|

ओखलढुंगा : खोटाङको एक सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि चार घर र एउटा बाख्रा फार्म जलेर नष्ट भएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कको सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा बाख्रा फर्म र घर जलेर नष्ट भएको हो।

डढेलो गाउँमा पस्दा बसेरीका तेजविनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेर नष्ट भएको छ। स्थानीय जुरेथुम्का र साँघुरी सामुदायिक वनमा लागेको डढेलो हावाहुरीसँगै गाउँमा पसेपछि उनीहरूको घर जलेर नष्ट भएको हो।

सामुदायिक वनमा लागेको डढेलो अनियन्त्रित भई गाउँ पस्दा सहकारी संस्थाबाट एक लाख ७० हजार रुपैयाँ अनुदान लिएर भुजेलले बनाएको फार्म जलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

डढेलो नियन्त्रणका लागि दिक्तेलबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली डढेलो प्रभावित क्षेत्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए।

साँझपख घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयवासीले अहिले पनि डढेलो निभाउने प्रयास गरिरहेको उनको भनाई छ। आगोबाट घर जोगाउन छानामा पानी छ्याप्ने क्रममा लडेर स्थानीय मोहन विश्वकर्मा घाइतेसमेत भएको र उनलाई उपचारको लागि हेलिकप्टरमार्फत काठमाण्डौं पठाइएको प्रमुख जिल्ल अधिकारी शर्माले बताए। विश्वकर्माको देब्रे हात र ढाड भाँचिएको बताइएको छ।

डढेलोले तीन घर जलेको जानकारी आए पनि क्षतिको विस्तृत विवरण आउन बाँकी छ। हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी तिरबाट तीन दिनअघि शुरू भएको डढेलो विजयखर्कको साँघुरी सामुदायिक वन हुँदै अन्य वनमा प्रवेश गरेको बताइएको छ।

डढेलो निभाउन चम्पावती माविका कक्षा ९ र १० का छात्रछात्रा र शिक्षकसमेत खटिएका स्थानीयवासी किसन भुजेलले जानकारी दिए।  डढेलोबाट घर जोगाउन कतिपय स्थानीय बासिन्दाले आ–आफ्नो घरको छानामा पानी छ्यापेर बसिरहेका छन्।

डढेलोले जुरेथुम्का सामुदायिक वनको पूर्व र पश्चिम मोहडा, साँघुरी सामुदायिक वन र भुन्टेम्मा सामुदायिक वनको अधिकांश भाग जलिसकेको स्थानीय बासिन्दाले बताएका छन्। सामुदायिक वनमा डढेलो लाग्नुको कारण पत्ता लागेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.