|

 गुल्मी : आर्थिक समस्याका उपचार गर्न नसकेपछि गुल्मीमा एक व्यक्ति मृत्युलाई कुर्दै बसेका छन्। जिल्लाको चन्द्रकोट गाउँपालिका–८, तुराङ गाउँका २९ वर्षीय मेघबहादुर कुमाल आजभन्दा १३ वर्ष अघि भारतको जोधपुरमा मोटर साइकलमा हिँडिरहेको बेला अज्ञात गाडीले हानेर गम्भीर घाइते भएका थिए।

उनलाई चन्दा उठाएर त्यहाँ भएका नेपालीहरुले घर पठाएका थिए। उनलाई घाइते बनाउने गाडी र व्यक्ति पत्ता लगाएर क्षतिपूर्ति र कारबाहीको पहल गर्ने कोही भएन। खुट्टा र ढाडमा गम्भीर चोट लागेर घर आएका उनलाई उनकी श्रीमती माया कुमालले उपचार गर्न सकिनन्।

पूरै घरवास बेचे पनि उपचार सम्भव नभएपछि उनी दिन प्रति दिन गल्दै गएका छन्। घाउ पाकेर गह्नाउन थालेके छ। ओछ्यानमै दिसा पिसाब गरेर लडिरहेका कुमालको उद्धारका लागि छिमेकी गाउँ वलिथुमका समाजसेवी लब्सन महतले सञ्चार माध्यमसँग आग्रह गरेका छन्।

तीन महिना पनि खान नपुग्ने जमिन भएका कुमाल परिवारमा बिहान बेलुकाको चुलो चलाउने उनकी श्रीमती माया कुमालको भरमा मात्र रहेको छ। तर, यता श्रीमानलाई दिसा पिसाब गराउने कि अर्काको मेलापात जाने? यस्तो समस्यामा परेपछि विस्तारामा लडेरै दिन काट्न बाध्य छन् उनी ।

गहभरि आँसु पार्दै मेघलाल भन्छन्, ‘म मरे पनि मेरो छोरा पढाइदिने मान्छे कोही भइदिए धन्य हुने थियो।’ श्रीमती माया भने श्रीमानलाई उपचार गरेर बँचाउन चाहन्छिन्। भक्कानो छाड्दै उनले भनिन्, ‘बरु मेरो मुटु बिक्री हुन्छ भने बिक्री गरी दिनुस्, म मेरो श्रीमानलाई मेरो आँखा अगाडि गुमाउन सक्दिनँ।’  घाउ पाक्ने चहर्‍याउने हुँदा मेघलाल रुँदै कराउँदै विस्तारामै दिन बिताइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.