|

काठमाडौं : नेपाली सेनाको अस्पताल आइतबारदेखि सर्वसाधारणका लागि खुला भएको छ। सैनिक र उनीहरुको आश्रित परिवारको मात्र उपचार हुने अस्पतालमा आइतबारदेखि भने सर्वसाधारणको पनि उपचार सुरु भएको हो। 

अब सार्वजनिक विदाको दिन बाहेक हरेक दिन साढे ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणले नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पतालमा बहिरङ्ग सेवा पाउने भएका छन्। 

'आज मिति २०७३ फागुन १५ गतेबाट सार्वजनिक विदाको दिन बाहेक दैनिक रुपमा १५३० वजेदेखि १७०० वजेसम्म छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा गैह्र सैनिक व्यक्तिहरुलाई ओपीडी सेवा सञ्चालन गर्न मिलाइएको छ' सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।   

सैनिक परिवार, तिनका आफन्त र सर्वसाधरणले पाउने सेवा एउटै समयमा नहोस् भनेर सर्वसाधरणको लागि ३ बजे पछिको समय छुट्याउने सहमति यस अघि नै भइसकेको थियो।

नेपाली सेनाले सरकार र स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी निकट भविष्यमा रौतहटको गौरमा मोबाइल अस्पतालको प्रयोग गरी शिविर सञ्चालन गर्ने योजना रहेको जनाएको छ।  'यस प्रकारको कार्यबाट गैह्र सैनिक व्यक्तिहरुलाई स्वास्थ्य सेवामा थप मद्दत पुग्न जानुको साथै स्वास्थ्य क्षेत्रमा नयाँ आयाम खडा हुन गई नागरिक सैनिक सम्बन्ध थप सुदृढ हुने विश्वास नेपाली सेनाले लिएको छ' विज्ञप्तिमा भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.