|

काठमाडौं :  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पाँच उपमहानगरपालिका र एक सय ७३ नगरपालिकामा कार्यकारी अधिकृत खटाएको छ। 

मन्त्रालयको शुक्रबार रातिको निर्णयअनुसार एक सय ७८ स्थानीय तहमा निर्वाचन तयारी एवम् व्यवस्थापन गर्न काजमा कर्मचारी खटाइएको प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए।

कार्यकारी अधिकृत खटाइएका नगरपालिकामा प्रदेश नं १ का २९, प्रदेश नं २ का २२, प्रदेश नं ३ का ३१, प्रदेश नं ४ का २६, प्रदेश नं ५ का २३, प्रदेश नं ६ का १९ र प्रदेश नं ७ का २३ नगरपालिका छन्। 

प्रदेश नं २ का जितपुर सिमरा, कलैया र जनकपुर उपमहानगपालिका एवम् प्रदेश नं ५ का बुटवल र नेपालगन्ज उपमहानगरपालिकामा पनि कार्यकारी अधिकृत तोकिएको मन्त्रालयले जनाएको छ। 

उपमहानगरपालिका र नगरपालिकामा उपसचिवलाई कार्यकारी अधिकृत बनाइ पठाइएको छ। मन्त्रालयले विलम्ब गरेमा वा हाजिर हुन नगएमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुरुप कारबाही गरिने उल्लेख गरेको छ। मन्त्रालयले बिहीबार राति ४८१ गाउँपालिकामा कार्यकारी अधिकृत तोकेको थियो। 

सरकारले फागुन २७ गते नेपाल राजपत्रमा जारी गरेको सूचना अनुसार काठमाडौँ, ललितपुर, भरतपुर र पोखरा महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिका कार्यान्वयनमा आएको छ। 

काठमाडौँ बाहेकका तीनवटै महानगरपालिकामा पनि कार्यकारी अधिकृत पद रिक्त छ। यी महानगरमा छिटै कार्यकारी अधिकृत तोकिने मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.