|

ओखलढुंगा : खोटाङको ऐँसेलुखर्क गाउँपालिका केन्द्रस्थित प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कमा मिनि–अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ।

कोरोना संक्रमण दर समुदायस्तरमा तीव्र रुपमा फैलिरहेको अवस्थामा गाउँपालिकामा मिनि–अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको हो।

ऐँसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाको पहल र राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा स्थापना भएको अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष निरौला र आविष्कार केन्द्रका प्रमुख महावीर पुनबीच सम्झौतापछि केन्द्रका ६ जना ईन्जिनियरले प्लान्ट जडान गरिदिएका थिए। प्लान्ट जडानमा केन्द्रले २० लाख खर्च गरेको छ।

सातवटा अक्सिजन कन्सनट्रेटरबाट अक्सिजन उत्पादन हुने र उत्पादित अक्सिजनलाई पाईपलाईन हुँदै १३ वटा बेडमा पुर्‍याइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रामकाजी नेपालले जानकारी दिए।  उनका अनुसार पाइप लाईनबाट ६ वटा कोभिड बेडमा, ६ वटा आकस्मिक बेडमा र बर्थिङ सेन्टरमा एकवटा अक्सिजन पाइप जडान गरिएको छ। प्लन्टले प्रतिमिनेट ५ लिटरका दरले १३ बेडलाई एकै पटक अक्सिजन प्रवाह गर्न सक्ने छ ।

विद्युतको सहायतामा अक्सिजन कन्सनट्रेटरले अक्सिजन उत्पादन गर्ने र बिद्युत नहुँदा अक्सिजन उत्पादन नहुने हुंदा ब्याकअपका लागि ४७ लिटरको दुई वटा अक्सिजन सिलिण्डर १३ बेडका बिरामीहरूलाई दिन मिल्ने गरी राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.