'यसलाई मैले राज्य आरोहणसँग जोडेको छु'

|

काठमाडौं :  नेपाललाई हिमालै हिमालको देश भनेर चिनिन्छ। अझ विदेशीले सगरमाथाको देश भनेर चिन्छन्। त्यही सगरमाथाको उचाइ अहिले बढेर ८८४८.८६ मिटर कायम भएको छ। चीन र नेपाल सरकारको संयुक्त टोलीले नयाँ उचाइको घोषणा पनि गरिसकेका छन्।

नेपालको तर्फबाट सगरमाथाको उचाइ मापन गर्न चार जनाको टोली २०७५ चैत २७ मा गएको थियो। त्यसै टोलीमा थिए खिमलाल गौतम। उनी निजामती कर्मचारीका रूपमा नापी विभागमा १८ वर्षदेखि कार्यरत छन्। गौतम सहभागी टोलीले नै सगरमाथाको नयाँ उचाइ मापन गरेको थियो।

गौतमसहितको टोलीलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भूमिसुधार मन्त्री पद्‍मा अर्यालले प्रमाणपत्रसहित सम्मान गरेका थिए। मंगलबार सगरमाथाको  नयाँ उचाइ घोषणा कार्यक्रममा त्यहीँ थिए गौतम।

एक वर्षअगाडि गौतमसँगै  सर्भेयर रविन सिंह कार्की, सुरज सिंह भण्डारी र अमिन युवराज धिताल तथा नेपाल माउन्टेन एकेडेमीको प्रशिक्षक छिरिङजाङ्बु शेर्पा आरोहणको तयारीमा जुटे। करिब एक वर्षको प्रशिक्षण र तयारीपछि २७ चैत ०७५ मा आरोहण दल अघि बढेको थियो।

मौसमले साथ नदिँदा क्याम्प १ र क्याम्प २ मा तल र माथि गर्न बाध्य भएका थिए गौतमको टोली। उनको मनमा आरोहण टोली आफ्नो उद्देश्यमा पुग्न नसकिने हो कि भन्ने त्रास पसिसकेको थियो।

उनीहरू काठमाडौंबाट हिँडेको ४१ दिनपछि ८ जेठ ०७६ को बिहान सभा ३ बजे सगरमाथाको चुचुरोमा पुगेका थिए। त्यो दिन नेपालमा नाप नक्साको इतिहास र गौरवपूर्ण दिन बन्यो।

विभिन्न महत्वपूर्ण दिन जस्तै यो पनि एउटा ऐतिहासिक दिन बनेको उनलाई लाग्छ। सगरमाथाको उचाइ मात्रै होइन। यो सगरमाथाको राज्य आरोहणको दिन हो,’ थाहाखबरसँग कुरा गर्दै गौतमले भने, ‘नेपाल सरकारले आफ्नै जनशक्तिलाई प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ मापन तथा सार्वजनिक गरेको हुँदा यसलाई मैले राज्य आरोहणसँग जोडेको हुँ।’

राज्यको काम गर्ने ठाउँमा भएकोले शिखरमा पुग्दाको क्षण भावुक हुँदै उनी सुनाउँछन्। चुचुरोमा पुगेपछि जीवनका तीता-मीठा, नैराश्यको उनले अनुभव बटुले। कतिपय अनुभव मनमा आए पनि सुनाएर नसकिने रहेको उनको भनाइ छ। धेरै कुराहरू समयले गर्दा पनि भन्न नसकेकामा उनलाई गुनासो छ। समय आएपछि शिखर चढ्दा आरोह-अवरोह गरेजस्तै जीवनमा उनका कथाहरू  छन्।

सगरमाथा आरोहण गरिसकेकोले पुनः चढ्ने अवसर पाउँदा खुसीको सीमा नरहेको उनले बताए। 'विश्वकै अग्लो शिखर सगरमाथाको मापन गर्न पाउँदाको क्षण मेरो जीवनको क्षण ऐतिहासिक बनेको छ,' गौतमले भने।

देश र दुनियाँको लागि काम जीवनभर घाउको चोट बोकेर काम गरेँ

असाधारण जोखिम उठाएर भए पनि उनले देश र दुनियाँका लागि भने ठूलो आशाका सञ्चार लिएर गएका थिए। फर्कंदा जुन आफ्नो लागि घाउ बोकेर आए त्यो जीवनभरका लागि बिर्सन नसक्ने चोट बनिबसेको छ।

उनले सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ मापन गर्ने क्रममा देब्रे खुट्टाको बुढी औँला गुमाए। औँला गुमाए पनि सगरमाथाको नयाँ उचाइ लिएर आउँदा उनले दुखाइको कहिल्यै महसुस गरेनन्।

