|

काठमाडौं : आरआर क्याम्पसमा भएको स्ववियु निर्वाचनको विषयलाई लिएर नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ। सर्वोच्च अदालतको फैसलाको अवहेलना गरेर आरआर क्याम्पस प्रशासन र स्ववियु निर्वाचन समितिले चुनाव गरेको अखिल क्रान्तिकारीको आरोप छ। क्रान्तिकारीले दायर गरेको रिटमा निर्वाचन खारेज गरेर नियमसंगत रुपमा निर्वाचन गराउन माग गरिएको छ।

आरआर क्याम्पसमा मंगलबार विवादबीच स्ववियु चुनाव भएको थियो। अनेरास्ववियु विजयी भएको यो निर्वाचन अखिल क्रान्तिकारीले बहिष्कार गरेको थियो। ' 'सर्वोच्च अदालतले जुन ठाउँमा चुनाव स्थगित भएको छ त्यहीँबाट प्रकृया अगाडि बढाउनु भनेर आदेश दिएको थियो। तर निर्वाचन समितिले त्यसको विपरित गएर चुनाव गराएकोले रिट दायर गरेका हौं', अखिल क्रान्तिकारीको तर्फबाट स्ववियु अध्यक्ष उम्मेदवार समेत रहेका ध्रुवराज वाग्लेले निर्वाचन बहिष्कार तथा अदालतमा मुद्दा दर्ता गर्नुको कारण खोल्दै भने,'फागुन २३ गते चुनाव स्थगित हुदा नेविसंघको मनोनयन थिएन। तर अहिले रातारात उम्मेदवारी दर्ता गरेर चुनाव गराइएको छ।'

उनले कार्यतालिका भन्दा बाहिर गएर चुनाव गराउने क्याम्पस प्रमुख निर्मला सुवाल, निर्वाचन समिति र नेविसंघका स्ववियु सभापति उम्मेदवार उत्तम साउदलाई प्रतिवादी बनाएर रिट हालेको बताए। ''विधि र प्रकृया भन्दा बाहिर गएर गरिएको चुनाव खारेज गर्दै पुरानै कार्यतालिका भित्र चुनाव गराइपाउँ भन्दै रिट हालेका हौं,' उनले भने। 

मुद्दाको पेशी बिहीबार १० बजे तोकिएको छ। मंगलबार भएको आरआर क्याम्पसको चुनावमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका तर्फबाट अध्यक्षका उम्मेदवार तपेन्द्रबहादुर शाहीको प्यानल निर्वाचित भएको थियो।

अखिल क्रान्तिकारीले बहिस्कार गरेको स्ववियु चुनावका क्रममा व्यापक प्रहरी परिचालनका बाबजुद झडप हुनुका साथै पेट्रोल बम प्रहार भएको थियो। ३ हजार ५ सय ८१ मतदाता रहेको आरआरमा १ हजार २ सय ७८ मत मात्रै खसेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.