|

जनकपुरधाम : प्रदेश २ सरकारले कोरोना संक्रमितको उपचारमा अक्सिजनको भाव हुन नदिन एक मन्त्रीको संयोजकत्वमा अक्सिजन अनुगमन व्यवस्थापन समिति गठन गरेको छ।

मंगलबार सम्पन्न प्रादेशिक कोभिड संकट व्यवस्थापन समितिको बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा समिति गठन गरेको हो।

पछिल्लो समयमा प्रदेश भित्र रहेका अक्सिजन प्लान्टहरुबाट ग्यास अन्यत्र पठाउँदा प्रदेशमा अक्सिजनको भाव देखिएकोले उक्त समस्या समाधान गर्न मन्त्री यादवको अध्यक्षतामा सुरक्षा निकायका प्रमुखहरु रहने गरी समिति गठन गर्ने निर्णय भएको हो।

उक्त समितिले प्रदेश भित्रका अक्सिजन उद्योगहरुबाट दैनिक उत्पादन हुने संख्या र वितरण प्रणालीको अनुगमन गर्नेछ। त्यसैगरी बैठकले कोरोना संक्रमितको उपचार भइरहेका प्रदेश भित्रका सरकारी तथा निजी अस्पतालहरुको अनुगमनका लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा विज्ञ समूह समेत गठन गरेको छ।

उक्त समूहले प्रदेश भित्रका अस्पतालहरुको अनुगमन निरीक्षण गर्नुका साथै अस्पतालहरुलाई दिनुपर्ने सुविधाका सम्बन्धमा प्रदेश सरकारलाई सुझाव दिने छ।

आवश्यकता अनुसार निजी अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचारको व्यवस्था मिलाउनका लागि आइएमओ गर्न प्रदेश सरकारमा सिफारिस गर्ने क्षेत्राधिकार समूहलाई दिइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.