|

नवलपरासी : काठमाडौं र पश्चिम नवलपरासीमा कुटपिटबाट दुई जनाको मृत्यु् भएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा एक पुरुषको र पश्चिम नवलपरासीको बर्दघाट–१२ भटौलियाका ५५ वर्षीय क्षेदि गोसाईको कुटपिटबाट मृत्यु भएको हो।

प्रहरीका अनुसार गोकर्णेश्वरमा वडा नम्बर १ सुन्दरीजल घर भएका ४२ वर्षीय राजु परियारको बुधबार साँझ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। गोकर्णेश्‍वर नगरपालिका–८ बाग्मती करिडोर सडकमा खोटाङ घर बताउने २५ वर्षीय सुनील राईले कुटपिट गर्दा राजु गम्भीर घाइते भएका थिए।

प्रहरीले घाइतेलाई उपचारको लागि शंखरापुर अस्पताल नारायणटार पठाएकोमा उनको उपचारको क्रममा बुधबार नै मृत्यु भएको हो। कुटपिटमा संलग्न सुनीललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ मा कुटपिटबाट घाइते भएका गोसाईको बुटवलस्थित तिनाउ अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको बर्दघाट–१२ का अध्यक्ष मान बहादुर मल्लले जानकारी दिए।

जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार मंगलबार भटौलियाका ६० वर्षका विष्णु आचार्यसँग गोसाईको सामान्य बिवाद हुँदा आचार्यले लाठी प्रहार गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

गोसाईलाई चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पताल लगेर टाउकोमा सात वटा टाँका लगाइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि तिनाउ अस्पतालमा पठाइएको थियो। कुटपिट गर्ने आचार्यलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.