|

दमक : पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमलनगर गाउँपालिकामा आइतबार साँझ भएको बस दुर्घटनामा परी दश जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

कमलनगर गाउँपालिकास्थित सीतापुरी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ७८१५ नम्बरको बस तीब्र गतिका कारण सडकै पल्टँदा दश जना घाइते भएका हुन्। तीब्र गतिमा रहेको सो बसले विपरीत दिशाबाट आउँदै गरेको मे ३ प ५३९१ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए।

दुर्घटनामा परी दमक नगरपालिका– २ का ३० वर्षे नीता विष्ट, र २३ वर्षे लक्ष्मी पोखरेल तथा दमक– ९ का ४१ वर्षे अनन्त खनालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूको दमकमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको छ। अन्य सात जनाको भने दमकका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस र चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर आवश्यक छानविन गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.