|

बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसी मोर्चा लोकतन्त्र सिद्ध्याउन लागिरहेको आरोप लगाएका छन्।

एमालेको मेची महाकाली अभियानका क्रममा आइतबार रूपन्देहीको भैरहवा अञ्चलपुरमा गरेको आमसभामा बोल्दै ओलीले जनताको अधिकारका लागि भएको आन्दोलनमा गुमनाम रहेका मधेसी दल जनताका अधिकार स्थापित भएपछि विरोध शुरू गरेको बताए।

सप्तरी घटनाबारे बोल्दै उनले सरकार मान्छे मराउने काममा लागेको दाबी गरे। मधेसी मोर्चालाई सरकारले उचालेको भन्दै ओलीले त्यसको जनताले मुल्यांकन गर्ने बताए। उनले सरकार जनताको हितभन्दा प्रभु रिझाउने काममा लागेको आरोप लगाए। संशोधन प्रस्ताव, सर्वोच्च अदालत, जनता, मुख्य दलले भनेको कुरा नमानी बाह्य शक्तिले भनेको कुरामा लागि रहेको उनले बताए।

मधेसी मोर्चालाई उचाल्ने, माग राख्न लगाउने र त्यही माग सम्बोधन गरिदिन्छु भनेर आवाश्वास दिने काम सरकारले गरिरहेको उनले बताए। भाषणको अधिकांश समय सरकार र मधेसी मोर्चाको आलोचनामा खर्चिएका पूर्वप्रधानमन्त्री समेत रहेको अध्यक्ष ओलीले एमालेले गर्न लागेको समृद्धि अभियानबाट सबै अत्तालिएको बताए। मधेसी मोर्चाले एमाले अभियानको क्रममा मान्छे मराएर त्यसमाथि राजनीति गर्न खोजेको भन्दै उनले त्यो सफल नहुने दाबी गरे।

राजतन्त्र, पञ्चायत बिरोधी आन्दोलनमा गुमनाम भएका मोर्चाका नेताहरु लोकतन्त्रलाई तहसनहस गर्न आएको भन्दै ओलीले उनीहरु जनताको प्रतिनिधि नभएको आरोप लगाए। अध्यक्ष ओलीले नागरिकता बोर्डरबाट चकलेट बाँडेजसरी बाँड्ने वस्तु नभएको भन्दै यी विषय समावेश भएको संविधान संसोधनको प्रस्ताव कुनै हालतमा पास हुन नदिने उनले जिकिर गरे।

कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष वामदेव गौतमले मधेशीमोर्चाले एमालेलाई मधेश पस्न दिदनौं भन्नु त्रासको संकेत भएको बताए। अब हुने तीन वटै निर्वाचनमा मधेशमा एमाले पहिलो शक्ति हुने भन्दै उनले एमालेलाई रोक्न खोज्नेहरु जनताको प्रतिनिधि नभएको बताए। पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता गौतमले सरकारले राष्ट्रियताको धज्जी उडाउदै भारत सरकारको संरक्षणमा सरकार लागेको आरोप लगाए।

यसअघि एमालेले परासीको भुमहीमा सभा गरेको थियो। भुमहीमा भएको सभामा बोल्दै एमाले वरिष्ठ नेता झलनाथ खनालले मधेसी मोर्चाले मधेसमा भ्रम फिजाउने काम गरेको भन्दै त्यसलाई एमालेको अभियानले चिर्ने बताएका थिए। खनालले मधेसमा एमाले बलियो भएकै कारण आफूहरुलाई आक्रमण गरेको भन्दै त्यसको परिणाम चुनावबाट दिने बताए।

एमालेको लोकप्रियता मधेसमा भएपनि मधेसी मोर्चाको आडमा केही अपराधिक मनोबृत्त भएकाहरुले आफूहरुलाई हत्या गर्ने योजना बनाएको उनले बताए। उनले मधेसमा कुनै पनि जनताको विरोधमा एमालेको सभा आयोजना नभएको भन्दै सवैको साझा पार्टी बनाउन पनि मेची महाकाली अभियानको थालनी गरिएको बताए।

मोर्चाले एमालेलाई समाप्त पार्न खोजेपनि एमाले मधेसमा बलियो भएको भन्दै त्यसको परिणाम अबको दुई महिना भित्रै देखिने उनको भनाई छ।नेकपा एमालेका केन्द्रीय सदस्य छविलाल विश्वकर्माले नेपालमा भएका विविधतालाई एकतामा अगाडि बढाउन एमालेले मेची महाकाली अभियान सुरु गरेको बताए।

त्यसैगरी पोलिटव्युरो सदस्य सत्यनारायण मण्डलले सप्तरीमा मोर्चाका नाममा अपराधिक समुहले आफूहरुलाई सामुहिक हत्या गर्ने योजना बनाएको भएपनि सुरक्षाकर्मीका कारण आफु बाँच्न सफल भएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.