४ सय ७६ शव झिकाइयो

|

काठमाडौं : कोरोना महामारी फैलिएपछि विदेशमा अलपत्र परेका नेपाली कामदार उद्धार गर्दा १ करोड ४० लाख रुपैयाँ खर्च भएको छ। खाडी मुलुकबाट १ सय ५६ नेपाली कामदार उद्धार गर्न यो रकम खर्च गरिएको हो।

वैदेशिक रोजगार बोर्डका अनुसार मलेशियाबाट ८६, युएई ५२ र बहराइनबाट १८ जनाको उद्धार गरिएको छ। बेरोजगार र बेखर्ची भएर बसेका कामदारलाई नेपाल ल्याइएको हो।

महामारीको कारण रोजगार गुमाएका वा अलपत्र परेकालाई चार्टड विमानमार्फत स्वदेश ल्याइएको बोर्डका प्रवक्ता दीनबन्धु सुवेदीले जानकारी दिए। नियमित अन्तर्राष्ट्रिय उडान खुलेकाले चार्टड उडान भने अहिले बन्द भइसकेको छ। विदेशस्थित नेपाली दूतावासको सम्पर्कमा आएकालाई उद्धार गरी ल्याइएको हो। उनका अनुसार उद्धार गर्न ७५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

'विदेशमा अलपत्र परेका कामदारलाई उनीहरूले जम्मा गरेको कोषबाट उद्धार गरिएको हो,' सुवेदीले भने, 'जेलमा परेका, काम नभएका र कागजपत्र नभएकालाई उद्धार गरिएको हो।'

लकडाउनमा पनि रोजगारदाताले कामदारलाई उद्धार गरी पठाएको र सबैभन्दा बढी कामदार मलेसियामा अलपत्र परेको उनले जानकारी दिए। धेरैजसो कामदारहरू कम्पनी छोडेर भागेका र अदक्ष कामदार वैदेशिक रोजगारमा जाँदा कोरोना महामारीमा बढी समस्या भोगेका थिए।

२०७४/०७५ मा सरकारले ६६ जनाको उद्धार गरेको थियो। ग्रीसबाट १, भारत १, ओमान २,कतार १०, कुवेत ४ ,मलेसिया २१, संयुक्त अरब इमिरेट्स ५, साउदी अरेबिया २१ र साइप्रसबाट १ जनाको उद्धार गरेको थियो। पुरुष ६४ र २ जना महिला थिए।

बढी कामदार गएको मुलुकमा साउदी अरब र मलेसियामा छन्। अलपत्र परेका कामदार हुने पनि साउदी र मलेसिया छन। अधिकांश कामदारले कम्पनी छोडी जाने भएकोले आफूखुसी काम खोज्ने गरेकोले कामदार परेको उनले सुवेदीले सुनाए।

बोर्डले वैदेशिक रोजगारमा जानेहरूले आफ्नो सीपको विकास गरेर जाने हो भने कुनैपनि कामदारले कम्पनी छोडेर जानुपर्ने अवस्था नहुने उनको भनाइ छ। गत वर्ष बोर्डले उद्धार गरेका कामदारको तथ्यांक बोर्डले निकाल्नको लागि प्रिन्टिङको काम भइरहेको पनि उनले जानकारी दिए।

कोरोना महामारीबीच विभिन्न ११ देशमा मृत्यु भएका ४९५ जना नेपालीको शव नेपाल ल्याइएको छ। सोही अवधिमा नेपालमा रहेका परिवारसँग सहमति लिई ४१० शवको सम्बन्धित देशमै अन्त्येष्टि गरिएको छ।

सबैभन्दा बढी शव मलेशियाबाट

सबैभन्दा बढी नेपालीको शव मलेसियाबाट ल्याइएको छ। २०७६ चैत ११ देखि २०७७ मङ्सिर २३ गतेसम्मको अवधिमा मलेसियाबाट १८६ जनाको शव नेपाल ल्याइएको छ।

दोस्रो ठूलो संख्यामा शवमा साउदी अरबबाट नेपाल ल्याइएको छ। उक्त अवधिमा साउदीबाट १२६ जनाको शव नेपाल ल्याइएको छ।

यस्तै, कोरोना महामारी सुरू भएपछि ओमानबाट २, कतारबाट ९५, कुवेतबाट ११, जापानबाट १, दक्षिण कोरियाबाट ४, माल्दिभ्सबाट १, युनाइटेड अरब इमिरेट्स (युएई)बाट ५२, बहराइनबाट १४, चीनबाट २ र टर्कीबाट १ जना नेपालीको शव ल्याइएको  हो।

कोरोना संक्रमणबाट मृत्यु भएका धेरैजसो नेपालीको अन्त्येष्टि  परिवारको सहमति लिई सम्बन्धित देशमै गरिएको छ। कोरोना महामारी सुरू भएयता ४१० जना नेपालीको अन्त्येष्टि विदेशमा गरिएको तथ्याङ्क छ।

बोर्डको अनुसार चालु आर्थिक वर्ष २०७७/७८ सुरू भएयताको पहिलो तीन महिना (साउनदेखि असोज)मा मात्र विदेशबाट ल्याइएका एक महिलासहित २६८ जना मृतक कामदारको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मृतकको घरसम्म पुर्‍याइएको छ। 

बोर्डले गत साउन १ गतेदेखि असोज मसान्तसम्म २ सय ३४ जना शवको अन्त्येष्टि विदेशमै गर्नको लागि सहमति प्राप्त गरेको थियो। यीमध्ये १३१ जनाको मृत्युको कारण कोरोना संक्रमण रहेको थियो।

यसरी विदेशमै अन्त्येष्टि गर्न सहमति दिने परिवारलाई बोर्डले थप ५० हजार रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने नीति लिएको छ। वैदेशिक रोजगारका क्रममा विदेशमा मृत्यु हुने कामदारको परिवारलाई बोर्डले आर्थिक सहायता स्वरूप सात लाख रूपैयाँ उपलब्ध गराउँदै आएको छ।

विदेशमा ज्यान गुमाएकाको परिवारलाई ४५ करोड वितरण

आर्थिक वर्ष २०७६/७७ मा काम गर्ने सिलसिलामा विदेशमा मृत्यु भएका १७ जना महिलासहित ६५६ जनाको परिवारलाई बोर्डले आर्थिक सहायता उपलब्ध गराएको थियो। बोर्डले उनीहरूका परिवारलाई कूल ४५ करोड ९२ लाख रूपैयाँ उपलब्ध गराएको थियो।

गत आर्थिक वर्ष सबैभन्दा बढी नेपाली कामदारको मृत्यु मलेसियामा भएको थियो। बोर्डको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष मलेसियामा १७६, साउदी अरबमा १५१, कतारमा ११५, युएईमा १०६, कुवेतमा ३७, दक्षिण कोरियामा १०, जापानमा ८, बहराइनमा ८ जनाको मृत्यु भएको थियो। बाँकीको मृत्यु अन्य देशमा भएको थियो।

विदेशमा मृत्यु हुने नेपाली कामदारमा सबैभन्दा बढी धनुषाका रहेका थिए। धनुषाका ३९ जनाको मृत्यु मलेसिया र खाडी राष्ट्रमा भएको थियो।

अहिले पनि विदेशमा ४६ वटा शव नेपाल ल्याउन बाँकी छ। साउदी अरबमा २१, मलेशिया २१, कतार ८ र युएई ५ वटा शव छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.