६ प्रतिवादीमाथि न्यायाधीशको राय मिलेन

|

रुकुम : रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनाका दुई प्रतिवादी माथि जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश विद्याराज पौडेलले गरेको आदेश उच्च अदालत सुर्खेतमा बदर भएको छ।

रुकुम अदालतले घटनाका प्रतिवादी मध्य दुई बालबालिकालाई मुद्दा पुर्पक्षका लागि बालगृहमा राख्न आदेश दिएपनि उच्च अदालतले त्यसलाई बदर गरिदिएको हो। 

सोती घटनाको मुद्दामा जिल्ला अदालतले गरेको आदेशमा चित्त नबुझी घटनाका वादी र प्रतिवादी दुबै उच्च अदालत सुर्खेत गएका थिए। उक्त मुद्दाको विषयमा आइतबार उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश डा. कुमार चुडाल र न्यायाधीश सुदर्शनदेव भट्टको संयुक्त इजलासले यस्तो आदेश गरेको हो।

आदेशमा नाम परिवर्तित ५४ रुकुम पश्चिम ३६ र नाम परिवर्तित ५४ रुकुम पश्चिम ३९ लाई जिल्ला अदालतले गरेको आदेश अनुसार तत्काल आवश्यक प्रमाण नपुगेको, सर्वोच्च अदालतबाट प्राप्त निर्देशन एवम्‌ बालबालिका ऐन अनुसार बालबालिकाको सर्वोत्तम हित अनुसार मुद्दा पुर्पक्षको लागि बालगृहमा राख्न नमिल्ने भन्दै छोड्न आदेश दिएको हो।

अदालतमा आवश्यक भएको खण्डमा उपस्थित गराउने गरि अभिभावकको रोहबरमा छोड्न भनिएको छ। यी प्रतिवादीहरू एक जना मृतक नवराज बिककी प्रेमिका भनिएकी किशोरी र एकजना उनका आफन्त हुन्‌।

त्यस्तै उच्च अदालतले जिल्ला अदालतको आदेशलाई बदर गर्दै अन्य ६ जना प्रतिवादीहरूलाई पनि साधारण तारेखमा छाड्न आदेश दिएको छ। तर, संयुक्त इजलासमा बसेका मुख्य न्यायाधीश कुमार चुडालले यस्तो आदेश दिएपनि अर्को न्यायाधीश सुदर्शनदेव भट्टले भने फरक राय राखेका छन्‌। 

भट्टले उनीहरूलाई साधारण तारेखमा छोड्न नमिल्ने भन्दै जिल्ला अदालतकै आदेशमा सहमत भएका छन्‌। जसले गर्दा मुद्दा पुपक्षका लागि थुनामा राख्न आदेश भएका प्रतिवादीहरू सबिन पुन, भीमबहादुर बुढा, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र सौरभ पुनसमेत गरी ६ जनालाई साधारण तारेखमा छाड्ने या जिल्ला अदालतकै आदेश सदर गर्ने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन।

दुई जनाको संयुक्त इजलासमा रहेको मुद्दामा दुई जना न्यायाधीशकै फरकफरक मत भएमा तेस्रो न्यायाधीश समक्ष पेश गरेर निर्णय लिनुपर्ने कानुनी व्यवस्था अनुसार अब उक्त मुद्दामा तेस्रो न्यायाधीशको राय लिइनेछ।

तेस्रो न्यायाधीश सहितको सयुक्त इजलासले दिएको राय र आदेश अनुसार उक्त मुद्दाको आदेश कार्यन्वयन हुने वादी तर्फबाट बहसमा सहभागी अधिवक्ता यमकुमारी ददेलले जानकारी दिइन्‌। ‘यदी तीन जना न्यायाधीशको राय नमिलेको अवस्था वा राय मिलेपनि उक्त आदेशमा वादीपक्षको चित्त नबुझेमा मुद्दा फेरी सर्वोच्चसम्म जानसक्छ,’ उनले भनिन्‌, ‘जिल्ला अदालतले चार जनालाई धरौटी तथा साधारण तारेखमा छाड्ने आदेश विरुद्ध नै मुद्दाको वादी पक्ष उच्च अदालत गएको हो, तर उच्चबाट फेरि वादी पक्षको माग विपरित उल्टै थप दुई जनालाई साधारण तारेखमा छाड्न आदेश आयो।’

जम्मा ३४ जना प्रतिवादीमध्ये जिल्ला अदालतले घटनाका प्रतिवादी डम्बरबहादुर मल्लसहित २८ अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गर्न, दुई प्रतिवादी बालबालिकालाई मुद्दा पुर्पक्षको लागि सुधारगृहमा राख्न, एक जना प्रतिवादीलाई एक लाख धरौतीमा छोड्न र तीन जना प्रतिवादीहरूलाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.