निकायले जिम्मेवारी पन्छाउँदा स्थानीय दुःखी

|

ओखलढुंगा : साविकको मूलखर्क गाविस अर्थात सुनकोशी गाउँपालिका– ५ र ६ मा  स्थानीय खोलाबाट विद्युत् उत्पादन गर्ने भनेर काम सुरु गरिएको एक दशक बितिसक्यो। एक दशक बितिसकेको भए पनि यहाँका सर्वसाधारण अहिले पनि अँध्यारोमा बस्न बाध्य छन्।

मोलुङखोला सिम्लेबेसी लघु जलविद्युत् आयोजनाको नाममा सविकका तीन वटा गाविस मूलखर्क, माधवपुर र फेदीगुठ (सुनकोसी गाउँपालिका ५ र ६ मूलखर्क, चम्पादेवी गाउँपालिकाका ४ र ५ फेदीगुठ तथा मानेभञ्जयाङ गाउँपालिका–७ माधवपुर) का ८ सय ५६ परिवारबाट प्रतिपरिवार ७ हजार ५ सयका दरले उठाएको रकम आजसम्म कहाँ के भयो भन्ने कसैले अत्तोपत्तो पाएका छैनन्। ​

तत्कालीन समयमा गाउँमा बिजुली बल्ने भनेपछि उत्साहित भएका मूलखर्क, माधवपुर र फेदीगुठका स्थानीय हौसिँदै उपभोक्ता समितिलाई पैसा बुझाएका थिए। तर आज आजभोलि गर्दै यी तीन स्थानका स्थानीय अँध्यारोमै जीवन बिताउन बाध्य भएका छन्।

अहिले विद्युतीकरणका लागि मानेभञ्ज्याङ गाउँपालिकाको माधवपुर र सुनकोशी गाउँपालिकाको मूलखर्कमा भने गाउँपालिकाले ग्रामीण विद्युतीकरणका लागि पोल गाड्ने काम भएको छ। चम्पादेवी गाउँपालिकाले पनि विद्युतीकरणको काम तीव्र गतिमा गरिरहेको जनाएको छ। 

के भन्छन स्थानीय?

बत्ती बल्छ भनेर खाई नखाई स्थानीयले पैसा बुझाएको १० वर्ष बितिसक्यो, तर अहिलेसम्म न त बत्ती छ, न त पैसा। अध्यक्ष चम्पा कार्कीलाई कुरा गर्दा कुरा टारेर हिँड्ने गरेका सुनकोशी गाउँपालिका–५ मूलखर्कका स्थानीय रामबहादुर तामाङ गुनासो गर्छन्। 

पैसा बुझाएको वर्षौं बिते पनि आजसम्म न त सार्वजानिक सुनुवाइ भएको छ न त बिजुली बाल्ने काम नै। केही समय खोलामा कुलो खनेजस्तो गरेर आफूहरुको पैसामा अध्यक्ष कार्कीले मोजमस्ती गरेका तामाङले आरोप लगाए। गाउँ उज्यालो हुन्छ भन्ने खुसीयालीमा पैसा बुझाएको भए पनि अहिलेसम्म आफूहरुले अँध्यारोमै दिन बिताउनुपर्दा नरमाइलो लागेको भन्दै उनी दुःखी भए। 

करोडौं योजना भएका कारण स्थानीयस्तरबाट सम्भव नभए पनि तत्कालीन उपभोक्ता समितिका अध्यक्षले जोड गरेका कारण गाउँमा बिजुली बाल्न आफूसँगै हरेक परिवारबाट ७ हजार ५ सय उठाइएको तत्कालीन मूलखर्क गाविस सचिव तथा सुनकोशी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीको भनाइ छ।

त्यति मात्र नभई साविकको मूलखर्क गाविसबाट ५ लाख तथा जिल्ला विकास समितिबाट ७ लाख अनुदानसमेत उपलब्ध गराउन आफ्नो भूमिका रहे पनि बिजुलीको काम अलिकति पनि नभएकाले सर्वसाधारण आक्रोशित भएका उनले बताए।

