किसान भन्छन् : ‘माटो खन्‍न तुरुन्त बन्द गरियोस्, कि गोली हानेर मारियोस्

|

झापा : धान सुपर जोन घोषित दक्षिणी झापाको कचनकवलमा इँटा उद्योगीले खेतीयोग्य जमिन खरिद गरी जथाभाबी माटो खन्दा किसान चिन्तित बनेका छन्। 

झापामै पहिलो स्थानीय तहको रुपमा सरकारले कचनकवललाई धान सुपर जोन घोषित गरेका थिए। सरकारले धान सुपर जोनका लागि गाउँपालिकामा करोडौँ लगानी गरिसकेको छ।

तर, पछिल्लो समयमा गाउँपालिकामा धमाधम इँटा उद्योग खोल्ने र उद्योगलाई चाहिने माटो त्यही खेतीयोग्य जमिन खन्दै लैजान थालेका छन्। उद्योगीले खेतीयोग्य जमिन बजार भाउभन्दा बढी मूल्यमा खरिद गरी जथाभावी माटो खन्न थालेपछि कचनकवल गाउँपालिका–६ का स्थानीय किसान त्यसको विरोधमा उत्रिएका छन्। खेतीयोग्य जमिनको बीच चण्डी इँटा उद्योग सञ्चालनमा छ। 

चण्डी इँटा उद्योगले कचनकवल ६ निवासी बबलु मियाँको सात कट्ठा, उनको फुपू आस्मा सावुद्धिनको एक बिघा, रमा राजवंशीको ८ कट्ठा जमिन महिना दिनभित्रै खरिद गरेको छ।

त्यहाँको जमिनको मूल्य बिघाको १२ देखि १४ लाख पर्ने उद्योगीले २० लाख रुपैयाँ दिएर खरिद गरेका किसानहरू बताउँछन्। उद्योगीले खरिद गरेको जमिनमा धान राम्रो उत्पादन हुन्छ। त्यस आसपासका अन्य किसानले पनि वर्षौँदेखि धान खेती गर्दै आइरहेका छन्। 

उद्योगीले खरिद गरेको जमिनमा जेसिभी लगाएर माटो खन्दै भट्टा लैजान थालेपछि विरोधमा उत्रिएको भन्दै स्थानीय अमृतलाल राजवंशीले आक्रोश पोखे। यहाँका खेतीपाती गर्ने किसानहरू एउटै नातागोतामा पर्छन्। किसानको जमिन किसानले नै खरिद गरी खेती लगाउने अवस्था इँटा उद्योगीको यस घटनाले देखाइदिएको उनले बताए। भने, ‘किसानले बजारभन्दा बढी मूल्य पाउँछन् भने अरूलाई त बेच्ने हो, हामीलाई कहाँ कम्ती दाममा दिन्छन् त? अब यहाँका सबै जमिन भट्टा बालाले किन्छन् र किसानलाई विस्थापित बनाउँछन्।’ 

किसानको जमिन हत्याउने कमिसनखोरहरू अहिले उद्योगीको पक्षमा लागिसकेका उनको आरोप छ। उद्योगीले खरिद गरेको जमिनको दक्षिणपट्टि भर्दिया राजवंशीले अहिले एक बिघा तीन कट्ठामा धान खेती गरिरहेका छन्।

उद्योगीले उनकै खेत नजिकै माटो खन्न थालेपछि उनी चिन्तित बनेका छन्। ‘माटो खन्ने कार्य तुरुन्त बन्द गरियोस्, कि मलाई गोली हानेर मारियोस्,' उनले भने।

अहिले उनले खेतमा चैते धान लगाएका छन्। ‘धान खेतको पानी नजिकै खनिएको खाल्टोमा जान्छ, अनि कसरी खेती गर्नु? कसरी पाल्नु परिवार?, कसरी तिर्नु ऋण?’ सम्बन्धित निकायले किसानको मर्म बुझिदिनु पर्‍यो,' उनले दुःख पोखे। 

त्यस्तै सृजना कृषि फर्मका सञ्चालक मनोज भेटवालले ५ वर्षका लागि जमिन लिजमा लिएर खेती गर्दै आइरहेका छन्। उद्योगीले खन्दै गरेको जमिनको उत्तरपट्टि उनले चार बिघामा धान लगाएका छन्। खेती गर्दै आइरहेको जमिनको दुईपट्टि खोला छ, अहिले फेरि माटो खनेर जमिनलाई खोला बनाउन लागेपछि खेतीयोग्य जमिन टापु बन्न लागेकोमा उनी चिन्तित देखिए।

‘खेतीयोग्य जमिन पोखरी बन्दा भोलि यहाँ खेतीपाती नहुँदा कसरी बैंकको ऋण तिर्नु?’ उनले भने, ‘अहिले दुई फिट माटो खन्दा त खेतीको पानी त्यहाँ आउन थालिसक्यो, ५ फिट खन्दा के हुन्छ?’ ‘उद्योगीका मान्छे बिहान माटो खन्न आउँदैनन्,’ स्थानीय पावनी राजवंशीले भनिन्, ‘बेलुका ४ बजेदेखि अबेर रातिसम्म माटो खनेर टिपरमा हालेर लान्छ, त्यसलाई रोक्न बेलुका हामी आउन सक्दैनौँ, हाम्रो पनि ज्यानको माया छ।’ 

प्रहरीलाई यसबारे जानकारी गराइसके उनले बताइन्। भनिन्, ‘प्रहरी पनि उद्योगीसँग मिलेको छ, प्रहरीले नै उनीहरूलाई उल्टै संरक्षण गरिरहेको छ।’ 

