|

काठमाडौं : 'भृकुटी तारा उदाइन् उत्तर चीन तिब्बत', यो कवितांशले प्रत्येक नेपालीलाई गौरवान्वित बनाउँछ। लिच्छवीकालकी नेपाली राजकुमारी एवं विभूति भृकुटीले नेपाली कला संस्कृति तिब्बतमा फैलाएको भनेर इतिहासका पानामा उल्लेख छ। नेपालको प्रचारप्रसार गरेको भनेर नेपाली भृकुटीप्रति गौरवान्वित छन्। कला संस्कृतिको धनी बुद्ध जन्मेको देशकी राजकुमारीले बुद्धको सन्देश बोकेर तिब्बत गएको र गौरवपूर्वक नेपालको नाम उत्तर चीन तिब्बतमा चम्काएको इतिहासमा पढाइए पनि भृकुटीको कसरी तिब्बती राजा स्रङचङ गम्पोसँग विवाह भयो भन्ने चासोको कुरा हो।

इतिहासमा देश र समाजका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तित्वहरूको भूमिकाबारे जान्न उनीहरूका बारेमा लेखिएका खोजमूलक जीवनी महत्त्वपूर्ण हुन्छन् तर, पूर्ण भने होइनन्। अध्ययन, अनुमानमा लेखिने जीवनीमा पूर्ण सत्य भने आउँदैन। भृकुटी जस्ता वर्षौं पहिलेका व्यक्तिका जीवन जान्नका लागि उनीहरूबारे लेखिएका जीवनीले मात्रै पूर्ण हुँदैन। कारण, त्यतिबेला नेपाल जस्ता देशमा शिक्षा सीमित व्यक्तिमा थियो र व्यक्तिका कर्मको लेखन गर्ने परम्परा बसिसकेको थिएन। भृकुटीले तिब्बतमा गरेको कला संस्कृतिको प्रचार त्यहाँ अहिले पनि जीवित कला संस्कृतिका धरोहर नै हुन्, जसका आधारमा उनले कसरी नेपालको प्रचार प्रसार गरेकी थिइन् भन्ने अनुमान लगाएर लेखिने गरिन्छ।

इतिहासले पूर्ण रूपमा व्याख्या गर्न नसकेको कुरा बाहिर ल्याउन साहित्यको सहारा लिनुपर्ने हुन्छ। साहित्यको सहजता भनेको कुनै पनि वास्तविकतामा काल्पनिकता थप्ने छुट हो, जसले बाहिर नआएका कुरालाई कल्पनाका माध्यमबाट जीवनका अवयवको खोज गर्दछ। यस्तै साहित्यले पाउने छुटमार्फत बाहिर ल्याउन खोजिएको एक जीवन हो, सरुभक्तको लेखन र पवित्रा खड्काको निर्देशन रहेको शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक- भृकुटी।

बेहुलाविनाको भृकुटीको विवाह

नेपाली राजाको कलात्मक दरबार, जहाँ चञ्चले उमेरकी राजकुमारी भृकुटी सेविकाहरूसँग खेलिरहेकी हुन्छिन्। त्यति नै बेला उनलाई लिन तिब्बतका राजा स्रङचङ गम्पोले दुई दूत नेपाल पठाएको उनको कानमा पर्छ। यसले भृकुटीका चञ्चलता सबै फक्रिन नपाउँदै ओइलाएर जान्छन्। नाटकले अगाडिको बाटो तय गर्छ।

भृकुटी के गर्ने भन्ने दोधारमा पर्छिन्। राजा र रानीले पनि हुर्कँदै गरेकी छोरीलाई हिमालपारिको देश तिब्बत पठाउनेबारे चिन्तित हुन्छन्। राजालाई झन् चिन्ताको अवस्था आइलागेको हुन्छ। उनलाई दुई विकल्प दिएका छन् तिब्बतका राजाका दूतले- कि छोरी पठाउने कि त तिब्बतका सेनाको सामना गर्ने। राजाले तिब्बतको कला संस्कृति र सभ्यता आफ्नो राज्यको भन्दा कमजोर रहेकोले त्यस्तो अवस्था सुधारे छोरी दिने भन्दै राजाले दूतहरूलाई भन्छन्, जसमा दूतले सकरात्मक जवाफ दिन्छन्। राजा छोरी अन्माउन विवश हुन्छन्। राजाको विवशता रानीको यो कुराले प्रष्ट पार्छ, 'हामी महिला मात्रै विवश हौं लागेको थियो, अब थाहा भयो यो राज्यका राजा पनि विवश रहेछन् भन्ने!'

