|

नवलपरासी : नदीजन्य पदार्थको अवैध उत्खनन गरिरहेका ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा ट्याक्टर चालकको मृत्यु भएको विषयले दुम्कीबास ईलाका प्रहरी कार्यालय परिसर तनाब ग्रस्त भएको छ।

बिहीबार राति विनयी त्रीवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलामा अवैध रुपमा बालुवा उत्खनन गर्न गएका ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा अत्तालिएर भागेका चालक दुर्घटनामा परी घाइते भएको र उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले नदीमा बालुवा चोरी रहेका ट्रयाक्टरहरु नियन्त्रणमा लिने क्रममा भागाभाग हुँदा ट्याक्टर दुर्घटनामा भएको बताएका छन्। खोलामा प्रहरी गएको देखेपछि लु ३ त ८१७५ नम्बरको ट्रयाक्टरका चालक दाङको राजपुर गाउँपालिका–४ का २४ वर्षीय हरिश्याम यादव ट्रयाक्टरको बत्ती निभाएर भाग्ने क्रममा दुर्घटना हुँदा गम्भीर घाइते भएको र उनको उपचारको क्रममा राति नै भरतपुर अस्पतालमा निधन भएको प्रहरीले बताएको छ। तर, स्थानीयले प्रहरीको कुटपिटबाट चालकको मृत्यु भएको दाबी गरेका छन्।

चालकको निधन भएको विषयलाई लिएर विहीबार रातिदेखि स्थानीयले दुम्किबास बजारमा इलाका प्रहरी कार्यालय दुम्किबास अगाडि प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्ग राति १ बजेदेखि अवरुद्ध भएको छ। प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ।

प्रहरीले घटनालाई नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्याँस प्रहार गरेको छ। झडपमा दुईजना प्रहरी सामान्य घाइते भएको बताइएको छ। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन थप प्रहरी परिचालन गरेको छ। प्रहरीले विनयी त्रिवेणी खोलाबाट राति चारवटा ट्रयाक्टर समेत नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.