पर्सा : निषेधाज्ञा खुकुलो भएसँगै पर्सामा कोरोना संक्रमित बढ्ने क्रम फेरि सुरु भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्ला परीक्षण रिपोर्टले यस्तो देखाएको हो।
हरेक २४ घण्टाको सार्वजनिक रिपोर्टमा शून्य अंकमा झरेको संक्रमित थपिने क्रम फेरि दुई दिनयता बढेको छ। पछिल्लो अपडेटमा २ अंकको डिजिट छुन थालेको नारायणी अस्पतालको सार्वजनिक रिपोर्टले देखाएको छ। गएको २९ भदौमा पर्सामा एक जना पनि संक्रमित फेला परेका थिएनन्। त्यो दिन कुल नयाँ संक्रमित संख्या भने २६ थपिएका थिए।
एक हप्तामा कुन दिन कति संक्रमित थपिए
भदौ २९ यता भने परिणाममा विस्तारै परिवर्तन हुन थालेको छ। गएको भदौ २४ गते १६ जना थपिँदा ७ जना मात्र पर्सा थिए। त्यसै गरी भदौ २५ गते १४ नयाँ संक्रमितमा २ जना, २६ गते २३ नयाँ संक्रमितमा ९ पर्साका, २७ भदौमा ६ नयाँ संक्रमित थपिँदा ३ पर्साका, २८ भदौमा १८ नयाँ संक्रमित थपिँदा ८ पर्साका र २९ मा २६ नयाँ संक्रमित थपिँदा पर्साका एक जना पनि थिएनन्।
तर नारायणी अस्पतालको स्वास्थ्य प्रयोगशालाको सार्वजनिक दुई दिन यताको रिपोर्टमा डबल डिजिटका दरले नयाँ संक्रमित फेला पर्न थालेको तथ्यांकले देखाएको छ। पछिल्लो केही दिनदेखि घट्दै गएको कोरोना संक्रमित थपिने क्रम दुई दिनयता अलि बढेको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश कुमार चौरसियाले बताए।
पछिल्ला दिनमा फेरि बढ्दै संक्रमित
गएको भदौ ३१ गते नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाव परीक्षणको रिपोर्टमा १९ नयाँ संक्रमित थपिए। तिनीहरु मध्ये पर्साका मात्र १७ जना थिए।असोज १ गतेको परीक्षणबाट थपिएका २४ संक्रमितमध्ये १४ जना पर्साका मात्र रहेको डा चौरसियाले रिपोर्ट सार्वजनिक गर्दै भने।
पछिल्ला दुई दिनयता सार्वजनिक तथ्यांकले निषेधाज्ञा खुकुलो बनाइएपछि संकलित स्वाब परीक्षण गर्दा फेरि पर्सामा संक्रमित बढ्न थालेको हो कि भन्ने संकेत गरेको नारायणी अस्पतालले जनाएको छ। पछिल्लो पटक थपिएका २४ नयाँ संक्रमितमा बाराका ६ र रौतहटका भने ४ जना मात्र थपिएका छन्।
अस्पतालको पिसिआर प्रयोगशालामा पर्सा, बारा र रौतहटका विभिन्न स्थानबाट संकलन गरिएकोे २ सय ८८ जनाको थ्रोट स्वाब नमुनालाई परीक्षण गरिएको प्रवक्ता डा चौरसियाले बताए। पछिल्लो समयमा हरेक २४ घण्टामा २ सय ८५ देखि ३ सयसम्मको स्वाब परीक्षण नारायणी अस्पतालमा भइरहेको उनको भनाइ छ।
थपिएका नयाँ संक्रमितहरुको सिटी भ्यालु १५ देखि ३४ सम्म रहेको छ। सिटी भ्यालु २४ भन्दामाथि भएका संक्रमितले अरुमा संक्रमण सार्न सक्ने सम्भावना न्यून रहेको चिकित्सकहरुले बताएका छन्।
साउन १० यता वीरगन्जमा निषेधाज्ञा जारी
वीरगन्ज महानगरपालिकामा साउन १० गतेदेखि निषेधाज्ञा सुरु भएको थियो। साउन १९ गतेबाट त्यो निषेधाज्ञा जिल्लाभर थपियो। साउन ३१ गतेको निर्णयबाट सेनासमेत परिचालन गरी भदौ १३ गते बिहान ५ बजेसम्म निषेधाज्ञा बढाइयो।
सो अवधि सकिनुपूर्व गएको भदौ १२ गतेको बैठकले जिल्लाभर लगाइएको निषेधाज्ञा पुनः खुम्च्याई वीरगन्ज बजार क्षेत्रमा मात्र लगाउने निर्णय भयो। लगत्तै भदौ १९ गतेदेखि भने वीरगन्जको मुख्य बजार क्षेत्रका एकतर्फी पसलहरु खुले। भदौ २२ गते बिहीबार भएको नयाँ निर्णयपछि भने वीरगन्ज महानगरपालिका क्षेत्रभित्र रहेका पसलहरु शनिबारबाहेक प्रत्येक दिन निर्धारित समयमा खोल्न पाउने निर्णय भयो।
तर निषेधाज्ञा भने भदौ ३१ सम्म नै लम्ब्याइयो। भदौ ३१ मा पुनः सरकारी कार्यालयहरु पनि सुरक्षा सतर्कता अपनाई खोल्ने थप निर्णय भयो।
निषेधाज्ञा भने आगामी असोज १५ सम्म लम्ब्याइएको छ। जिल्ला सुरक्षा समितिको निर्णयविपरीत कसैले पसल व्यवसाय संचालन गरेको पाइए संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गरिने भनिए पनि अहिले वीरगन्ज बजारमा हेर्ने हो भने निषेधाज्ञाको कुनै आभास पाइँदैन।
पहिले पनि निषेधाज्ञा खुकुलो गर्दा संक्रमित बढेका थिए
सुरुका दिनमा पनि निषेधाज्ञा खुकुलो गर्दा पर्सामा संक्रमित संख्या ह्वात्तै बढेको थियो। संक्रमित संख्या एक्कासि बढ्दा असार ३१ गते सम्म १ जना मृतक भएको पर्सामा मृतकको संख्या नै अहिले ४३ पुगिसकेको छ।
डेढ सय संक्रमित संख्या असारसम्म रहेको पर्सामा भदौ २९ गते सम्ममा नै २ हजार ४ सय ५६ पुगिसकेको जिल्ला प्रशासन कार्यालय पर्साको तथ्यांकले देखाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।