२०६६/०६७ सालमा मोलुङखोला सिम्लेबेशी लघु जलविद्युत आयोजनाको काम गर्ने भनी उठाइएको सर्वसाधारणको पैसाबाट दुई किलोमिटर कुलो तथा एक आना जग्गा किनेर छाडिएको भए पनि अहिले न त कुलो छ नत जग्गा नै।

विद्युत् गृहका लागि अध्यक्षले मानोमानी एकआना जग्गालाई ६ लाख ५० हजार खर्च गरेको देखिन्छ। जुन स्थानमा अहिले पनि एक रोपनी किन्नुपरे २ देखि ३ लाखमा आउने मूलखर्क गाविसका पूर्वअध्यक्ष तथा उपभोक्ता समितिका नयाँ अध्यक्ष पञ्चबहादुर तामाङ बताउँछन्। 

के भन्छिन् तत्कालीन अध्यक्ष चम्पा कार्की?

मोलुङखोला सिम्लेबेसी लघु जलविद्युत् आयोजनामार्फत १०० किलोवाट क्षमताको विद्युत् उत्पादन गर्ने भनेर २०६६ सालबाट काम थालिएको भए पनि आयोजनाको काम भनेजस्तो देखिदैन। हालसम्म आयोजनाले दुई किलोमिटर कुलोको मैदान र १ आना जग्गा किन्नेबाहेक अरू का गरेको देखिँदैन।

आयोजनाको नाममा पैसा उठाएर व्यक्तिगत कार्य गरेको भन्ने आरोप स्थानीयबाट आइरहेको भए पनि आयोजनाका तत्कालीन अध्यक्ष चम्पा कार्की आशा आफूले अनुदान स्वीकृत गराएर मात्र अर्को समिति बनाएर जिम्मा लगाएको बताउँछिन्।

आयोजनाको नाममा किन बढी खर्च देखियो भन्ने प्रश्नमा कार्कीले आफूले सबै हिसाबकिताब अध्यक्ष पञ्चबहादुर तामाङलाई हस्तान्तरण गरिसको बताइन्। साथै उनले उनलाई नै यसबारे थाहा होला भनेर पन्छिइन्। 

कार्कीले देखाएको सपना गाउँपालिकाले पूरा गर्दै 

१० वर्षअघि माओवादी नेतृसमेत रहेकी कार्कीले देखाएको सपना पछिल्लो समय गाउँपालिकाले पूरा गर्न लागिपरेको छ। गाउँपालिकामा केन्द्रीय विद्युत् ल्याई ग्रामिण विद्युतीकरण गर्दै गाउँपालिकाले सर्वसाधारणको सपना पूरा गर्न लागेको हो। 

हाल सुनकोशी–९, १०, ५ र ६ मा धमाधम विद्युतीकरणको काम भइरहेको छ। गाउँपालिकाका सबै वडामा एकै पटक विद्युतीकरणको काम हुन नसके पनि यो आर्थिक वर्षमा वडा ९, १० र ५ सम्म विद्युतीकरण हुने प्रमुख प्रशासकीय अधिकृत कार्कीले बताए। मूलखर्कमा टुकी विस्थापित हुने भए पनि आफ्नो पैसा फसेकोमा सर्वसाधारण चिन्तित रहेका उनले बताउ। 

पैसा फिर्ता गर्ने चिन्ता

अध्यक्ष कार्कीको कागजी हिसाबमा ५० लाख ६६ हजार १ सय ७९ रुपैयाँ मात्र देखिए पनि सर्वसाधारण र सरकारी श्रोतबाट अनुदान आएको पैसा ७५ लाख रुपैयाँ बढी देखिन्छ।

८ सय ५६ परिवारले ७ हजार ५ सयदेखि १० हजारसम्म पैसा दिएको र सरकारी अनुदान १० लाख बढी रहेको स्थानीयको भनाइ छ। तर, कार्कीले ५० लाख ६६ हजार १ सय ७९ रुपैयाँ मात्र हिसाब आफूलाई बुझाएको मूलखर्क गाविसका पूर्वअध्यक्ष तथा उपभोक्ता समितिका नयाँ अध्यक्ष तामाङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.