‘रेडियोले चुनाव चुनाव भन्छ त हो गाँठे! होइन, साँच्चै चुनाव आउन लागेको हो त?’ अन्तरे काकाले चौतारीमा भने।
‘आउँछ हो, आउँछ। चुनाव त अब बाजा बजा’र आउँछ। डाँडाँकाँडा घन्काउँदै आउँछ। उहाँ ठूला नेताले गाउँमा चुनाव ला’नी भनेपछि चुनाव गाउँमा नआ’र सुख पाउँछ?’ नारदले भन्यो।
‘होइन त्यो चुनावले गाउँमा केके ल्याउँछ हँ?’ डाँडाघरे जेठा बाले प्रश्न गरे।
‘ल्याउँछ नि चुनावले गाउँमा। पर्चा ल्याउँछ, पम्पलेट ल्याउँछ, व्यानर ल्याउँछ। त्यति मात्र हो र! गाउँमा अब नेता पनि ल्याउँछ चुनावले। अनि नेतासँगै नेताको जिब्रोमा विपक्षीलाई गर्ने गाली पनि ल्याउँछ। यो गाउँमा ताली नसुनेको धेरै भो डाँडाघरे जेठा बा! नेताको भाषणले अब ताली पनि ल्याउँछ जेठा बा! यति भएपछि तपाईंलाई के चाहियो? अब चुनाव हेर्नुस्, दंग परेर बस्नुस्!’ नारदले भन्यो।
‘लु त गाँठे! धेरै कुरा पो ल्याउने र’च चुनावले त! तर ए नारद! यी पर्चा पम्पलेट, ताली, गाली मलाई के काम? हाम्रो लागि काम लाग्नेचाहिँ केही ल्याउँदैन भन्या?’ जेठा बाले पुनः प्रश्न गरे।
‘होइन ए जेठा बा! तपाईं दाँत फुक्लेको मान्छेलाई नेताको भाषण, पर्चा, पम्प्लेट, व्यानरभन्दा अरू के काम? फेरि अरू कुरा त यी गाउँलेको पचाउने क्षमता भए ल्याउन् नेताले। हेर्नुस् जेठा बा! तपाईं–हामी जस्तो हैसियत नभएका गाउँलेलाई त्योबाहेक अरू पच्दैन। जे पच्छ, त्यही हेर्ने हो, गर्ने हो, सुन्ने हो। तपाईं पनि जे पच्छ, त्यसैमा चित्त बुझाउनुस्। नत्र नपचेर शहरा’ मान्छेलाई जस्तै ग्याँस्टिक होला फेरि’, नारदले जेठा बाको जिज्ञासा मेटाउने कोसिस गर्यो।
‘हैसियत? हैसियत त मसँग छ। जेठाबासँग नभ’र के भो?’ बेसीगाउँ सन्तेले दाबी पेश गर्यो। ‘हैसियत हाम्रा कति छन् भन्ने ती नेतालाई म देखाइदिन्छु। मेरा खल्तीमा छन् भोट। भोटका बिटा मेरो खल्तीमा भएपछि तिनले मेरो हैसियत थाहा पाउँछन्। हेर नारद! तिनलाई हराउने नि मेरा हैसियत छन्, तिनलाई जिताउने नि मेरा हैसियत छन्। तँ के फुइँ लाउँछस्? हामी पर्चा, पम्प्लेट, व्यानर र भाषणमा भुल्ने गाम्ले होइनम् बझिस्?’ चौतारीमा सन्तेले आफ्नो हैसियत पुराण सुनायो।
‘भाषणमा नभुले आसन र रासनमा त भुल्छस् नि सन्ते तँ। गत चुनावमा तँलाई एक बोतल खोयाबिर्के खुवाएर दिनभरि खोल्सामा लडाएर तेरो नाममा अरूले भोट हालेको बिर्सिस् कि के हो? चुनावभरि त त्यो नेताको पछिपछि हिँडिस्। पछि त्यो नेताले त हार्यो त! त्यही हो तेरोे निर्णायक भूमिका?’ नारदले सन्तेको असली हैसियत देखाइदियो।
