|

नवलपरासी : स्थानीय उत्पादित तरकारीले बजार नपाएको भन्दै पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका किसान आन्दोलनमा उत्रेका छन्।

स्थानीय तरकारी भन्दा भारतीय तरकारीले बजार पाएको भन्दै किसानले नगरपालिकाको कार्यालय परिसर र कार्यकक्षमा टमाटर फालेर विरोध जनाएका हुन्। नगरपालिकालाई स्थानीय उत्पादनको बजारीकरणका लागि पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएकोले बाध्य भएर टमाटर पोखेर आन्दोलनमा उत्रिनुपरेको किसानको गुनासो छ।

किसानले नगर प्रमुख धीरज शर्मा बस्याललाई ज्ञापन पत्र बुझाउन खोजे पनि उनी उपस्थित नहुँदा किसान थप आक्रोशित हुँदै नाराबाजी गरेका थिए।
किसानले नगर प्रमुख बस्यालको कार्यकक्षमा पनि टमाटर फाल्न खोज्दा नगर प्रहरीले रोेकेको थियो। प्रहरीले रोक्नखोज्दा किसान र प्रहरीबीच झडपसमेत भएको थियो। 

नगर प्रमुखले किसानको अगाडि उपस्थित भएर किसानका मागहरू सुन्नुपर्ने र ज्ञापनपत्र बुझ्नुपर्ने भन्दै लामो समय सम्म किसानले नारावाजी गरे। 
किसानहरूले यो सांकेतिक विरोध मात्र भएको र नगरपालिकाको तर्फबाट कुनै सुनुवाइ नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए। बाहिरबाट आउने टमाटरमा नगरपालिकाले रोक लगाउनुपर्ने माग उनीहरूको छ। किसानले दुई वटा गाडीमा ३० क्वीन्टल टमाटर ल्याएर नगरपालिका परिसर र कर्मचारीहरूका कार्यकक्षमा फालिदिएका छन्।

नगर प्रमुख बस्याल उपस्थित नभएपछि किसानको भीडलाई नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का वडा अध्यक्ष रवीन्द्र विक्रम हमालले सम्बोधन गर्दै किसान आन्दोलित हुने स्थिति सिर्जना हुनु दुःखद् भएको बताए। 

आन्दोलनरत किसानहरूलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नगर प्रमुख रुद्रप्रकाश उपाध्यायले किसानको आन्दोलनमा समर्थन जनाउँदै  स्थानीय किसानको उत्पादनलाई बजारीकरणका गर्न नगरपालिका जिम्मेवार बन्नुपर्ने बताए।

किसान आन्दोलनमा समर्थन जनाएका बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले किसानले फालेका टमाटरतर्फ देखाउँदै भुईंमा पोखिएको टमाटर नभई किसानहरूको पसिना भएको बताए। 

किसानको आन्दोलनमा जिमिरेभार बजार विकास समितिले पनि ऐक्यवद्धाता जनाएको छ। समितिका अध्यक्ष नर बहादुर थापाले किसानको आवाजलाई बेवास्ता गरिए त्यो ठूलो भूल हुने बताए। 

यता नगर प्रमुख बस्यालले भने किसानको आन्दोलन अराजक भएको बताएका छन्। टमाटर बिक्री नभएको भन्ने आफूहरूलाई जानकारी नै नभएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.