुमा क्षति हुने भएकोले अवरुद्द हुने गरेको विद्युत प्राधिकरण वितरण शाखा ओखलढुंगाका प्रमुख सञ्जीव साहले बताए। उनका अनुसार धेरैजसो खोटाङ र उदयपुरको बीचमा बिग्रिने गरेको र कहाँनेर बिग्रियो भनेरै पत्ता लगाउन धेरै समय लाग्ने गरेको छ।

हाल सञ्‍चालित प्रसारण लाइनले १३ मेगावाट क्षमता मात्र धान्ने भए पनि माथिल्लो सोलु जलविद्युतको ५ मेगावाट थपिएपछि हैरान भएको समेत उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.