|

नवलपरासी : अविरल वर्षाका कारण आएको बाढीले नारायणी नदीमा पानीको सतह खतराको तह पार गरेको छ। 

पूर्वी नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजमा बुधबार बिहान ८ बजे पानीको बहाव प्रतिसेकेण्ड ३ लाख ७२ हजार ८ सय क्युसेक मापन भएको छ। ब्यारेजमा पानीको बहाव ३ लाख ५० हजार क्युसेकभन्दा बढी पुगे खतराको तह पार गर्छ। 

पानीले खतराको तह पार गरेपछि पश्चिम नवदपरासीका दक्षिणी गाउँहरु डुवानको खतरामा परेका छन्। नारायणीपारि रहेको सुस्तामा रहुवा घोलातर्फबाट नारायणीको बाढी पस्न सुरु गरिसकेको स्थानीय मुन्सी हरिजनले जानकारी दिए।

नारायणीमा पानीको बहाव बढ्ने क्रम निरन्तर रहेसँगै नदी तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन र सुरक्षित स्थानमा जानका लागि सूचना जारी भैसकेको छ ।

नारायणीमा पानीको सतह बढेपछि सुस्ता गाउँपालिका, प्रतापपुर गाउँपालिका, सरावल गाउँपालिका र पाल्हीनन्दन गाउँपालिकाका दर्जनौ गाउँहरु डुवाननको जोखिमका परेका छन्। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले अहिलेसम्म बाढीका कारण कुनै त्यस्तो क्षति नभएको बताएका छन्। जिल्लामा आपतकालीन उद्धार गर्नुपर्ने अवस्था आए नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई तयारी अवस्थामा रापखएको उनले बताए। बुधबार बिहान १० बजे विपद व्यवस्थापन समितिको बैठक बोलाइएको पनि उनले जानकारी दिए।

गण्डक ब्यारेजमा पानीको बहावले खतराको तह नाघेकोले आपत्कालीन उद्धारको अवस्थामा सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए। गण्डक ब्यारेजमा पानीको सतह बढ्दै गएपछि मंगलबारनै ब्यारेजका सबै ढोका खोलिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.