|

दमक : झापाको राजनीतिक वृत्तमा परिचित नाम हो, पूर्णानन्द शर्मा। नेपाली कांग्रेसका विभिन्न तहमा बसेर छ दशक लामो समयदेखि झापाको राजनाीतिमा सक्रिय छन् शर्मा। देशमा प्रजातन्त्रको स्थापनामा उनको पनि अहं भूमिका छ। तर अहिले शर्मा राजनीतिबाट निकै टाढा छन्।

समाज परिवर्तन गर्नका लागि उनले २०१२ सालमा नेपाली कांग्रेसको पार्टी सदस्यता लिएर नेपाली राजनीतिमा होमिएका हुन्। प्रजातन्त्र स्थापनका लागि उनले पटक पटक गरी साढे चार वर्ष जेल जीवन बिताउनुपरेको थियो। कमल गाउँपालिका– ५ (साविक लखनपुर– १) मा बसोवास गर्ने शर्मा ‘पीएन सर’को नामले परिचित छन्। उनले लामो समयसम्म समाज परिर्वतनको नेतृत्व गरेका छन्। शिक्षा क्षेत्रमा समेत उनी सक्रिय छन्। 

पूर्वी पहाडी जिल्ला तेह्रथुमको संक्रान्तिमा जन्मिएका शर्माले त्यहाँका विभिन्न विद्यालयको स्थापना गर्नुका साथै तत्कालीन समयमा शिक्षाको ज्योति छरेका थिए। भारतको दार्जिलिङमा शिक्षा लिएका शर्माले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातक गरेका छन्। २०१७ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापनापछि उनी दोस्रो व्याचका विद्यार्थी हुन्। उनले दार्जिलिङमाको पुष्परानी मेमोरियल हाई स्कुलबाट म्याट्रिक पास गरेका हुन्। 

२००७ सालमा म्याट्रिक पास गरेपश्चात उनी शिक्षण पेशामा संलग्न भए। दार्जिलिङदेखि म्याट्रिक सकेर आफ्नो घर आएको समयमा शिक्षण पेशा सुरु गर्न थालेको बताउँछन्। ‘मैले २००८ सालपछि शिक्षण पेशा थालेको हुँ’, शर्मा भन्छन्, ‘हामीले शिक्षण गर्दा अहिले जस्तो कापी, कलम थिएन, धुलोमा सिन्काले लेखेर सिक्नुपथ्र्यो।’ तेह्रथुमकै ओयाग्जुङ भन्ने ठाउँमा स्थानीयले मिलेर, हिउँदको समयमा पढ्नका लागि विद्यालय सुरु गरेका रहेछन्, त्यहाँ अंग्रेजी पढाउने शिक्षक चाहिएको रहेछ। त्यतिबेला म्याट्रिक पास गरेको पाउन धेरै मुस्किल पर्थ्यो। त्यहाँ उनले अंग्रेजी पढाए। 

आफूले नचाहँदा नचाहँदै बाध्यताले पढाउनुपरेको उनी बताउँछन्। उनी भन्छन्, ‘त्यति बेला शिक्षक पाउन धेरै मुस्किल थियो। त्यस बेलाको जमानामा सबैभन्दा धेरै ४० रूपैयाँ महिनाको दिएर मलाई पढाउन लगाइयो, जतिबेला एउटा प्रहरीको जवानले १५ रूपैयाँ मात्र कमाउँथ्यो।’ 

उनी शारीरिक रूपले अशक्त छन् अहिले। तर बौद्धिक रूपले शारीरिक रूपमा सक्षम भन्दा कम छैनन्। उनको दायाँ खुट्टा चल्दैन। हिँडडुल गर्न उनले बैसाखीको सहरा लिनुपर्छ। शर्मा भन्छन्, ‘म लगभग दुई वर्षको हुन लाग्दा मलाई केही दिन असाध्यै ज्वरो आएछ, पहाडको जडिबुटी खुवाउँदा ज्वरो भाग्यो, तर दाहिने खुट्टा लुलो भएर टेकिएन। त्यतिबेला अहिले जस्तो डाक्टर औषधि, अस्पताल केही थिएन।’

उनले नेपाली कांग्रेसको पार्टी सदस्यता २०१२ सालमा लिएका हुन्। ‘२०१२ साल मंसिरमा पाँचथरबाट प्रेमराज आङ्देम्बे म बसेको घरमा आए’, भन्छन्, ‘उनी त्यतिबेला कांग्रेसका केन्द्रीय सदस्य थिए। संगठन बिस्तारका क्रममा आएका रहेछन् र मैले त्यही समयदेखि पार्टीको सदस्यता लिएको हुँ।’

