|

नेपालगन्ज :  एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसी मोर्चाले तराईमा आतंक मच्चाएर राजनीतिक आचरण भन्दा बाहिर गएको बताएका छन्। लोकतन्त्रमा सबैलाई सभा सम्मेलन गर्ने समान अधिकार भएको उल्लेख गर्दै उनले अधिकारको खोक्रो बहानामा मधेसी मोर्चाले अलोकतान्त्रिक चरित्र प्रदर्शन गरी देश र समाजमा आतङ्क सिर्जना गरेको आरोप लगाए। उनले अलोकतान्त्रिक गतिविधि त्यागेर लोकतान्त्रिक बाटोमा लाग्न मोर्चालाई सुझाव दिए।

एमाले बाँके प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमालेको अभियान बिथोल्न मोर्चाले माफी दिन नसक्ने गल्ती गरेको बताए। उनले नेपालको सरकार कमजोर भएका कारण आतंक मच्चाउने राजनीतिक दललाई कारवाही गर्न नसकेको बताए । ‘एउटा दलले आयोजना गरेको कार्यक्रममा पेट्रोल बम, हाते बम फालेर अराजकता प्रदर्शन गर्ने कार्य राजनीतिक हुनै सक्दैन, मोर्चाले सप्तरीमा गरेको क्रियाकलाप अपराधिक बाहेक अन्य हुन सक्दैन,’ उनले भने ।

पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले सर्वसाधारणलाई उत्तेजनामा ल्याउने, बालबालिकालाई अपराधिक क्रियाकलाप सिकाउने, बम हान्ने कार्यको विरोध गर्दै संसारका कुनै राजनीतिक दलले नगरेको कार्य मधेसी मोर्चाले नेपालमा गरेर आफ्नो चरित्र देखाएको बताए।

उनले राजनीतिको नाममा अपराध गर्ने छुट कसैलाई नभएको समेत औँल्याए। अध्यक्ष ओलीले लोकतन्त्रमा हिंसा स्वीकार्य नहुने बताए। अभियान विथोल्ने नाममा मोर्चाले कहिल्यै माफी दिन नसक्ने गतिविधि गरेको समेत बताए। ‘वर्तमान सरकार कमजोर भएको फाइदा उठाएर मधेसी मोर्चाले राजनीतिको नाम हिंसा गरिरहेको छ, अधिकारको नाममा मोर्चाले तराईका जनतालाई अलमल्याउने काम गरिरहेको छ,’ ओलीले आरोप लगाए। 

मोर्चाको हिसात्मक क्रियाकलापको मार तराई–मधेसका जनताले भोग्न परेको बताउँदै उनले मोर्चाको छुद्र, उत्तेजक र हिंसात्मक क्रियाकलापले निर्दोष जनता मारिए, घाइते भए, सुरक्षाकर्मी तथा एमाले कार्यकर्ता समेत घाइते भए, त्यस प्रति एमालेले दुख व्यक्त गरिसकेको उनले बताए।

उनले एमालेका लागि मात्र अभियान नभई सिंगो देशबासीको हितका लागि भएको बताए। उनले राष्ट्रियता, स्वाभिमान, अखण्डता र सार्वभौमसत्ता अभियानमा केन्द्रित रहेको बताए। उनले नेपालीको स्वाभिमानको कुरा गर्दा कसैको मन भतभती पोल्ने गरेको समेत औँल्याए। ‘एमालेले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको नारा लगाउँदा कसैको मन पोल्छ भने हामीले के गर्न सक्छौँ,’ अध्यक्ष ओलीले भने।

नेपालको संविधान कार्यान्वयनका लागि वर्तमान सरकार संवेदनशील नदेखिएको समेत बताए। उनले वर्तमान सरकार संविधान कार्यान्वयन गर्नुको साटो संशोधनको कुरा गरेर निर्वाचन सार्ने दाउमा लागेको आरोप लगाए। अधिकार नपाएर मधेसी मोर्चा आन्दोलित भएको भन्ने जिज्ञासामा ओलीले नयाँ संविधानले कुनै पनि जात, वर्ग, भाषालाई भेदभाव नगरेको ठोकुवा गरे। ‘संविधानले मधेसीलाई के अधिकार दिएन, उहाँहरु (मधेसी मोर्चा) को माग के हो स्पष्ट सँग आउनुपर्‍यो, माग आए पो छलफल र संवाद गर्न सकिन्छ,’ उनले भने।

एमालेले सत्ताका लागि कसैसँग वार्ता र सम्बाद नगरेको स्पष्ट पार्दै निर्वाचनपछिमात्र एमाले सरकारमा जाने स्पष्ट पारे। अबको निर्वाचनमा पछि एमाले बहुमतसहित सरकार बनाउने दावी गरे। ‘एमाले निर्वाचन अघि सरकारमा जाने हल्ला निराधार हो, निर्वाचनपछि बहुमतको सरकार बनाएर एमाले सरकारमा जान्छ,’ अध्यक्ष ओलीले भने।

उनले स्थानीय चुनाव कसैले पनि रोक्न नसक्ने बताए। मधेसी मोर्चा निर्वाचनमा सहभागी नभएपनि निर्वाचन नरोकिने उनले स्पष्ट पारे। मधेसी मोर्चासँग उम्मेदवार नै नभएको दावी गर्दै उनले उम्मेदवार नभएकै कारण मोर्चा निर्वाचनमा जान डराएको बताए। उनले भने, ‘मोर्चाका नेताहरु वडामै हार्छन्, उनीहरुसँग उम्मेदवार नै नभएपछि कसरी निर्वाचनमा जाउन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.