मैदानमा पसिना चुहाउँदै नेपाली टोली

|

काठमाडौं : 'ओइऽऽऽ ओइऽऽऽ पैसा गयो!' कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा अभ्यास गरिरहेका विनोद भण्डारीले छक्का प्रहार गरेको बल चोभारतर्फको पर्खालसमेत नाघेर बाहिर (झाडीतिर) गएपछि प्लेयर बक्समा बसिरहेका कप्तान पारस खड्काले चिच्याए। त्यसपछि कुर्सीबाट उठेर मैदानतर्फ अघि बढेका पारस भन्दै थिए, 'सय डलर पर्छ त्यसलाई, १२ हजार रुपैयाँ।'

यो सोमबार कीर्तिपुरस्थित क्रिकेट मैदान पुग्दाको दृष्य हो। आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलको तयारीमा रहेको नेपाली टोली अहिले चर्को घाम नभनी मैदानमा पसिना चुहाइरहेको छ। सोमबार दिउँसो मैदान पुग्दा प्रशिक्षक जगत टमाटासहित खेलाडीहरु त्यहीँ थिए। घाम निकै चर्किएको थियो, तर उनीहरुलाई त्यसको कुनै प्रभाव थिएन। थियो त केवल अभ्यासमा ध्यान।

केहीले ब्याटिङ गर्दै थिए, केही बलिङ त केही फिल्डिङको अभ्यासमा। त्यसैबेला जस्ताको बार नाघेर बाहिर गएको बललाई पारसले 'पैसा' भनेका हुन्। उनकै भनाइलाई आधार मान्ने हो भने त्यस्तो बल खरिद गर्न झण्डै १२ हजार नेपाली रुपैयाँ पर्ने रहेछ।

हामी पुग्दा पारस भर्खरै मैदानबाट प्लेयर बक्समा आएका थिए। त्यही मौका छोपेर छोटो प्रतिक्रिया माग्दा पारस घरेलु मैदानमा नेपालले राम्रो प्रदर्शन गर्नेमा आशावादी देखिए। 'हामीलाई होम क्राउडको सपोर्ट छ, राम्रो खेले जितिन्छ,' पारसले भने, 'तर सजिलो छैन।'

यदि शीर्ष ४ मा पर्ने सम्भावना जीवित राख्ने हो भने आगामी शनिबार र सोमबार कीर्तिपुरमा हुने दुवै खेलमा जितको विकल्प नेपालसामु हुनेछैन। त्यसैले पनि खेलाडीहरुले अहिले पसिना चुहाउन कुनै कञ्जुस्याइँ गरेका छैनन्।

पारस खेल्नेमा अझै शंका

यसपटक नेपाली टोलीका लागि सबैभन्दा चिन्ताको विषय भनेको कप्तान पारस खड्काको फिटनेस हो। पारस स्वयम् आफू केन्यासँगको खेलमा मैदान उत्रिन सक्नेमा ढुक्क छैनन्। 'आज बल्ल केहीबेर अभ्यास गरेँ, हेरौँ के हुन्छ थाहा छैन,' थाहा खबरसँग पारसले भने, 'खेल देशबाहिर भएको भए निकै गाह्रो थियो। नेपालमै छ, त्यसैले अन्तिम दिनसम्म पनि सम्भावना रहन्छ।'

पारसले यसै महिना एपेण्डिसाइटिसको शल्याक्रिया गराएका थिए। उनका अनुसार केन्यासँगको म्याचमा बलरको रुपमा योगदान गर्न सक्ने सम्भावना भने लगभग टरिसकेको छ। 'टिममा विकल्पहरु पनि छन्,' उनले भने, 'जसले टिमका लागि हण्ड्रेड पर्सेन्ट दिनसक्छ, उसैले खेल्छ।'

नेपाली टोलीका पूर्वकप्तान विनोद दासको प्रतिक्रियामा पनि पारस खेल्नेमा शंका गर्ने ठाउँ थियो। उनी भन्दै थिए, 'नेपाली टिम अहिले विकल्पविहीन छैन। राष्ट्रिय टिमको कुरा गर्ने हो भने यो कुनै एक खेलाडीमा मात्र निर्भर टिम होइन।'

कमजोर आँक्न नसकिने केन्या

कुराकानीका क्रममा पारस र विनोद दुवैले केन्यालाई कमजोर आँक्न नसकिने बताए। 'खेलमा कुनै पनि टिमलाई लाइट्ली लिने भन्ने हुँदैन,' विनोदले भने, 'आफ्नो तर्फबाट शत प्रतिशत दिन सकेमात्र जितिन्छ।'

केन्यालाई कमजोर आँक्न नकसकिने स्वीकार्दै पारसले नेपाल पनि कम नरहेको दाबी गरे। 'हामी पनि कमजोर छैनौँ। नेदरल्याण्ड्सलाई उसकै घरेलु मैदानमा हरायौँ, स्कटल्याण्ड र पीएनजीसँगका तीन खेल पनि निकै प्रतिस्पर्धात्मक थियो, मात्र हामीले त्यसलाई नतिजामा कन्भर्ट गर्न सकेनौँ। आशा गरौँ, यसपटक राम्रो हुनेछ।'

तयारी अन्तिम चरणमा

नेपाल क्रिकेट संघ क्यान निलम्बित अवस्थामा रहेकाले यो प्रतियोगिता आइसीसीकै संयोजनमा हुँदैछ। यसअघि नामिबियासँगको खेल पनि यसैगरी सञ्चालन भएको थियो। स्थानीय स्तरमा खेलको व्यवस्थापन क्यानकै निवर्तमान सिईओ भावना घिमिरेले गरिरहेकी छन्।

निलम्बित क्यानका प्रमुख कार्य सञ्चालन अधिकृत एवम् प्रतियोगिताको व्यवस्थापनमा सघाइरहेका छुम्बी लामाका अनुसार तयारी लगभग अन्तिम चरणमा पुगिसकेको छ। 'टिकेटिङ, पास, ब्राण्डिङसहितका कामको जिम्मा ई-सेवाले पाएको छ, करिब १५ हजार टिकट बेच्ने लक्ष्य छ,' लामाले भने, 'सुरक्षा निकायसँग आवश्यक समन्वय भइसकेको छ, ६ सय भन्दा बढी सुरक्षाकर्मी परिचालित हुनेछन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.