राजाले बेहुलाविना छोरी भृकुटीलाई अन्माइदिन्छन्। अथवा, भृकुटीलाई तिब्बतका राजा स्रङचङ गम्पोसँग विवाह गर्न उनका दूतका साथमा लगाइन्छ। नेपाल र तिब्बतको सम्बन्ध सुधार गर्नलाई नेपालका राजाले आफ्नी छोरीलाई तिब्बतकी रानी बनाउन पठाएको भने पनि सम्भावित युद्धको डरले छोरीलाई तिब्बतका राजाकहाँ टक्र्याएको भन्ने कुरा नाटकले उजागर गरेको छ।  

भृकुटीको खानामा विष

विवाह गरेर तिब्बत पुगेकी भृकुटीले दाइजोको रूपमा नेपालबाट कालिगढ लैजान्छिन्। उनले नेपालको बौद्ध धर्मको प्रचार गर्छिन्, जसको संकेत नाटकमा गौतम बुद्धका पेन्टिङमार्फत गरिन्छ। उनले त्यहाँ रातो दरबार निर्माण गर्न लगाउँछिन्, जुन अहिले 'पोताला दरबार' भनेर परिचित छ। त्यसका अलावा मन्दिर, गुम्बा र कलात्मक दरबार निर्माण गर्न लगाउँछिन्। भृकुटीको कामले राजा खुसी हुन्छन् तर, त्यसको प्रभाव जनतामा कस्तो पर्‍यो भन्ने कुरा पनि नाटकले देखाएको छ।

दुई जना भान्सेले भृकुटीको खानामा विष मिसाउँछन्। भृकुटीले तिब्बतको स्थानीय कला, धर्म, संस्कृति मासेको भन्दै असन्तुष्टि रहेकोले उनलाई मार्नका लागि खानामा विष हालेर मार्ने कोसिस हुन्छ। एक भान्से भन्छ, 'रानीले हाम्रो सभ्यता र संस्कृति सबै नास गरिदिनुभयो। त्यसैले यहाँका मान्छे रिसाएका छन्। उनीहरूले नै खानामा विष मिसाएका हुन्।' यसले तिब्बतीहरूमा भृकुटीप्रतिको धारणा समान थिएन भन्ने उल्लेख गरेको छ।

भृकुटीको विवाहका राजनीतिक दाउपेच

तिब्बतका राजा गम्पो र नेपालका राजाका लागि भृकुटी राजनीतिक गोटी हुन्छिन्। तिब्बतका राजाको प्रस्ताव अस्वीकार गरे उसका सेनाले आफूमाथि हमला गर्ने नेपाली राजालाई भय हुन्छ। दरबारका विभिन्न व्यक्ति, रानी, राजकुमारी भृकुटीकी धाइआमादेखि लिएर सेविकासम्मले हिउँको देश र तिब्बतीहरूको देश नपठाउने भन्ने कुराका बाबजुद राजा छोरीलाई दूतका साथमा पठाउन बाध्य हुन्छन्।

उता तिब्बती राजा गम्पोलाई भृकुटी जस्ती सुन्दरीसँग बिबाह गरेर आफ्नो उत्तराधिकारी जन्माउने लोभ हुन्छ। गम्पो भन्छन्, 'मैले तिमीलाई सपनामा देखेको थिएँ अनि तिमीबाट एक सुन्दर राजकुमार जन्माउने धोको थियो, त्यसैले तिमीलाई लिन दूत पठाएको।' त्यस्तै गम्पोले भृकुटीलाई मात्रै पत्नी बनउँदैनन्। उनले चीन राज्यलाई जितेर त्यहाँकी राजकुमारीलाई भृकुटीमाथि सौता हाल्छन्, जबकि भृकुटीबाट राजकुमारको जन्म भइसकेको हुन्छ। नाटकले भृकुटीले खेपेका सौताका दु:खका दृश्य पनि देखाएको छ।

नाटकमा भृकुटीका अलावा त्यतिबेलाका महिलाहरू पुरुषले जसरी चाहन्छन् त्यसरी चल्नुपर्ने बाध्यतामा छन् भन्ने देखाइएको छ। यसमा रानी, भृकुटी, चीनकी राजकुमारीलगायत सबैको हाल उस्तै छ।