नेपाली कांग्रेसप्रति विद्यार्थीकालदेखि नै झुकाव भएको उनी बताउँछन्। भन्छन्, ‘दार्जिलिङ पढ्दा एक जना नेपाली सर हुनुहुन्थ्यो, महानन्द सापकोटा, उहाँले हामी नेपालीलाई बोलाएर वीपी कोइराला र कांग्रेसका बारेमा जानकारी दिनुहुन्थ्यो, त्यहीँदेखि मलाई कांग्रेसमा आकर्षण बढेको हो।’

कांग्रेसमा प्रवेश गरिसकेपश्चात उनी विभिन्न आन्दोलनमा सहभागी भए। त्यस समयमा तत्कालीन पार्टी सभापति वीपी कोइरालासँग पनि राम्रै सम्बन्ध बन्न पुग्यो उनको। पार्टीको आन्दोलनमा सक्रिय भएपश्चात धेरै पटक जेल गए शर्मा। उनी पहिलो पटक २०१८ सालमा गिरफ्रातर भएको बताउँछन्। भन्छन्, ‘२०१७ साल पुस १ गते राजाले पजातन्त्र समाप्त गरेर वीपी कोइरालालगायत सम्पूर्ण नेतालाई थुनेको समाचार सुन्यौँ, त्यसपछि जिल्लामा रहेका कार्यकर्ताहरूलाई समेत पक्रने समाचार आउन थाल्यो।’

सँगैका साथीले झुक्याए 

कांग्रेसका जिल्ला कार्यकर्ता पक्रने समाचार आएपछि आफूहरू सतर्क भएको उनले बताए। त्यतिबेला डर लुकाउन ठाउँ नभएर भाग्न थालेको उनी सम्झन्छन्। भाग्ने क्रममा आफ्नै साथीले झुक्याएको उनले बताए। उनी भन्छन्, ‘२०१७ साल पुसमा हामी भाग्दै तेह्रथुम छातेढुंगा देवीप्रसाद उप्रेतीले बनाएको घरमा पुग्यौँ। त्यो सुरक्षित घर थियो। त्यहाँ म, वल्भमणि दहाल, काजीमान कन्दङ्वा, देवीप्रसाद काफ्ले, रामप्रसाद प्रसाईं र मदन थापा थियौँ।’

त्यहाँ बस्दा साँझ राजा महेन्द्रले आफ्नै अध्यक्षतामा मन्त्री मण्डल गठन गरेर उपप्रधानमन्त्री काजीमान लिम्बुलाई बनाए भनेर रेडियोमा समाचार सुनेपछि साथीलाई बधाई दिएछन् तर उनले ‘म होइन, म त कन्दङ्वा लेख्छु, अर्कै लिम्बु होला’ भनेछन्। तर राती नै के खबर पाए काजीमानले, उनी त हिँडिसकेछन्।

त्यसपछि आफूहरू पक्राउ पर्ने डरे भागेको बताउँछन् शर्मा। भाग्दै पटना पुगेको उनले बताए। वीपी कोइरालालगायत नेतालाई थुनामा राखेपछि बैठकका लागि पटनामा सुवर्णशमशेरले बोलाएको पत्रपत्रिकामा सूचना आएको उनी बताउँछन्। ‘म पनि पार्टीको एक सच्चा कार्यकर्ता भएकोले त्यो सम्मेलनमा गएँ, मैले पनि त्यहाँ बोलेँ, त्यहाँको पत्रिका ‘दि सर्चलाइट’ भन्नेले मेरो फोटोसहित समाचार छापेको रहेछ’, उनी भन्छन्, ‘त्यसपछि झन् म टार्गेटमा परेँ।’ 

नेपाल आउँदा कहिले बिरामी त कहिले लुकेर हिँड्नुपरेको उनी बताउँछन्। ‘म त्यसपछि भूमिगत भएँ, बच्नलाई केके गर्नु परेन?’, शर्मा विगत सम्झँदै भन्छन्, ‘मकैको खोसेलो रहेको डोकोभित्र बसँे, कहिले बिरामी हो भनेर डोलीमा चढेँ, यसरी नै लुकिदै थियो, तर पछि गिरफ्तार भइयो।’ 

