|

नेपालगन्ज :  नेपालगन्जमा विहीबारदेखि दोस्रो नेपालगन्ज गोल्डकप फुटवल प्रतियोगिता शुरु हुने भएको छ। प्रतियोगिता उद्घाटन खेल साविक विजेता सुदूरपश्चिम–११ र दिल्ली युनाइटेका बीचमा हुने आयोजकले जनाएको छ ।  

तीन जना विदेशी खेलाडी भित्र्याएको साविक विजेता सुदूरपश्चिम यस पटक अझ बलियो भएको दावी गरेको छ। सुदूरपश्चिमका ब्यवस्थापक सुरेश हमालले विदेशी खेलाडी भित्र्याएपछि टिम अझ बलियो बनेकाले उपाधि जित्ने सोँचका साथ नेपालगन्ज आएको बताए।

आफ्ना खेलाडीहरु निरन्तर प्रतियोगिता खेलिरहेकाले ‘फिट’ रहेको बताउँदै हमालले मिड फिल्ड र दुई जना फरवार्ड विदेशी राखिएको जानकारी दिए। क्याप्टेन प्रणय अन्जानले धेरै अभ्यास खेल खेलेर आएको टीमको सेटिङ राम्रो रहेको बताए।

दिल्ली युनाइटेड पनि नेपालगन्ज गोल्ड कप लैजाने तयारीका साथ आएको जनाएको छ। प्रशिक्षक अनसुल कटियारले दुई दिनअघि मात्रै भारतीय लिगमा दोस्रो डिभिजन छनौट भएर आएकाले खेलाडीहरु उच्च मनोबलका साथ मैदानमा उत्रिने दावी गरे। क्याप्टेन डन लेप्चाले युवा खेलाडीहरुलाई मौका दिएर आएको बताए।

बाँके जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाउने भएका छन्। उक्त प्रतियोगिताको उद्घाटन एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले गर्ने भएका छन्।

विजेताले पाँच लाख रुपैयाँका साथ कप, दोस्रो हुनेले दुई लाख ५१ हजार पाउने संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए। प्रत्येक खेलमा म्यान अफ म्याच हुनेलाई एक थान लेनेभो मोबाइल, बेष्ट गोल किपर, बेष्ठ डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट स्कोरर र बेष्ट कोचलाई ५/५ हजार रुपैयाँ प्रदान गरिने शाहीले बताए।

प्रतियोगिताको समूह ‘क’ मा सुदूरपश्चिम–११, दिल्ली युनाइटेड, संकटा र सशस्त्र प्रहरीको एपिएफ क्लब, समूह ‘ख’ मा नेपाल प्रहरी, नेपालगन्ज–११, मनाङ मर्स्याङ्दी र रुपन्देही–११ रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.