ठेकेदार वडाध्यक्ष पनि फरार, वडा कार्यालयको काम नै प्रभावित

|

सिमरा : जितपुरसिमरा उपमहानगरको छाप र रसिद किर्ते गर्ने विनोद साह निमार्ण सेवाका सञ्चालक सहित ६ जनालाई बारा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि मुख्य ठेकेदार सहित ३ जना फरार भएका छन्।

नदिजन्य उत्खनन् अनुमति लिनुपुर्व खोलामा नगरपालिकाको छाप र रसिद किर्ते गर्ने ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ पुर्जी गरेको हो।  जसमध्ये खोलामा रसिद काट्ने र सवारी साधन प्रयोग गर्ने ३ जना पक्राउ परेका छन् भने मुख्य ठेकेदारहरु शेषनाथ प्रसाद साह शिवनाथ पटेल र ओमशंकर साह भारतमा लुकेर बसेका प्रहरीले जनाएको छ। 

‘मुख्य ठेकेदारलाई मुद्दा नचलाउन यिनीहरुले धेरै दबाब, चलखेल र जालझेल गरिरहेका छन्,तर हामी कुनै हातलमा छोड्दैनाैं', बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक कृष्ण पंगेनीले भने, ‘हामीले पक्राउ पुर्जी जारी गरेपछि मुख्य ३ जना ठेकेदार भारतमा लुकेर बसेका छन् भन्ने सूचना आएको छ यिनीहरुले भारतीय नम्बरबाट मान्छे लगाएर यहाँको अवस्था पनि बुझिरहेका छन्।’

कलैया उपमहानगर वडा नं १६ का बहालवाला वडाध्यक्ष शेषनाथ प्रसाद साहको ठेक्का कम्पनी विनोद साह निर्माण सेवासँग जितपुरसिमरा उपमहानगरले चालु आर्थिक वर्षका लागि भ्याटबाहेक १३ करोड ७६ लाखमा दुधारौ बालगंगा र पसाहा खोला उत्खनन ठेक्का  सम्झौता गरेको थियो।

तर नगरपालिकाको चरम लापरवाहीको कारण ठेकेदारले उत्खनन अनुमति लिनुपूर्व नै  खोलामा किर्ते छाप र रसिद प्रयोग गरेर ट्याक्टर र टिपर हुलेको भेटिएको हो। ठेक्का कम्पनी वडाध्यक्ष साहको भए पनि त्यसका मुख्य ठेकेदारहरु पटेल र साह पनि रहेका प्रहरीसगँको बयानको क्रममा खुलेको हो।

प्रहरीले यसअघि ठेकेदारले काममा लगाएका ३ जना कर्मचारीहरु सन्तोष साह, मनोज न्यौपाने र अजय कुमार साहलाई पक्राउ गरी सरकारी छाप किर्तेमा जिल्ला अदालतमा मुद्दा दायर गरेर थप अनुसन्धान गरिरहेको छ।

‘सन्तोष साहलाई किर्ते रसिद मैले नै छापेको भनी बयान दिन लगाएर यहाँ मुख्य ३ जना ठेकेदार उम्किन खोजिरहेकाका छन् त्यो हामी सफल हुन दिँदैनौ’, पंगेनीले भने।

मुलुकी अपराधसंहिता २०७४ संशोधित २०७६ ले सरकारी छाप किर्ते गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना तोकेको छ। कानुनअनुसार सरकारी छाप किर्ते गरेका कारण ७ वर्ष कैद हुन सक्ने देखेपछि ठेकेदारहरु फरार भएका प्रहरीले जनाएको छ।

पछिल्लो पटक किर्तेमा प्रहरीले सुरु गरेको अनुसन्धानवाट विगतका वर्षमा पनि खोलामा  किर्ते छाप र रसिद प्रयोग भएको हुन सक्ने प्रहरी उपरीक्षक पंगेनीले जनाएका छन्।

खोलामा किर्ते रसिद र छाप  प्रयोग गर्दा सवारी पुर्जी काट्दा राज्यलाई बुझाउनुपर्ने कर पनि सजिलोसँग छलि गर्न सकिने र गिटी, ढुंगा, बालुवा सम्झौता गर्दा तोकिएको भन्दा धेरै परिमाणमा  निकाल्न सकिन्छ।

 स्थानीय सरकार सञ्चालन ऐनले पालिकाहरुलाई आफ्नो मातहतको खोलाको वातावरणीय प्रभाव मूल्याकंन आधारमा राजस्व उठाउन  ठेक्का लगाउने, अनुगमन तथा कारवाही गर्न सक्ने सम्मको अधिकार दिएको छ। तर  जितपुरसिमराले ठेकेदारहरुसँग आपसी मिलेमतोमा मापदण्डविपरीत भएका उत्खननमा विगतदेखि नै मौन बस्दै आएको छ। उपमहानगरले यसवर्ष पनि १ करोड राजस्व  नोक्सान हुनेगरी पहिलो ठेक्का कम्पनीलाई  ठेक्का छोड्न लगाएर दोस्रो कम्पनी विनोद साह निमार्ण सेवासँग सम्झौता गरेको हो। 

मेरो पनि सम्पर्क भएको छैन : नगरप्रमुख 

कलैया उपमहानगरका नगरप्रमुख राजेशराय यादवले वडाध्यक्ष  शेषनाथप्रसाद साह  धेरै दिनदेखि सम्पर्कविहीन भए पनि कहाँ गएको भन्ने विषयमा आफूलाई जानकारी नभएको बताए।

‘खै प्रहरीले पक्राउ पुर्जी जारी गरेको भन्ने सुने  मैले पनि पटक पटक फोन गरेको तर कुराकानी हुन सकेन’, नगरप्रमुख यादवले भने। कलैया वडा नं १६ का बहालवाला वडाध्यक्ष साह धेरै दिनदेखि सम्र्पकविहीन हुँदा सेवाग्राही समस्यामा परेका छन्। पक्राउ पुर्जी जारी गरिसकेकोले  प्रहरीले खोजी जारी राखेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.