|

रुकुम (पूर्व) : सिस्ने गाउँपालिका–८ तिङताराका १२ वर्षीय शेरबहादुर पुन दैनिक सानीभेरी नदीमा भेटिन्छन्। हातमा जाल र लठ्ठी तथा कम्मरमा ढडिया बोकेका पुनको दैनिकी सानीभेरी नदीमै बित्छ। उमेरमा सानो भए पनि उनीमाथि ठूलो जिम्मेवारी छ।

दिनभर माछा मारेर उनी परिवारको गुजाराका लागि केही सहयोग गर्छन्। उनले यसरी माछा मार्न थालेको २ वर्ष भइसकेको छ। १० वर्षको उमेरदेखि नै उनी नदीमा जाने र जाल हानेर माछा मार्ने काम गर्छन्। अब त उनी माछा मार्न निपुण पनि भइसकेका छन्। सुरु सुरुमा दाइसँग माछा मार्न जाने उनी अहिले भने एक्लै जान्छन्।

दाइ रोजगारीका लागि भारततिर हानिएपछि उनी एक्लिएका हुन्। ‘उनी भन्छन्, ‘अब त माछा मार्ने काम मेरा लागि सजिलो भइसकेको छ।’ बिहानै निस्किएका उनी दिनभर माछा मार्नमै व्यस्त हुन्छन्। बिहानै घरबाट निस्किने र दिनभर नदीमै माछा मारेर बिताउने उनको दैनिकी हो। जाडो होस् वा गर्मीयाम उनी नदीमै भेटिन्छन्। ‘कहिले धेरै भेटिन्छन्, कहिले थोरै माछा लाग्छन्, कहिले त रित्तै पनि फर्किनुपर्छ’ उनले हाँस्दै भने।

माछा बिक्री गरेर आएको पैसा उनी घरमा दिन्छन्। यसले उनको परिवारलाई थोरै भए पनि घर खर्च चलाउन सहयोग पुगेको छ। उनका बुबा मनबहादुर पनि माछा मार्ने काम गर्छन्। आर्थिक अवस्था कमजोर रहेको र रोजगारीको कुनै माध्यम नहुँदा पुन परिवारलाई गुजारा गर्न मुस्किल छ।

आर्थिक समस्यका कारण विद्यालय जादैनन्

शेरबहादुर विद्यालय जाँदैनन्। उनी सानैबाट विद्यालय जान पाएका छैनन्। आर्थिक अभावका कारण छोरालाई विद्यालय पठाउन नसकिएको बुवा मनबहादुर बताउछन्। ‘एउटा छोरो रोजगारीका लागि भारतमा छ, अर्को छोरा गाउँतिरै ज्याला मजदुरी गर्छ, यो कान्छो छोरालाई पनि विद्यालय पठाउन सकेको छैन’ उनले भने, ‘घर व्यवहार चलाउने पैसा छैन कसरी विद्यालय पठाउनु।’ कुनै छोरालाई पनि पढाउन नसकेको उनको भनाइ छ। ‘सानै छ तर यो कान्छो छोराले पनि घर खर्च चलाउन सघाइरहेको छ।’

मनबहादुरको ५ जनाको परिवार छ। श्रीमान, श्रीमती र ३ छोरा गरी ५ जनाको परिवारमा शेरबहादुर कान्छो छोरा हुन्। विद्यालय जाने रहर त शेरबहादुरमा छ। तर, घरको अवस्थाले त्यो नधान्ने शेरबहादुर बताउँछन्। ‘पढ्ने त रहर हो तर के गर्नु घरमा पैसा छैन्, उनी भन्छन्, घरका सबैले दिनभर काम नगरी साँझ बिहान खान पुग्दैन, कसरी स्कुल जानु?’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.