|
तस्करहरुबाट बरामद गरिएको चिरान काठ तस्बिर : thahakhabar

इलाम : इलामको दक्षिणी क्षेत्र चुलाचुली गाउँपालिकाको चपेटीबाट ठूलो परिमाणमा सखुवाको चिरान काठ बरामद गरिएको छ।चुलाचुली क्षेत्रमा अवैध रुपमा काठ तस्करी भइरहेको सूचनाका आधारमा आइतबार राति ११ बजेको समयमा रतुवाको बगरबाट १३६.१० क्युफिट काठ र २८ वटा साइकल बरामद गरिएको सेक्टर वन अधिकृत रितेष भूषण बस्नेतले जानकारी दिए।

काठ तस्करहरुले अवैध रुपमा साइकलमा राखेर रतुवा खोलाको किनारै किनार झापातर्फ काठ लाने क्रममा वन रक्षकको टोलीले बरामद गरेको हो। बन्दोबस्तीका सामानसहित काठ तस्कर गर्न पुगेका तस्करहरु सशस्त्र वन रक्षकको टोली त्यहाँ पुगेपछि काठ र साइकल छोडेर भागेका थिए।

तस्करहरुले डाँडामा गएर टोलीमाथि ढुंगामुढा गर्दै आक्रमणको प्रयास गरेपछि सुरक्षाका लागि सात राउण्ड हवाई फायरसमेत गर्नुपरेको प्रमुख बस्नेतले बताए। तस्कर र वन रक्षकबीच करिब २ घण्टासम्म ढुंगा हानाहान भएको  बस्नेतले बताए। टोलीले थप सुरक्षाका लागि दमकको पाथीभरा गणबाट सशस्त्र प्रहरीलाई समेत बोलाएको थियो।

जंगलमै सिरक डस्नासहित सामाग्रीहरु लिएर राति काठ तस्कर गर्न पुगेका तस्करहरुलाई भने पक्राउ पर्न नसकिएको बस्नेतले बताए। बरामद गरिएको काठ अहिले दक्षिणी सेक्टर वन कार्यालय सुखानीमा राखिएको छ। चुलाचुली क्षेत्रबाट अत्याधिक रुपमा काठ तस्करी हुने गरेको छ।

सोही दिन नै झापाको दमकबाट समेत ट्रयाक्टरमा लोड गरेर राखेको काठ बरामद गरिएको थियो। यस क्षेत्रबाट काठ तस्करी गरी दमक पुर्‍याउन सहज भएका कारण तस्करहरुको मनोबल बढिरहेको बस्नेतले बताए।     

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.