|

बैतडी : बैतडीमा बिहीबार एक किशोरीको बलात्कारपछि हत्या गरिएको अवस्थामा जंगलमा शव फेला परेको छ। दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव फेला परेको हो। 

ती किशोरीको शव स्थानीय लवलेक जंगलमा बीभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए। बुधबार घरबाट विद्यालय गएकी र   घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव फालिएको अवस्थामा फेला परेको हो। उनले भने, ‘शरीरभरि निलडाम र घाउ छन्, कपडा पनि च्यातिएको छ।' 

ती किशोरी बुधबारसम्म विद्यालयमा उपस्थित भएकी सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताए। 

घटनास्थलकै प्रकृति हेर्दा शंकास्पद भएको घटनास्थलमा खटिएका खोचलेक प्रहरी चौकीका प्रमुख मोती बमले जानकारी दिए। उनले भने, ‘बीच जंगलमा शव फेला परेको छ, कपडा खोलेको अवस्थामा छ, थप कुरा अनुसन्धानपछि थाहा होला।’ घटनास्थललाई सुरक्षित पारिएको खोचलेक प्रहरी चौकीले जनाएको छ।

घटनालाई गम्भीर रुपमा लिएको र थप अनुसन्धानका लागि घटनास्थलतर्फ आफैं गइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। 'किशोरीको कसले किन हत्या गरेको हो भन्ने विषयमा अहिले नै भन्न सकिने अवस्था छैन', उनले भने‘, घटना शंकास्पद छ, घटनास्थल पुगेपछि थप कुरा भन्न सकिन्छ।’

घटनाको विस्तृत अध्ययन गर्न धनगढीबाट तालिमप्राप्त कुकुरसमेत मगाइसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। किशोरी खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.