‘ए डुलुवा नारदे, हैन तँ बेरोजगार भइस् भन्दैमा अरू पनि बेरोजगार हुनु? अरूले खोयाबिर्के खाउन् कि काठबिर्के खाउन्, तँलाई के मतलब? तँ अरूका पछि नलाग्। बरु तँ पनि चुनावा’ मुखाँ’ जागिर खा। दुई महिना भए पनि दुई÷चार हजार कमाइहाल, नत्र जिन्दगीभरि बेरोजगार बस्लास्’, पल्लो गाउँका कृष्णे ठकेदारले भने।
‘होइन के जागिर पाइन्छ हो ठेकदार साब चुनावमा? म पनि पो बेरोजगारै पो छु त हो! मिल्छ भने त म पनि पो खान्छु त हो जागिर त!’ गैरागाउँको कान्छो तामाङले भन्यो।
‘खान्छस् भने खाइदे न त खाइदे। म नेतालाई भन्दिन्छु। अलिकति फोर्स नभै त चुनावमा पनि पो काम पाइन्न। तर जिम्मा मेरो भो। तँ ढुक्क बस्। मान्, तेरो जागिर भो’, ठेकदारले जागिर मिलाइदिने अश्वासन दियो।
‘कामचाहिँ के होला हो ठेकदार साब मैले चुनावमा गर्नुपर्ने? यसो काम पनि थाहा पाउनु पाए हुन्थ्यो’, कान्छो तामाङले जिज्ञासा राख्यो।
‘ल सुन गैराघरे कान्छा! तैँले गर्ने कामचाहिँ नेताको पछिपछि दगुर्ने। गाउँमा जोसँग जम्काभेट हुन्छ, उसलाई हाम्रा नेतालाई भोट दिनुस् है! भन्दै नमस्कार गर्ने। ठाउँठाउँमा आफ्ना नेताले भाषण गर्छन् नि! त्यतिबेला बेसरी ताली ठोक्ने। विपक्षीलाई गोद्नुपर्यो भने गोद्ने। आफ्नो नेतालाई विपक्षीले गोद्न खोजे रोक्ने। यही हो तैँले गर्ने काम’, ठेकदारले कामको बेलिबिस्तार लगाए।
‘अनि काम त आर्मी पुलिसको भन्दा कडो पो रहिछ त हो ठेकदार साब! साँच्ची तलबचाहिँ कति दिन्छन् कुन्नि?’ कान्छाले मुख मिठ्याउँदै भन्यो।
‘तलबचाहिँ बिहान–बेलुका टन्न दालभात खाने। त्यसको पैसा तँलाई लाग्दैन। दुई महिना भए पनि घरको सामल जोगिन्छ के कान्छा तेरो। यस्तो दैलोमा आ’को जागिर पनि कोही छोड्छ बज्जे!’ ठेकदारले भने।
‘हो, हो! चुनाव भनेकै नेतालाई मोज, जनतालाई भोज हो। भोजचाहिँ मजाले खानुपर्छ कान्छा!’ तिलकेले थप्यो।
दालभातका कुरा सुनेर नगदनारायणलाई जिब्रो सक्सकाएछ। नगदनारायण बोल्यो, ‘हेर गाउँले हो, यस्ता पर्चा, पम्प्लेट, व्यानर र ताली, गाली, दाल, भात, डुकु, सागको पछि नलाग। बरु भोट दिने नोट लिने कुरा गर। अरू कुरा गोलीमारा।’
