|

लहान : साबिक सुखीपुर नगरपालिका कायम गराउन माग गर्दै सुखीपुर नगरपालिका बचाउ संघर्ष समितिको आह्वानमा आज अपरान्ह सिरहाको पूर्व पश्चिम सडक अन्तर्गत धनगढी जिरोमाइल खण्ड बन्द गराउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको पाँच जनालाई रिहा गरेको छ।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक (डिएसपी) हिराबहादुर पाण्डेले सडक अवरुद्ध गर्ने क्रममा जिरोमाइलबाट नियन्त्रणमा लिइएका संघर्ष समितिका संयोजक वि.पी. भुवन यादवसहित नेकपा एमालेका रामअवतार यादव, देवनारायण यादव, रामकिसुन यादव र सन्तोष यादवलाई छोडिएको बताए।

बन्दकर्ताभन्दा प्रहरी बढी

वि.सं. २०७२ असोज १ गते नगरपालिका घोषित सुखीपुरलाई गत फागुन २७ गते स्थानीय तहको पुनः संरचना अन्तर्गत गाउँपालिका बनाइएपछि संघर्ष समितिले तेस्रो चरणको आन्दोलन अन्तर्गत आज बिहान ११ बजेदेखि धनगढी जिरोमाइल सडक खण्ड अवरुद्ध गरेको थियो।

संघर्ष समितिको तर्फबाट सडक अवरुद्ध गर्न आएका बन्दकर्ताहरु मुस्किलले ५० जना थिए भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या करिब दुई सयको संख्यामा रहेका थिए। दिउँसो २ बजेसम्म संयम रहेका प्रहरीले सडक खुलाउन आग्रह गर्दा बन्दकर्ताहरुले ‘शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गर्न पाउँदैन’ भन्दै प्रतिवाद गरेपछि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर अबरुद्ध सडक खुलाएको थियो।

सेल्फी खिच्दै प्रहरी

संघर्ष समितिको आहुवानमा भएको अडक अवरोधमा सुरक्षाको लागि खटिएका प्रहरी बन्दकर्ताहरुको पुष्ठभूमि आउने गरी मोबाइलबाट सेल्फी खिच्दै थिए । ‘तपाइँहरुको संख्या थोरै भएपनि दुई घण्टा छोडिदियौं, अब सडक खुलाइदिनु पर्यो’ भन्दै सम्झाउन गएका प्रहरी अधिकारी आन्दोलनकारीहरु आउने गरी सेल्फी खिचिरहेका थिए।

आन्दोलन रोकिंदैन : संघर्ष समिति

स्थानीय तहको पुनःसंरचना अन्तर्गत सुखीपुरलाई गत फागुन २७ गते नगरपालिकाबाट गाउँपालिका गरिएपछि आक्रोशित स्थानीय बासिन्दाले चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत जिल्ला समन्वय समिति, स्थानीय सरकारी कार्यालयहरुमा तालाबन्दी गर्नुका साथै नगरपालिकाको मूल गेटमै अनिश्चितकालीन धर्नामा बस्दै आएका छन्।

साबिकको नगरपालिका कायम गराउन जिल्ला समन्वय समितिमा ज्ञापन पत्र पेश, स्थानीय सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्दसहितका आन्दोलन गर्दै आएको संघर्ष समितिले ‘माग पूरा नभएसम्म आन्दोलन नरोकिने’ जनाएको छ।

२०७२ साल आशिन १ गते गरेको नेपाल सरकारको निर्णय अनुसार तत्कालीन सुखीपुर गा.वि.स.मा छिमेकी मोहनपुर कमलपुर, कविलासी, विद्यानगर, लर्कनहा, बलही र सिलोर्वा पछवाडीलाई गाभेर सुखीपुर नगरपालिका घोषणा गरिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.