|

डोल्पा : डोल्पाको एक स्थानीय तहले सुचनाको हक कार्यन्वयनमा असहयोग गरेको गुनासो गरिएको छ। यहाँको ठूलीभेरी नगरपालिकाले संविधानप्रद्धत अधिकारमा पर्ने सूचनाको हक कार्यान्वयनमा समेत असयोग गरेको भन्दै सदरमुकाम दुनैमा पत्रकार सम्मेलन गर्दै गुनासो पोखिएको हो।

तीन वर्षयताको नगरसभाबाट पारित विकास बजेट, कर्मचारी खर्च विवरण लगायतका सम्पुर्ण कार्यक्रमहरुबारे सूचनाको हक प्रयोग गरेर जानकारी लिन खोज्दा सूचना नदिएको स्थानीय युवा प्रेमबहादुर बोहोराले जानकारी दिए।

सूचनाको प्यासमा ७५ दिनसम्म नगरपालिकाका विभिन्न फाँट धाँउदासमेत सूचना नपाइएकाले बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको उनको भनाइ छ।

'देशको मुल कानुनमै सूचनाको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ,तर ठूलीभेरी नगरपालिकाले संविधानप्रद्धत कुरालाई समेत व्यवास्ता गरी अटेर गरिरहेको छ' बोहोराले भने।

'नगरपालिकाका हरेक गतिविधिमा गलत भएकै कारण सूचना दिन करिब तीन महिनासम्म आलटाल गरिरहेको' हो उनले थपे।

नगर केन्द्र विवादको फाइदा उठाउँदै नगरप्रमुखले आफ्नै डोजर प्रयोग गरी विकासमा अनियमितता गरेको, व्यक्तिगत योजना बाँडेको, वडामा छुट्याइएको विकास बजेटको दुरुपयोग गरेको, कर्मचारीहरू सेवा प्रवाहमा कर्तव्यनिष्ठ नभएका लगायतका थुप्रै आरोप पत्रकार सम्मेलनमार्फत लगाईएको छ।

अर्का स्थानीय युवा हरिनन्द बोहोराले आफूहरू कुनै पनि राजनीतिक दलको उस्कावटका आधारमा भएर एक सचेत युवाको रूपमा संविधानले दिएको अधिकार मात्रै प्रयोग गर्न खोजेको बताए।

'एक हप्तामा पाइने सूचना करिब ३ महिना कुर्दा पनि नपाइएकाले थप अब एकहप्तामा सूचना माग गरेका छौँ,यदि अब पनि सूचना पाइएन भने राष्ट्रिय मानव अधिकार आयोग, सूचना आयोग लगायतका सम्बन्धित निकाय पुग्नेछौँ' उनले भने।

पार्टीगत रुपमा कुरा गर्दा आफूहरू फरक–फरक पार्टीमा आवद्ध भए तापनि नगरपालिकाको सुशासन, सम्भावना र विकासको पक्षमा एकढिक्का भएर अघि बड्ने युवा जितेन्द्र शाहीले बताए।

यता, नगर प्रमुख गणेश बहादुर शाहीले पत्रकार सम्मेलनमा भनिए जस्तै नगरपालिकाको काममा आफ्नो डोजर प्रयोग नभएको बताउँदै पहिले नै अर्कैको जिम्मा लगाइसकेको बताए।

सूचनाको हक कार्यान्वयनका विषयमा नगरपालिकाले असहयोग नगरेकाले नियमसंगत रुपबाट सूचना अधिकारीलाई भेटेर चाहेको सूचना लिन सकिने उनको भनाइ छ।

जिल्लामा सूचनाको हक कार्यान्वयनमा थुप्रै चुनौती देखिए पनि यसलाई ढिला चाँडो नागरिकस्तरमा स्थापना गरेर छोड्ने उपस्थित युवाहरुले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.