|

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ।

सामान्यतया: चाडबाडका बेला सुरक्षा चुनौतीहरू बढ्ने हुनाले अपराध, चोरी डकैती, कोरोना जोखिम न्यूनीकरण, सडक दुर्घटना जोखिम न्यूनीकरण गर्न सुरक्षा योजना तयार पारिएको जिल्ला प्रहरी कास्कीले जानकारी दिएको छ।

कास्कीका प्रहरी प्रमुख उपरीक्षक जीवन कुमार श्रेष्ठका अनुसार यसपटक दशैँलाई लक्षित गरेर जिल्लाभर १५ प्रकारका ड्युटीका लागि ७५१ जना प्रहरी परिचालन गर्न लागिएको छ।

जसअन्तर्गत कमाण्ड पोस्टमा सात जना, सीआरभीमा एक सय ११ जना, पिकेटमा ५१ जना, ग्रामीण गस्तीमा ५५ जना, राजमार्गमा ३८ जना, मोबाइलमा ३२ जना, मोटरसाइकलमा ३२ जना, पोखरा नगरभित्रको पैदलमा ७४ जना, एम्बुस चेकिङमा ८६ जना, भिगरस चेकिङमा ५५ जना, बजार अनुगमनमा १२ जना, क्यूआरटीमा ४९ जना, राजमार्ग क्रस पेट्रोलिङमा २१ जना, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षामा २८ जना तथा सूचना सङ्कलन, चोरी र अपराध नियन्त्रणमा सादा पोसाकमा ४० जना गरेर ६५१ जना प्रहरी खटाउन लागिएको हो।

कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार कास्की प्रहरीले चाडपर्वको बेलामा सवारी आवागमनमा वृद्धि, बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी दुर्घटना, खसीबोका ओसारपसारमा हुन सक्ने अवरोध, चोरी तथा लुटपाट, व्यक्ति वा वित्तीय संस्थामा हुन सक्ने लुटपाट, खाद्यान्नको कृत्रिम अभाव, जुवा तास तथा अवैध मदिरा, उद्योगपति व्यापारी र राजमार्गमा गुड्ने सवारीसँग जबरजस्ती चन्दा असुली, चाडपर्व लक्षित भेटघाट तथा भिडभाड, घरमा कोही नभएको बेलामा हुन सक्ने चोरी, भिआइपीको आवागमन तथा सुरक्षा व्यवस्थापन, व्यस्त स्थानमा हुन सक्ने अवाञ्चिछत गतिविधि, जघन्य प्रकृतिका अपराध, फरार अभियुक्तको चलखेल, राजमार्ग सुरक्षा, पटका भुईँचम्पा तथा अतिसबाजी लगायतका अपराध र क्रियाकलापमाथि प्रहरीको निगरानी रहने छ।

सुरक्षा योजनालाई सफल रूपमा कार्यान्वयन गर्न बस व्यवसायी समिति तथा कम्पनी, ट्रक व्यवसायी, ठेकेदार, स्थानीय नागरिक, उद्योग वाणिज्य सङ्घ, स्थानीय तह, सुरक्षा गार्ड, बजार व्यवस्थापन समिति, टोल विकास समिति, समुदाय प्रहरी साझेदारीका समूह, उपभोक्ता मञ्च, आमा समूह, स्थानीय क्लब, सामाजिक सङ्घ संस्था लगायतसँग सहकार्य गरिने कास्की प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.