खुट्टाको बुढी औँलो गुमिसकेको काठमाडौं आएपछि मात्र उनले थाहा पाए। ‘उपचारका लागि भारत जानुपर्‍यो, औँला काटियो, अहिले कपास कोचेर मात्र जुत्ता लगाउनुपर्छ,’ गौतमले भने।

उनी सगरमाथाको चुचुरो मापन गरिसकेपछि अक्सिजन सकिएका एक साथीलाई सहयोग गर्न आउँदा-आउँदै ८२०० मिटरमा बेहोस भए। केहीबेरपछि विदेशी आरोहीले उनलाई धक्का दिएपछि मात्रै होसमा आएका थिए।

‘बेहोस भएको अवस्थामा किन नहेरेको भनेर तल आएर शेर्पा साथीसँग रिसाएँ। तर, उनीहरू मलाई लिन जान लागेका रहेछन्,' उनले भने,' त्यही क्षण हो मलाई लागेको थियो शिखर पुग्‍न जति सजिलो भए पनि मैदानमा झर्न धेरै गाह्रो हुँदोरहेछ।'

गौतमलाई मे २३ मा ६५०० मिटर उचाइबाट हेलिकोप्टरले सिधै काठमाडौंको नर्भिक अस्पतालमा पुर्‍यायो। अस्पतालका डाक्टर विप्लव सापकोटाले दुई खुट्टाको बूढी औँलामा गम्भीर चोट लागेको बताएका थिए।

त्यसपछि गण्डकी अस्पतालका डाक्टर झपेन्द्र पोखरेलको नियमित परामर्शमा दाहिने खुट्टाको औँला निको भयो। तर, देब्रे खुट्टाको निको नभएपछि गौतमले दिल्लीको एपोलो अस्पतालमा पुगेर औँलाको टुप्पो काटेर फालेका थिए। 'औँला गए पनि राज्यको लागि गर्व हुने काम गरेको छु,' उनले भने।

बाल्यकालदेखि सगरमाथासँग प्रेम

उनलाई कक्षा पाँचमा पढ्दा विश्वको सबैभन्दा अग्लो हिमाल भन्ने थाहा पाएपछि सगरमाथाप्रति प्रेम बढेको थियो। २०६१ सालमा खरिदारसरहको सर्भेयर पदमा सरकारी जागिरमा जोडिएको सात वर्षमै सगरमाथा शिखर चुम्‍ने विश्वको प्रथम निजामती कर्मचारीको टोलीका एक सदस्य चुनिए गौतम।

उनी नौ वर्ष अगाडि पनि सगरमाथा पुगेका थिए। सन् २०११ मा सरकारले प्रथम कर्मचारी टोलीलाई सगरमाथा आरोहण गर्न गोरखापत्रमा सूचना निकाल्यो। उनले आवेदन भरेका थिए पछि २०६६ मा उनी टोलीमा छनोट भए। त्यसपछि उनी लाङटाङको याला पिकमा भएको तालिममा प्रथम भएका थिए।

प्रथम सर्वेयरको रूपमा गौतम सगरमाथा

प्रथम कर्मचारीका रूपमा सगरमाथा शिखर चुमेको ठिक नौ वर्षपछि गौतम नेपालका मात्रै हैन विश्वकै प्रथम सर्वेयरको रूपमा सगरमाथामा पुगे। अहिले त्यहीँ उचाइको मापन घोषणा छिमेकी राष्ट्र चिनको संयुक्त घोषणासभाबाट सम्पन्‍न भएको छ। त्यसअघि चुचुरोमा विश्वका धेरै प्राविधिक पुगे पनि सर्वेयरका रूपमा पुग्ने गौतम नै पहिलो पुगेको उनको दाबी छ।

यसअघि २०१७ को डिसेम्बरमा नेपाल सरकारले अन्तर्राष्ट्रियस्तरको कार्यशालाको आयोजना गरेको थियो। जसमा अमेरिका, जापान, चाइना, भारत, न्यूजिल्याण्ड, इटली लगायतका देशहरूसँग सगरमाथाको उपचार कसरी मापन गर्ने भनेर मेथोलोजी फाइनल गरेको थियो।

त्यसैअनुसार अहिले नेपाल सरकारका प्राविधिक टोलीले सगरमाथा मापन गरेको उनले बताए। सगरमाथा क्षेत्रको कम्तीमा ८ स्थानमा लेबलिङ सर्भेका लागि स्थान छनोट गरी मेसिन राखिएको थियो। लेबलिङ सर्भेले समुद्र सतहबाट कति उचाइ छ भन्ने तथ्यांक उपलब्ध गराएको थियो त्यहीँअनुसार मापन गर्न सजिलो भएको गौतमको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.