‘जाबो एउटा भोटले कति टन्न पैसा आउँछ हो नगदनारायण? भोट हालेर पैसा कमाउने सपनाचाहिँ नदेख् तँ पनि’, बलबहादुर याने कि बले बोल्यो।
‘ल! सबै उम्मेदवारलाई भोट हाल्छु भन्ने अनि सबैसँग पैसा लिने। सबैसँग लिएपछि गोजी भरिन्न?’ नगदनारायणले पैसा कमाउने तरिका सिकायो।
‘भोट त एउटा छ। सबैसँग भोट हाल्छु भनेर पैसा लिएर एउटालाई भोट हाल्दा पाप लाग्दैन? राम! राम!! राम!!! हेर यिनका मतिभ्रष्ट कुरा’, हरिशंकर पण्डितले भने।
‘हो पण्डितजी! सबैसँग पैसा लिएर एक जनालाई मात्र भोट हाल्दा पाप लाग्छ। दाहिने–देबे्र कतै नलागी सोझै नरक गइन्छ। त्यसैलै एक जनालाई भोेट हालेर नरक जानुभन्दा कसैलाई पनि भोट नहाल्ने। धर्मै धर्म। मरेपछि सोझै स्वर्ग। कसो?’ नगदनारायणले सोझै स्वर्ग जाने काइदाको जुक्ति निकाल्यो।
‘आफू त सोझो मान्छे, जसको खाइन्छ, उसको गाथा गाइन्छ। जसको लाइन्छ, उसको पछि जाइन्छ। भोट हाल्ने ठाउँमा गइन्छ, ड्याम्म छाप लाइन्छ’, फुर्बाले भन्यो।
‘हो, फुर्बाले ठीक कुरा गर्यो। हामी त नुनको सोझो गरिन्छ। बरु ए फुर्बा! भोट त हाल्ने तर कता हाल्ने हँ? रूखमा, सूर्यमा, हँसिया–हथौडामा, गाईमा, मादलमा, तराजुमा, घरमा, टेबलमा, हाँसमा, किताबमा... कता हाल्ने?’ डाँडाघरे बतासेले भन्यो।
‘हो त, हाल्न त हाल्ने कता हाल्ने?’ खरिबोटे विसुंखेले पनि फुर्वालाई जिज्ञासा राख्यो।
‘लौ, त्यति पनि थाहा छैन? भोट त ढ्वाङमा हाल्ने नि!’ फुर्वाले भन्यो।
हाहाहाहा...
छलफल चलिरहेको थियो। गीत गाउँदै गाइने आयोः
गाइने नेतालाई भन्छः
हे ...
गाउँ–गाउँमा चुनावको छ चर्चा
कहिले आउँछन् अपिले तिम्रा पर्चा?
नेताजीको गाउँ–गाउँमा खोजी भो
भोट ठेकेदारको खाली नै गोजी भो।
नेता हेर्न आतुर भा’का छन्
तिम्रा पीरले आधा पेट खा’का छन्
छिटो आऊ गाउँमा दर्शन देऊ
सोझासँग भोट किन्ने पैसा लेऊ।
हाम्रो गाउँलाई सिंगापुर बनाइदेऊ
चुनावभरि भोज भतेर लगाइदेऊ
भाषणमा स्वर्ग नै बनाउँछौ
चुनाव जिती बेपत्ता भैजान्छौ।
लोकतन्त्रमा तिम्रै छ मोजमस्ती
चुनावमा धाँधली गाउँबस्ती
खोयाबिर्के कतिलाई खुवाउँछौ?
भोट किनेर कतिलाई रुवाउँछौ?
जे भए नि तिम्रै छ चइन
तिम्लाई मस्ती जनतालाई ऐन
आऊ आऊ भोट सोर्न आऊ
चुनाव जिती भोज भतेर गराऊ।
चुनावभरि तिम्रै यो गाउँ भो
चुनावपछि चिन्दैनौ थाहा भो
जे भए पनि चुनावको आगत
लुट्न आऊ सबैलाई स्वागत!
तपाईंको ईमेल गोप्य राखिनेछ ।