डोजोभित्र हेरिरहने मण्डेकाजीको साग स्वर्णसम्म संघर्ष
डोजोभित्र हेरिरहने मण्डेकाजीको साग स्वर्णसम्म संघर्ष
काठमाडौं : १३औँ दक्षिण एशियाली खेलकुदमा एकल काता र टीम कातामा स्वर्ण दिलाएका मण्डेकाजी श्रेष्ठको जीवनमा एक मात्र लक्ष्य थियो-झण्डा बोकेर देशका लागि स्वर्ण जित्ने!
वर्षौं मिहिनेतपछि उनी १३ औं सागमा नेपालका लागि पहिलो स्वर्ण जित्ने खेलाडी बने। कातातर्फ दुई स्वर्ण पदक जित्न सफल भएका उनले पुरुष एकल काताको फाइनलमा पाकिस्तानी खेलाडीलाई पराजित गरेका थिए भने टीम कातामा पनि स्वर्ण पदक जितेर देशको झण्डा फहराउने सपना पूरा गरेका थिए।
खेल्न नपाउँदाको पीडा
मण्डेकाजी एसएलसी दिएपछि राष्ट्रिय टीममा आवद्ध भए। त्यसबेला उनी मध्यमाञ्चल टीममा थिए। १०औँ साग च्याम्पियनसिपको छनोटमा उनी पहिलो पटक नेपाल आर्मीका खेलाडीसँग पराजित बने। त्यही हारले उनी साग खेल्न पाउने अवसरबाट बञ्चित भए। उनी भन्छन्, 'हारले साह्रै पीडा दिएको थियो। तर, त्यही पीडाले जित्नुपर्छ भन्ने अठोट झन् मजबुत बन्यो।'
२०१० मा बंगलादेशमा हुने ११औँ सागका लागि तयारी थियो। उनी दुई महिना क्याम्पमा बसे। त्यसमध्ये एक महिना भने थाइल्याण्डको बैंककमा बसे। बंगलादेश जाने अन्तिम तयारी हुँदै गर्दा १० जनाको मात्र कोटा समावेश भयो।
सागमा खेल्न नपाएपनि देशभित्र हुने खेलमा उनको सहभागिता रोकिएन। अभ्यास जारी थियो। यसैबीच १२औँ सागमा भारतमा भएको खेलमा कराँते समावेश गरिएन। जसले गर्दा उनी खेल्न पाएनन्। तर, उनी अफिसियल बनेर प्रतियोगितामा सहभागी भए। अरुले खेलेको खेल हेर्दै चित्त बुझाउनु दुःखद् क्षण रहेको उनी बताउँछन्।
१३औँ साग आयो। उनी क्लोज क्याम्पमा थिए। अफसोस, त्यही बेला बिरामी भए। देशका लागि खेल्ने चाहना पूरा नहुने सम्भावना बढ्दै जाँदा उनले आत्मबल उच्च बनाए।
'म स्वास्थ्य प्रतिकूलतालाई भुलेर भए पनि खेल्न चाहन्थेँ‚' उनल भने‚ 'चिकित्सकसँग परामर्श लिएँ। अन्तत: म बिरामी मुक्त भएँ। सागमा गेम खेल्ने अवसर पाएँ।' यही प्रतियोगितामा उनले दुई स्वर्ण पदक जिते र आफूलाई सफल खेलाडीका रूपमा उभ्याए।
सफलतामा पारिवारिक साथ नै निर्णायक
उनको जीवनको एउटै रहर थियो : नेपालको झण्डा बोकेर देशलाई स्वर्ण पदक दिलाउने।
यो रहर पूरा गर्न उनलाई परिवारको पूर्ण सहयोग रह्यो। आर्थिक संकटका कारण सँगैका साथीहरू खेल छाडेर अर्थोपार्जन गर्न अन्य पेशामा लागे। तर‚ उनले भने एकपटक स्वर्ण पदकसहित देशको झण्डा बोक्ने रहरका अगाडि सबैथोक त्यागिदिए।
'म पढाइमा भन्दा पनि खेलकुदमा नै अग्रसर भइरहें‚' उनी भन्छन्, 'परिवारले पनि जागिर खानुपर्छ भनेर दबाब दिएन। मलाई पनि पैसा कमाउनुपर्छ भन्ने लागेन। मेरा लागि सबथोक खेल थियो।' यो सोचाइ खेलकुदमा लागेको आज २७ वर्ष हुँदा पनि उस्तै रहेको उनी बताउँछन्।
नेपाल प्रहरीले दिएको बलियो आधार
राष्ट्रिय टीममा हुँदा उनलाई नेपाल प्रहरीमा आवद्ध हुने अवसर मिल्यो। व्यक्तिगत जीवनबाट खेल्नुभन्दा संगठनबाट खेलियो भने कम्तीमा आफ्नो जीवन चलाउन सहज हुने विश्वासका साथ उनी नेपाल प्रहरीमा आवद्ध भए।
'प्रहरीमा आवद्ध भएपछि घरमा आफ्नो खर्चका लागि आवश्यक पैसा त माग्नु पर्दैन भन्ने एक किसिमको लोभ पनि थियो‚' उनी भन्छन्, 'त्यो बेलामा कुनै संगठनमा आवद्ध हुनुपर्ने आवश्यकता पनि थियो।' उनले नेपाल प्रहरीबाट १५ वर्ष खेलिसकेका छन्।
