पार्टी आधिकारिकताबारे यसअघिका अभ्यास र कानुनबारे छलफल

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई चुनाव तयारी निरन्तर अघि बढाउन आग्रह गरेका छन्।

मध्यावधि निर्वाचन तयारीबारे छलफल गर्न आयोग पुगेका प्रधानमन्त्री ओलीले पदाधिकारीहरूलाई आफ्नो काममा निरन्तर लाग्न आग्रह गरेका हुन्।

'निर्वाचन आयुक्त दिनेश थपलियाले चुनाव गर्न भइरहेको तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘प्रधानमन्त्रीज्यूले पनि आयोगका पदाधिकारीहरूलाई यससम्बन्धी काम निरन्तर अघि बढाउन सुझाव दिनुभएको छ।’

निर्वाचन आयुक्तले निर्वाचनको सुरक्षा तयारी र बजेटबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। प्रधानमन्त्री ओलीले निर्वाचन तयारीमा जुट्न सरकारले सबै खालको सहयोग गर्ने प्रतिबद्धता जनाएको थापाले जानकारी दिए। प्रधानमन्त्रीको भनाईलाई उदृत गर्दै उनले भने, ‘तोकिएको समयमा निर्वाचनल सम्पन्न गराउन लाग्नुहोस्‌।’

नेकपा आधिकारिकता विवादबारे भने खासै छलफल नभएको थापाले बताए। ‘माघ ११ गते आयोगले अर्को निर्णय गरिसकेको छ, प्रधानमन्त्रीले यसअघिका अभ्यास र कानुनबारे जानकारी लिनुभएको छ,’ उनले भने। 

प्रधानमन्त्री ओलीसहित महासचिव विष्णु पौडेल र संसदीय दलको उपनेता सुवासचन्द्र नेम्बाङ लगायतका नेताहरू लिएर आयोग पुगेका थिए। 

हिजो बसेको मन्त्रिपरिषदको बैठकले आगामी वैशाख १७ गते ४० जिल्ला र २७ गते १७ जिल्लामा चुनाव गराउने निर्णय गरेको छ। 

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गररे आगामी बैशाखमा मध्यावधि निर्वाचनको मिति तय भएपछि नेकपा दुई समूहमा विभाजन भएको छ। 

पार्टी विभाजनपछि दुबै पक्षले आफू नै आधिकारिक भएको दावी गर्दै आएका छन्। पार्टीमा विवाद निम्तिएपछि दुबै पक्षले आयोगमा निवेदन पनि दिएका थिए। तर, ती निवेदन आयोगले खारेज गरिदिएको थियो।

त्यसपछि, आयोगले नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो। तर, दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।

प्रचण्ड-माधव समूह आयोगमा पत्र थमाएर फर्किएको थियो भने ओली पक्षका नेताहरू छलफलमा सहभागी भएका थिए। 

त्यसपछि पनि पार्टीको आधिकारिकता दाबी गर्न अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाललगायतका नेताहरू आयोग पुगिसकेका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.