|

काठमाडौं : सरकारले कोरोनाविरुद्धको पहिलो चरणको खोप माघ २४ गते समापन गरिसकेको छ। १४ गतेदेखि खोप लगाउन सुरु गरेको थियो।

फ्रन्टलाइनर स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सर-सफाईकर्मी तथा शव वाहनका चालकलाई लगाइने गरी १० लाख डोज खोप भारतको सिरम इन्स्च्युट निर्मित भारत सरकारले अनुदान स्वरुप प्रदान गरेको थियो।

पहिलो चरणको खोप देशभर १ लाख ८४ हजारभन्दा बढीले लगाएका थिए। सरकारको १० दिनमा साढे चार लाख मानिसलाई खोप लगाउने लक्ष्य थियो। पहिलो चरणमा लक्ष्यअनुरूप खोप नलगाएपछि  सोमबारदेखि सञ्चारकर्मीले खोप लगाउन थालेका छन्।

फ्रन्टलाइनरको रूपमा खटिएका सबैभन्दा बढी स्वास्थ्यकर्मीले खोप लगाएका छन्। कैदीबन्दी, कारागारका कर्मचारीले लगाएका छन्। कोरोनाबाट सबैभन्दा बढी पीडित सुरक्षाकर्मी भएका छन्।

कोरोना नियन्त्रण तथा रोकथाम,विभन्न आन्दोलन तथा जुलुसमा सहभागी भई अहोरात्र खटिने सुरक्षाकर्मी खोप लगाउनबाट वञ्चित भएका छन्। सबै तह र विभागका कर्मचारीले लगाउन पाउँदा अग्रपङ्तिमा खटिने सुरक्षाकर्मीले लगाउन पाएका छैनन्।

स्वास्थ्य मन्त्रालयले प्राथमिकताको आधारमा फ्रन्टलाइनरको रुपमा खटिनेलाई खोप लगाएको छ। सुरक्षाकर्मी लगायत अन्य सबै क्षेत्रमा काम गर्ने मानिस बढी जोखिममा रहेकाहरू सबैको पालो क्रमैसँग आउने मन्त्रालयअन्तर्गत खोप महाशाखाले जनाएको छ।

पहिलो चरणको खोप अभियानमा गृह मन्त्रालय मातहतका केही कर्मचारीले खोप लगाउन पाएका खोप महाशाखाका प्रमुख झलक शर्मा बताउँछन्। उनका अनुसार कैदीबन्दी र कारागारका कर्मचारीले लगाएका छन्।

'अहिले लगाउन थालेको खोप अभियान समाप्त हुँदैन,' शर्मा भन्छन्,'  क्रमबद्ध रूपमा सबै मानिसले खोप कार्यक्रममा सहभागी हुन पाउँछन्। हामीले प्राथमिकताको आधारमा खोप कार्यक्रममा सहभागी हुन पाउने व्यवस्था गरेका छौँ।' चरणबद्ध रूपमा खोपमा लगाउने कार्यक्रममा सबैलाई सहभागी गराउने उनले बताए। सुरक्षाकर्मीलाई अब लगाउने खोप कार्यक्रममा नछुटाउने उनको भनाइ छ।

गृह-मन्त्रालय मातहतका सबै कर्मचारीको विवरण स्वास्थ्य मन्त्रालय पठाइसकेको गृह मन्त्रालयका प्रवक्ता चन्द्रबहादुर बुढा बताउँछन्।

उनले भने,' खोप लगाउने कार्यक्रम स्वास्थ्य मन्त्रालयले गर्छ। त्यसैको प्राथमिकीकरणको आधारमा खोप लगाउने मानिसको निर्धारण स्वास्थ्य मन्त्रालयले गर्छ। हामीले हाम्रो कर्माचारीलाई खोप लगाइदिनु भन्न मिल्दैन।'

सुरक्षा निकायका केही सुरक्षाकर्मीले खोप लगाएका छन्। अब आउँदो दिनको खोप कार्यक्रममा गृह मन्त्रालय मातहतका कर्मचारीको पालो आउन सक्ने उनको भनाइ छ। प्राथमिकता र जोखिममा को बढी छन् त्यसैको आधारमा अन्यले खोप लगाइरहेको हुन सक्ने उनल बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.