|

नवलपरासी : पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ घिउडल्ला बाबुटोलकी पूजा भर एक महिनादेखि बेपत्ता छिन्‌। तर, छोरीको खोजी गरिदिन आग्रह गर्दा जिल्ला प्रहरी कार्यालयको महिला सेलमा कार्यरत एक महिला प्रहरीले आफूमाथि उल्टै दुर्व्यवहार गरेको पीडित आमा शिला भरले बताएकी छिन्‌।

​छोरी हराएको निवेदन लिएर जिल्ला प्रहरी कार्यालयमा जाँदा महिला सेलमा कार्यरत एक महिला प्रहरीले आफूलाई दुर्व्यवहार गर्दै अपमानजनक शब्द प्रयोग गरेर उल्टै गाली गरेको उनी बताउँछिन्। 'तेरा छोरीजस्ता त कति हराउँछन् हराउँछन्, तेरी छोरीलाई पोइ चाहिएर गई होला, किन खोज्नु पर्‍यो' भनेर महिला प्रहरीले थर्काएको उनले बताइन्। 'छोरी हराएर म पीडामा छु, न्याय खोज्न जाँदा मलाई नै थकाईयो, अब म प्रहरीबाट के आश गरूँ?' आँसु धारा बगाउँदै शीलाले दुखेसो पोखिन्।

छोरी हराएको एक महिनाभन्दा बढी भैसकेको र प्रहरीमा निवेदन दिएको लामो समयसम्म कुनै जानकारी प्राप्त नहुनुले प्रहरीले पनि खासै चासो नदिएको शिलाको भनाई छ। उनले भनिन्‌, 'म प्रहरी कार्यालयमा ६/७ पटक पुगिसकेँ, ४ दिन, ५ दिन, एक हप्तामा पत्ता लाग्छ भनेर फर्काउने गर्छन्।'

 

छोरी हराएपछि शिला भर अहिले रोएरै दिन कटाउ बाध्य छिन्। गत असोज ११ गते घरबाट विद्यालयमा पढ्न गएकी छोरी पूजा भर घर नफर्किएपछि त्यसयता उनका आँखा ओभाएका छैनन्।

उनी मात्र होइन,वैदेशिक रोजगारका क्रममा मलेसियामा रहेका उनका श्रीमान रामलखन भर पनि छोरी हराएको खबर पाएसँगै छटपटीमै दिन बिताउन बाध्य भएका छन्। एकातिर कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनका कारण काम रोकिएर खाली बस्नुपरेको पीडा, अर्कातर्फ हुर्किएकी छोरी हराउँदाको पीडा खपिनसक्नु भएको उनी बताउँछन्।

शिला भने कतिखेर छोरी आउलिन्‌ र आमा भनेर बोलाउलिन्‌ भन्दै छोरीकै प्रतिक्षामा बसिरहेकी छन्। सुनवल नगरपालिकाको वडा नम्बर १३ बडेमा कक्षा १० मा पढ्दै गरेकी उमेरले भर्खर १६ वर्ष टेकेकी छोरी हराएपछि छोरीको खोजीका लागि उनले अनेक प्रयास गरिरहेकी छन्।

असोज ११ गते विद्यालय गएकी पूजा भर अबेरसम्म घर नफर्किएपछि आमा शिला उनलाई खोज्दै स्कुल सम्म पुगिन्। तर त्यसदिन छोरी स्कुलमै नगएको जानकारी पाएपछि उनी छाँगाबाट खसेजस्तै भइन्।

उनी अत्तालिँदै घर फर्किइन्। छोरी खोज्न शिला बडेरातर्फ लागेपछि उनका देवर आफ्नो ससुराली रामग्राम ४ जितपुरतर्फ लागे। उनी ससुरालीमा पुग्दा आफ्नो सालो नगेन्द्र भर पनि घरमा नभएको पाए। उनी घर फर्किएर भाउजुलाई सालो पनि घरमा नभएको जानकारी गराएपछि शिलाले नगेन्द्रले नै छोरीलाई लिएर गएको आशंका गरिन्।

 १२ गते जिल्ला प्रहरी कार्यालयमा गएर आफ्नो छोरीलाई नगेन्द्र भरले लिएर गएको र केटा ठीक नभएका कारण छोरीको अवस्था जे पनि हुनसक्ने भन्दै खोजी गरिदिन आग्रह गर्दै ठाडो उजुरी गरिन्। प्रहरीले पनि छिट्टै खोजी गरी छोरीको अवस्थाका बारेमा जानकारी गराउने आस्वासन दिएर पठायो।

हराएको एक महिनाभन्दा बढी समय भै सक्दा पनि पूजाको अवस्थाबारे कुनै जानकारी नपाउँदा आफू निकै दुखी भएको शिला बताउँछिन्। छोरी घरबाट गएपछि कुनै खबर नपाएको र उनले प्रयोग गर्ने मोबाइल पनि स्वीच अफ रहेकोले कतै छोरीलाई केहि गरिदिए कि भन्ने आफूलाई चिन्ता लागेको उनी बताउँछिन्। नगेन्द्रले छोरीलाई बेपत्ता बनाएको उनले आरोप लगाएकी छिन्‌।

नगेन्द्रको परिवारले भने केटी लिएर गएको भन्ने जानकारी नभएको र अहिले नगेन्द्र कहाँ छन् भन्ने पनि केहि थाहा नभएको बताउने गरेका छन्। नगेन्द्र घरबाट निस्कँदा आफू साथीको घरमा जाने भनेको, तर अहिलेसम्म पनि नफर्किएको नगेन्द्रका दाई वीरेन्द्र भfर बताउँछन्। १० दिनसम्म पनि घर नफर्किएपछि आफूले पनि भाइको खोजी गरिदिन भन्दै प्रहरीमा निवेदन दिएको वीरेन्द्रको भनाई छ।

पूजालाई भाइले लिएर गएको भए आफूलाई जानकारी हुनासाथ केटी पक्षलाई जानकारी दिने उनले बताएका छन्। दुवै परिवारबाट हराएको निवेदन प्रहरीमा दर्ता भएपनि उनीहरूको अवस्था कस्तो छ र उनीहरू कहाँ छन् भन्नेबारे प्रहरीले सुइँको समेत पाउन सकिरहेको छैन।

पूजाको उमेर भर्खर १६ बर्ष लागेकोले पनि २० बर्ष नभै गरिएको विवाह कानुनत मान्य नहुने भएकोले पनि उनीहरूको विवाह बालविवाह ठहर हुनेछ। सुनवल नगरपालिका नेपालको पहिलो बाल मैत्री नगर भएपनि नगरपालिकामै यस्तो घटना घट्दा चुनौति थपिएको छ।

ठाडो उजुरी प्राप्त भएसँगै खोजी कार्य अगाडि बढाइएको र अनुसन्धान कार्य समेत चलिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु लामाले जानकारी दिए। केटी पक्षको तर्फबाट केटा ठीक नभएको र भारततर्फ आउने-जाने गर्ने भएकोले पनि छोरीलाई तलमाथि हुनसक्ने भनेर चिन्ता व्यक्त गरेको तथा प्रहरी कार्यालयको तर्फबाट केटाका परिवारका सदस्यहरूलाई बोलाएर सोधपुछ गर्ने काम भैरहेको लामाले बताएका छन्। कल डिटेल हेर्दा पूजा हराउनुभन्दा केहिदिन अघिदेखि नगेन्द्र र पूजाबीच पटक-पटक फोन सम्बाद भएको थाहा लागेको समेत लामाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.