शारीरिक रूपले अशक्त भएका कारण सुगम ठाउँको खोजी गर्दै २०२८ सालमा झापाको लखनपुर बसाइँ सरी आएका हुन् शर्मा। झापा आएर पनि उनी सामाजिक कार्यमा लागि परे। दमक बहुमुखी क्याम्पस स्थापना गर्नुपर्छ भन्ने उनकै सोचअनुसार स्थापना भएको हो। यस्तै उनले २०४५ सालताका दमकमा सिदार्थ अंग्रेजी स्कुल पनि स्थापना गरे। उनले दमकमा काँटी उद्योग पनि स्थापना गरेका थिए। तर तत्कालीन निर्दलीय पञ्चायती व्यवस्थाका कारण उनले कहिले पनि ती काममा आफ्नो स्वामित्व लिन पाएनन्। भन्छन्, ‘तत्कालीन व्यवस्थाका कारण मैले केहीको पनि स्वामित्व ग्रहण गर्न पाइनँ। हामीसँग अरू बोलेको थाहा पाउँदासमेत उनीहरूलाई त्यो राज्य सत्ताले दुख दिन्थ्यो।’ अहिले पनि उनी शिक्षा क्षेत्रमा सक्रिय छन्। स्थानीय मंगलमय माविका अध्यक्षसमेत हुन् उनी।

समाजमा धेरै परिवर्तन आयो

पछिल्लो समय समाजमा धेरै परिवर्तन आएको उनी बताउँछन्। जातीय छुवाछुत पनि क्रमशः अन्त्य हँुदै आएको उनको बुझाइ छ। ‘पहिला मैले पढाउन सुरु गर्दा दलित विद्यार्थी सँगै बसेर पढ्न पाउँदैन थिए। मैले पढाउन सुरु गरेको दिन तीन जना युवा बाहिर बसेर सुने, मैले भित्र बोलाएँ तर आउन मानेनन्’, शर्मा भन्छन्, ‘उनीहरू दलित रहेछन्, मैले कर गरेर बोलाएँ तर भित्र रहेका बाहुन विद्यार्थीहरू बाहिरिए, तर अहिले त्यस्तो छैन्।’ 

कहिले काहीँ आफूहरूले गरेको आन्दोलनले यतिसम्म परिवर्तन भयो भनेर खुसी लाग्ने उनले बताए। उनी भन्छन्, ‘कहिले काहीँ त यो आन्दोलनमा होमिएर केही पाइनँ, त्यती बेलाको जमानामा यत्रो पढेको, जागिर गरेको भए पैसा त कमाउँथे जस्तो लाग्छ, तर कहिले फेरि यत्रो परिर्वतन हामीले गर्दा आएको हो भन्दै चित्त बुझाउँछु ।’ 

पार्टीमा अहिले निष्क्रिय

शर्मा २०३८ सालमा नेपाली कांग्रेसको झापा जिल्ला सभापतिसमेत भइसकेका हुन्। उनले लामो समयदेखि नेपाली कांग्रेसको राजनीति गर्दै आएका शर्माले २०५२ सालको चुनावमा पार्टीको तर्फबाट झापा क्षेत्र नम्बर– ६ मा चुनाव लडे, तर पराजय व्यहोरे। सोही क्षेत्रबाट एमालेका केपी शर्मा ओली विजयी भए। तर पछिल्लो समय उनी पार्टी राजनीतिबाट टाढा छन्। उनी पार्टीको राजनीतिमा निष्क्रिय रहेका छन्। उनी पार्टीको १२औँ महाधिवेशनपछि निष्क्रिय रहेका हुन्। 

सबै पार्टीको लक्ष्य सत्ताप्राप्ति मात्र भएको भन्दै आफू पार्टीमा निष्क्रिय बसेको उनी बताउँछन्। ‘समाज परिवर्तनका लागि जीवनको ऊर्जाशील समय यहीँ बिताइयो तर सबै पार्टीको लक्ष्य सत्ताप्राप्ति रहेछ, आफ्नो एजेण्डा स्थापित गर्ने त सबैको देखाउने दाँत मात्र रहेछ’, शर्मा भन्छन्, ‘त्यसैले म निष्क्रिय बसेको हुँ।’

पार्टी गुटगत राजनीतिमा झन रुमलिएको भन्दै आफूले पार्टीको साधारण सदस्यबाहेक कुनै पदमा नबस्ने निष्कर्ष निकालेको उनले बताए। ‘पार्टी पटक पटक सरकारमा पुग्दा पनि जनताको भावनाअनुसार काम गर्न सकेन’, उनको आरोप छ। उनले केही साताअघि मात्र आफ्नो व्यक्तिगत भोगाइ, जेल जीवन, पछिल्लो राजनीतिक अवस्था समेटेर ‘त्यागको परिणाम’ नामक पुस्तक प्रकाशन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.