यता नौलो भविष्य साना किसान सहकारी संस्थाका व्यवस्थापक लक्ष्मी बजगाइँका अनुसार यहाँ खेती लगाउने अधिकांश किसान समूहका सदस्य हुन्। परिवारका सदस्यले दुःख पाउनु हुँदैन भनेर संस्थाले अनुदानमा यहाँका किसानलाई सिँचाइ उपलब्ध गराएको उनले बताइन्। 

बिजुलीको पोल, सोलार जडान गरेपछि यहाँका किसानले खेतीपाती गरेर जीविकोपार्जन गर्दै आइरहेका छन्। बजगाइँ भन्छिन्, ‘अहिले खेतीयोग्य जमिन उद्योगीले खरिद गरेर खन्न थालेपछि किसान चिन्तित बनेका छन्, उनीहरूको अनुहारमा खुसी छैन।’

खेतीयोग्य जमिनको माटो खन्ने कार्य रोकिएन भने अबको केही वर्षमा यहाँ उत्पादन नै नहुने निश्चित उनको भनाइ छ। 

यता कचनकवल गाउँपालिका–६ नम्बर वडा अध्यक्ष कुलबहादुर कार्कीका अनुसार धान सुपर जोन घोषित गाउँपालिकामा इँटा उद्योग खोल्न पहिला नै रोक लगाउनु पर्थ्यो।

त्यसको परिणाम आज किसानले भोग्नु परेको उनले बताए। वडाअध्यक्ष कार्कीले भने, ‘खेतीयोग्य जमिन कति खन्नुपर्ने हो, त्यसको मापदण्ड हुनुपर्छ, तर गाउँपालिकामा त्यस्तो देखिएन।’

माछापालन गर्ने किसानका लागि गाउँपालिकाले गत वर्ष ९० लाख र चालु आर्थिक वर्षमा ३० लाख बजेट छुट्याएको छ। 

माछापोखरी खन्दा गाउँपालिकाले बजेट दिने, तर पोखरी खनेको मापदण्ड कसैले नहेर्ने गरेको उनको गुनासो छ। भने, ‘पोखरी खन्दा निस्किएको माटो यहाँका भट्टाले किनेर लैजान्छ, माटोको व्यापार रोक्न गाउँपालिकाले ठोस कानुनी नीति ल्याउनुपर्छ।’ 

यस्तो भन्छन् इँटाउद्योगी

त्यसैगरी चण्डी इँटा उद्योगका विष्णु घिमिरेले अरूले खेतीयोग्य जमिन खन्दा केही नहुने र आफूले खन्दा विरोध गर्नु जायज नभएको बताए। ‘अहिले खनिएको जमिनमा माछा पालन गर्नुका साथै होमस्टे बनाउने मेरो लक्ष्य हो,’ उनले भने, ‘किसानलाई विस्थापित बनाउने मेरो योजना होइन।’

न्यायका लागि गाउँपालिकामा निवेदन 

उद्योगीले जथाभावी खेतीयोग्य जमिन खन्न थालेपछि स्थानीय किसानले न्यायका लागि कचनकवल गाउँपालिकालाई लिखित निवेदन दिएका छन्। किसान कार्तिक राजवंशी, भर्दिया राजवंशी, यादवप्रसाद दाहाल, अमृतलाल राजवंशीले चैत ४ गते गाउँपालिकाको न्यायिक समितिलाई न्याय दिलाइ पाऊँ भनी निवेदन बुझाएका हुन्। 

निवेदन पत्रमा भनिएको छ– गाउँपालिका ६ बस्ने हामी किसानहरूको जमिनको साँध सिमानामा चण्डी इँटा उद्योगले मनपरी ढंगले खेतको माटो खनी मापदण्डविपरीत लैजानु र मलिलो जमिनलाई रुखो बनाउने कार्य गरेका उद्योगलाई कारबाही गरियोस्। यता गाउँपालिकामा निवेदन परेकोले दुवै पक्षलाई बोलाएर छलफल गरी निकास दिने गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशीले बताइन्।   

उद्योगीले खोला खनेको किसानको आरोप

किसानहरूको जमिन नजिकै रहेको उतारचोक खोला पनि चण्डी इँटा उद्योगले जथाभावी खनेर माटो लगेको स्थानीयले आरोप लगाएका छन्। सरकारको जमिनमा उद्योगीले जेसिभी चलाउँदा पनि जनप्रतिनिधिहरु कसैले केही नबोलेको उनीहरूको आरोप छ। 

खोला नजिकै उद्योगीको जमिन छ। उद्योगीले आफ्नो जमिन खन्ने क्रममा खोला खनेको स्थानीय कर्णसिंह राजवंशीले बताए। ‘उद्योगीका मान्छे खोला खन्दै गरेको थाहा पाएपछि हामी गएर रोक्न खोज्यौँ,’ उनले भने, ‘उद्योगीका मान्छेले हाम्रो कुरा टेरेनन्, खोला खनेर सबै माटो लग्यो, अब बाढी आउँदा पानी खेतमा पस्छ।’

खोलाको माटो सकिएपछि खेतीयोग्य जमिनलाई उद्योगीले निसाना बनाएको उनको भनाइ छ। केही दिनअघि बाहाडाँगी नजिकै उद्योगीले आफ्नो जमिन खन्न गएपछि त्यहाँ स्थानीय घरेलु हातहतियार लिएर तिनीहरूलाई खेदाएको उनले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.