|

बुटवल : एक डाँडाबाट अर्को डाँडासम्म करिब डेढ किलोमिटर लामो यात्रा एक मिनेट पाँच सेकेण्डमा पार गर्दै बुटवल शहरको अवलोकन गर्न पाइने भएको छ। कोरोना महामारीपछि पर्यटन क्षेत्रमा चहलपहल बढिरहेका बेला बुटवलको हिलपार्कमा साहसिक खेल ‘जिपपलाइन’ सञ्चालन भएको हो।

स्थानीय लक्ष्मी आदर्श सामुदायिक वनसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी (पिपिपी मोडेलमा) वाइल्ड बन्डर्स नेपाल प्रालिले लुम्बिनी प्रदेशमै पहिलोपटक यो साहसिक खेल सञ्चालनमा ल्याएको हो। सामुदायिक वनको हिलपार्क डाँडा र उत्तरतर्फ रहेको अर्को डाँडालाई जोड्ने गरी सञ्चालनमा ल्याइएको जिपलाइनबाट पर्यटकले सहजै बुटवल शहरको दृश्यावलोकन गर्न पाउने भएका छन्। निजी क्षेत्रबाट सञ्चालनमा ल्याइएको जिपलाइनले यहाँको आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने भएको छ। 

जिपलाइनअन्तर्गत बालबालिकाहरुका लागि छुट्टै ९० मिटरको लाइन सञ्चालनमा आएको छ। सञ्चालनक हरिकुमार श्रेष्ठले भने, ‘हिलपार्टकदेखि ६५० किलोमिटरको दूरी पार गर्दै ४३ सेकेन्डमा उत्तरतर्फ रहेको पहाडमा पुगेर पुनः ७५० मिटरको दूरी २२ सेकेन्डमा पार गरी सोही ठाउँमा आउन मिल्ने दोहोरो जिपलाइन सम्भवत नेपालमै पहिलो हो।’ 

हिलपार्कमा घुम्न आउने युवा तथा बालबालिकाहरुलाई लक्षित गरी जिपलाइन सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ। बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको जिपलाइनलाई बुटवलको लक्ष्मीनगर क्षेत्रका अन्य पहाडहरुसमेत जोड्ने गरी सवा करोड रुपैयाँको गुरुयोजनाअनुसार काम भइरहेको श्रेष्ठले बताए। 

जिपलाइनमा मज्जा लिन एकोहोरो सवार गर्नेहरुले एक हजार रुपैयाँ तथा दोहोरो सवार गर्नका लागि एक हजार ५०० रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ। जिपलाइन सञ्चालनमा आएसँगै हाल वन उपभोक्ता समूहमध्येकै सातजनाले रोजगारी पाएका छन्। यो खेलमा सहभागी पर्यटकहरुका लागि सात लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिने कम्पनीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.