|

बुटवल : कोरोना संक्रमणबाट रुपन्देहीका थप चारजनाको मृत्यु भएको छ।  बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा दुईजना, कोरोना विशेष अस्पताल बुटवलबाट दाङ रिफर गर्दा बाटोमा एकजना र दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पतालमा अर्की एक महिलाको मृत्यु भएको हो।

असोज २१ मा आइसियुमा भर्ना भएकी बुटवल उपमहानगरपालिका–११ की ६१ वर्षीया महिलाको उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा शनिबार राति २ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि जानकारी दिए। ती महिलामा असोज २१ मा नै कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै‚ बुटवल–१ का ७० वर्षीय पुरुषको पनि शनिबार राति १० बजे कोरोना विशेष अस्पतालको आइसियुमा उपचारका क्रममा मृत्यु भएको छ। शनिबार अस्पताल भर्ना भएका उनमा असोज २२ मा कोरोना संक्रमण पुष्टि भएको थियो। सूचना अधिकारी गौतमका अनुसार ती पुरुषमा निमोनिया र श्वासप्रश्वासको पनि समस्या थियो।

बुटवलमा आइसियु शय्या अभाव भएपछि दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल वा नेपालगन्ज मेडिकल कलेज, कोहलपुर लैजाने क्रममा बुटवल–११ का ८४ वर्षीय पुरुषको आइतबार बिहान कपिलवस्तुको धानखोलामा मृत्यु भएको छ। उनी मुटुका दीर्घरोगी थिए।

रुपन्देहीको तिलोत्तमा–३ कि ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ। बुटवलमा आइसियु अभाव भएपछि ती महिलालाई रुपन्देहीबाट शुक्रबार राति साढे १० बजे बेलझुण्डी अस्पतालमा लगिएको थियो। उनलाई आइसीयुमा राखेर उपचार शुरु गरे पनि शनिबार बिहान मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.