|

काठमाडौं : प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा मंगलबार स्ववियु चुनाव भएको छ। बिहान ९ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजे सकिएको छ। ३ हजार ५ सय ८१ मतदाता रहेको क्याम्पसमा १ हजार २ सय ७६ मत खसेको छ।

फागुन १८ गतेका लागि तोकिएको स्ववियु चुनाव विद्यार्थी संगठनबीचको झडप, क्याम्पसमा भएको आगजनी, तालाबन्दी र तोडफोड लगायतका कारणले निर्धारित मितिमा हुन सकेको थिएन। त्यसपछि फागुन २३ गतेका लागि सारिएपनि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै चुनाव रोक्न आग्रह गरेपछि मतदान गर्न विद्यार्थी लाइन बसिसकेपछि रोकिएको थियो।

चुनाव स्थगित भएपछि अनेरास्ववियुका स्ववियु अध्यक्ष पदका उम्मेदवार तपेन्द्रबहादुर शाहीले सर्वोच्च अदालतमा आरआर क्याम्पसमा स्ववियु चुनाव गराइ पाउँ भनेर रिट दायर गरेका थिए। उक्त रिटमा चैत्र २ गते सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पहिल्यै मिति घोषणा भएको चुनाव रोक्नुको कारण नरहेको भन्दै चुनाव गराउन क्याम्पस प्रशासनलाई अन्तरिम आदेश दिएको थियो।

सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश अनुसार क्याम्पस प्रमुख निर्मला सुवालले चैत्र १२ गते सार्वजनिक सूचना जारी गर्दै मंगलबारका लागि निर्वाचन मिति घोषणा गरेकी थिइन्। जसअनुसार मंगलबार चुनाव भएको हो। 

भित्र मतदान बाहिर पेट्रोल बम 

मतदान गर्न भनेर मंगलबार बिहानैदेखि विद्यार्थीहरु लाइन लागेका थिए। अनेरास्ववियु, नेविसंघ र विभिन्न साना दलका विद्यार्थी संगठनको संयुक्त प्यानलका उम्मेदवार मत मागिरहेका थिए। क्याम्पस गेटबाहिर विद्यार्थी संगठनहरु चर्को नाराबाजी गरिरहेका थिए।

विद्यार्थी संगठनहरुबीचको विवाद र सम्भावित झडपको अवस्थालाई मध्यनजर गर्दै प्रदर्शनीमार्गमा सवारीसाधन आवतजावतमा पूर्णतः रोक लगाइएको थियो, ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। क्याम्पसभित्र पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

कडा सुरक्षा घेरामा मतदान भइरहेका बेला क्याम्पस बाहिर रहेको सडकमा भने प्रहरी र विद्यार्थीबीच पटकपटक झडप भएको थियो। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र प्रहरीबीच झडप भएको थियो। 

झडप रोकिएपछि प्रहरी र पत्रकारलाई लक्षित गरेर पेट्रोल बम प्रहार गरिएको थियो। जसमा प्रहरी नायव उपरीक्षक सन्तोष तामाङसहित ६ जना सामान्य घाइते भएका थिए। सोही क्रममा प्रहरीको लाठीप्रहारबाट अखिल (क्रान्तिकारी) का नेता नरेश रेग्मी घाइते भएका थिए।

अन्तिममा नेविसंघ चुनावमा, क्रान्तिकारी बहिस्कारमा

फागुन १८ गते जसरी पनि स्ववियु चुनाव हुनुपर्छ भनेर लागेको माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लागेको थियो। उसले चुनावमा सहभागी हुने विषयमा असन्तुष्ट रहेका विद्यार्थी संगठनलाई निर्वाचनमा ल्याउन लागेको थियो त्यसका बाबजुद निर्वाचन भएन।

जसमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले क्याम्पसमा भएको आगलागी र तोडफोडको छानबिन, फर्जी भर्ना खारेज र आफ्नो संगठनलाई उम्मेदवारी मनोनयन गर्न पाउनुपर्ने लगायतका माग राखेर तालाबन्दी गरेको थियो। जसका कारण १८ गतेको चुनाव २३ गते सर्‍यो। २३ गतेसम्मका लागि पनि नेविसंघले मनोनयन दर्ता गरेको थिएन।

यसपटक भने नेविसंघ चुनावमा सहभागी भयो। उसले आइतबार बेलुकी उत्तम साउदको नेतृत्वमा प्यानल मनोनयन गरेको थियो। सर्वोच्च अदालतले चुनाव गराउन दिएको फैसलालाई सम्मान गर्न चुनावमा गएको नेविसंघका केन्द्रीय सदस्य एवं आरआरका नेता शैलेन्द्र शर्माले बताए। 'हामी सर्वोच्च अदालतको फैसलाको सम्मान गर्नका लागि चुनावमा गएका हौं', उनले भने, 'हामीलाई मनोनयन दर्ता गर्न पनि दिइएकोले यसपाली चुनावमा सहभागिता जनाउन सहज भएको हो।'

मनोनयन दर्ता गरेको अखिल (क्रान्तिकारी) ले मंगलबार भएको चुनाव बहिहस्कार गर्‍यो। ध्रुवराज वाग्लेको नेतृत्वमा प्यानल दर्ता गरेको क्रान्तिकारीले चुनाव बहिस्कार गर्नुको कारण क्याम्पस प्रशासन र क्याम्पस प्रमुख निर्मला सुवाललाई लगाएको छ। क्याम्पस प्रशासनले एकलौटी रुपमा चुनाव गराएकोले बहिस्कार गरेको नेता नरेश रेग्मीले बताए। क्याम्पस प्रशासनले नियम विपरित चुनाव गराएको क्रान्तिकारीको आरोप छ। उनीहरुले आफूहरुलाई 'जिरो मत' दिन भन्दै नाराबाजी गरेका थिए। क्रान्तिकारीले हार स्वीकार गर्न नसकेर चुनाव बहिस्कारको बहाना गरेको अनेरास्ववियुका नेताहरुले आरोप लगाएका छन्।  

१२ सय ७६ मात्रै खस्यो मत

चार हजार भन्दा बढी विद्यार्थी रहेको यस क्याम्पसमा ३ हजार ५ सय ८१ मतदाता छन्। विद्यार्थी परिचय पत्र बनाउन नसकिएकोले केही विद्यार्थी मतदाता हुनबाट छुटे। मंगलबार भएको चुनावमा १ हजार २ सय ७६ मत खस्यो।

यति कम मत खस्नुको कारण सबै विद्यार्थी संगठन सक्रिय रुपमा चुनावमा सहभागी नहुनु, क्याम्पसमा चुनावलाई लिएर लामो समय झडप लगायतका कारण थोरै मत खसेको निर्वाचन समिति प्रमुख प्राध्यापक हरिप्रसाद पराजुललीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.