भृकुटीका बाबुबारे अन्योल

'भृकुटी' नाटकमा भृकुटीका बाबुका रूपमा उदयदेवलाई प्रस्तुत गरिएको छ, जबकि भृकुटीबारेका जीवनी र परिचयात्मक लेखमा उनका बाबुका रूपमा अंशुवर्मालाई प्रस्तुत गरिएको छ। नेपाल सरकारले प्रकाशन गरेका पाठ्यपुस्तक र विभूति परिचयमा पनि भृकुटीका बाबुका रूपमा अंशुवर्माकै नाम छ।

सरुभक्तले लेखेको नाटकमा भने भृकुटीका बाबु भनेर राजा उदयदेवलाई मञ्चमा उतारिएको छ। यसले अंशुवर्माकी छोरी भृकुटी भनेर पढेका दर्शकलाई भने यस नाटकले अन्योल बनाउन सक्छ।

नाटकका सबलता र दुर्बलता

नायक पात्र महिला रहेको 'भृकुटी'मा कलाकारहरूको जीवन्त अभिनय रहेको छ। तत्कालीन समाज र हिमाली परिवेश मञ्चमा उतारिएको छ। भृकुटी र गम्पोको प्रेमालापलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ। गुलाबी प्रकाशमार्फत प्रेमलाई देखाइएको छ, जुन नाटकको सबल पक्ष हो। नाटकमा प्रकाश, कुहिरो र हिमाल देखाउने पेन्टिङले वस्तुस्थितिलाई मञ्चमा ल्याइएको छ। चौँरी र भेडाका घण्टा बजाउँदै हिमाल चढेको देखाएर हिमाली दैनिकी देखाइएको छ। चीनकी राजकुमारीले खुकुरी नचाउने र उनको पहिरनले त्यहाँको चीनलाई देखाएको छ। तिब्बतको भेषलाई कलाकारले राम्रोसँग देखाएका छन्। यसरी नेपाल, चीन र तिब्बतको वेशभूषालाई एउटै मञ्चमा प्रस्तुत गरिएको छ।

कला संस्कृतिको धनी भनिएको तत्कालीन नेपाली दरबार स्टेजमा भने भनिएजस्तो भव्य लाग्दैन। राजाको सिंहासन र भृकुटीको बिस्तारालाई सामान्य रूपमा प्रस्तुत गरिएको छ। राजाको दरबारलाई भव्य रूपमा मञ्चमा प्रस्तुत गर्ने ठाउँ रहेको छ। त्यस्तै नाटकलाई राम्रो बनाउन नाटकको कथा भन्ने माध्यम प्रकाशमा खेल्ने ठाउँ रहेको छ।

नेपाल र तिब्बतका राजपरिवारबारे बनेको नाटकका कलाकारको बोलीमा रवाफ राजसी लाग्दैन। कोही कोही रुन्चे नै लाग्छन्। त्यस्तै सेविकाका रूपमा पुरुष कलाकारलाई महिलाका पहिरनमा अभिनय गरिएको छ, जसको सार्थकता नाटकमा देखिँदैन।

अन्तमा

'भृकुटी'ले इतिहासमा देशका लागि महत्त्वपूर्ण काम गरेका व्यक्तित्वको जीवनबारे साहित्यिक कृति लेखन र मञ्चनको माग गरेको छ। भृकुटी जस्ता विभूतिको वास्तविक जीवन कस्तो थियो भन्ने कुरा इतिहास भन्दा पनि साहित्यिक कृतिबाट बाहिर ल्याउन सहज बन्छ भन्ने यो नाटकले देखाएको छ। राष्ट्रिय गौरव खडा गर्न विभिन्न ऐतिहासिक व्यक्तिका जिवनीमार्फत सफलताका कथा मात्र पढाइने गरिएको परिवेशमा यस्ता नाटकले उनीहरूको लुकाइएको सम्भावित वास्तविकताको पाटो बाहिर ल्याइएको छ।

'भृकुटी'ले परापूर्व कालमा नेपाली कला, संस्कृति, वेशभूषा र बौद्ध धर्म तिब्बतमा फैलाउने नेपाली राजकुमारी एवं विभूति भृकुटीको विवाह र जीवनको सम्भावित वास्तविकता बुझाउने कृति बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.