'मेरो सफलताको पछाडि नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण छ। संगठनले मलाई गरेको विश्वासको ऋणी सदैव रहनेछु', उनी थप्छन्, 'नेपाल प्रहरीमा जोडिएको पनि वर्षौं भयो। मिल्न त नमिल्ला, तर मृत्यु पर्यन्त पनि नेपाल प्रहरीमा आवद्ध हुन पाउँजस्तो लाग्छ।'
नेपाली खेल जगतमा तीन विभागीय टोलीमा आवद्ध रहेका खेलाडीको वर्चश्च छ। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलमा आवद्ध खेलाडीहरू नेपालका लागि महत्त्वपूर्ण उपाधि जित्न सफल छन्। नेपालको खेलकुद विकासमा यी विभागहरूको योगदानलाई नजरअन्दाज गर्न नसकिने मण्डेकाजीको बुझाइ छ।
पिपल्स च्वाइस अर्वाडमा पुरुषबाट एक्लो दाबेदार
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको पल्सर स्पोर्ट्स अवार्डमा यसपटक पिपल्स च्वाइस अवार्डको मनोनयनमा मण्डेकाजी पनि समावेश छन्। पाँचजनामध्ये चारजना महिला छन् भने पुरुषतर्फबाट उनी एक्ला दाबेदार हुन्।
राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान सदीना श्रेष्ठ, राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी र पौडीबाज गौरिका सिंह अवार्डका दाबेदार हुन्।
'मनोनयनमा पर्ने सबै खेलाडी अब्बल हुनुहुन्छ। मनोनयनमा पर्नु नै हाम्रा लागि जीत हो‚' उनी भन्छन्, 'यद्यपि, प्रतिस्पर्धामा आफ्नो नाम भएपछि जीतको कामना गर्नु त मानवीय गुण हो। हेरौं के हुन्छ।' विजेताको घोषणा भोटिङका आधारमा हुने भएकाले खेलप्रेमीको अगाडि आफ्नो परीक्षा महसुस गरेको उनी बताउँछन्।
मध्यपुर थिमिको डोजो क्लबले डोर्याएको बाटो
बाल्यकालमा भक्तपुरको थिमिस्थित उनको घर नजिकै थिमि डोजो थियो। नयाँ नयाँ विषय देख्दा बालकभित्र त्यसप्रति जिज्ञासा जाग्नु स्वभाविक हो।
उनी पनि त्यो डोजोभित्र भएको क्रियाकलाप हेर्थे। क्रियाकलापबारे उत्सुकता जाग्थ्यो। तर, भित्र छिर्ने आँट हुँदैन थियो। बाल्यकालमा चञ्चलताभित्रको डरले उनी काँप्थे।
एक दिन डोजोभित्र भइरहेको क्रियाकलाप हेरिरहेका उनलाई पिताले देखे। एक तमासले ध्यानमग्न भएर हेरिरहेको छोरालाई बुबाले सोधे, 'तिमी पनि कराँते सिक्छौ?' आफूले चाहेर पनि भन्न नसकेको कुरा नै बुबाबाट प्रस्ताव आएपछि उनलाई 'के खोज्छस्... आँखो' भन्ने भइहाल्यो।
त्यसपछि उनी कराँते सिक्न डोजोतिर सोझिए। यो २०५० सालतिरको कुरा हो।
उनी ती बाल्यकालको घटना सम्झिन्छन्, 'बुबाले मभित्र खेलाडीको रूप देखिसक्नुभएको थियो। नत्र किन मलाई बिनाकुनै हिच्किटाहट कराँते सिकाउन पठाउनु हुन्थ्यो होला र?'
आफ्ना लागि आफ्नै उपाधि चुनौती
हरेक खेलाडीका लागि खेल जित्नैपर्ने दवाव त हुन्छ नै। व्यक्तिगत रूपमा खेलमा जीत होस् भन्ने स्वभाविक हो। यही दवाव र लगावका कारण मण्डेकाजीले देशका लागि विभिन्न उपाधि उचेका छन्।
'एकपटक जितेपछि जितिरहन कठिन काम हो', उनी भन्छन्, 'आफ्नै उपाधि आफ्ना लागि कहिलेकाहिँ चुनौती बनिदिन्छ। तर, जोखिममा खेल्नु खेलाडीको विशेषता हो।'
उनी आफ्नो जीवनको प्रतिस्पर्धी आफैँ रहेको बताउँछन्। भन्छन्, 'आफूलाई जितियो भने सिंगो संसारलाई जित्न कठिन हुँदैन।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।