|

काठमाडाैं : ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा भोलि बिहान समूह ‘बी’ का दुई खेल हुँदै छन्।

उपाधि दाबेदार अर्जेन्टिनाले पाराग्वेसँग खेल्दैछ। दुई खेलबाट ४ अंक जोडेको अर्जेन्टिना दोस्रो जित निकाल्दै शीर्ष स्थानमा कायमै रहन चाहन्छ। अर्जेन्टिनाले यसअघि चिलीसँग १–१ गोलको बराबरी खेलेको थियो भने त्यसपछि भएको खेलमा उरुग्वेलाई १–० गोलले पराजित गरेको थियो।

आजको खेल जित्न सके अर्जेन्टिना अघिल्लो चरणमा प्रवेश गर्नेछ। बोलिभियालाई ३–१ गोल अन्तरले पराजित गरेको पाराग्वे स्पष्ट ३ अंक जोड्दै समूहको तेस्रो स्थानमा छ।

आजको खेल जित्न सके पाराग्वेको अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो बन्नेछ। यी दुई टिमबीच हालसम्म भएका १ सय ८ खेलमा अर्जेन्टिनाले ५८ खेल जितेको छ भने पाराग्वेले १६ खेलमा जित निकालेको छ। ३४ खेल बराबरीमा सकिएको छ। यी दुई टिम बीचको खेल भोलि बिहान पौने ६ बजे सुरु हुनेछ। 

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले पाराग्वेविरुद्ध खेलमा धेरै परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ। उरुग्वेसँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेका नुहेल मोलिनाको ठाउँमा स्कालोनीले पाराग्वेविरुद्ध जर्सी नम्बर ४ का गोन्जालो मोनिटेललाई उतार्न सक्ने अनुमान गरिएको छ। मिडफिल्ड र एट्याकिङमा स्कालोनीले केही परिवर्तन खोजेका टिवाइसी स्पोर्टसले जनाएको छ।

त्यस्तै लाैटेरो मार्टिनेजको ठाउँमा स्कालोनीले सुरुवाती ११ मा सर्जियो अगुएरोलाई राख्न सक्ने पनि टिवासीले लेखेको छ। 

यसअघि भोलि बिहानै हुने पहिलो खेलमा उरुग्वे र चिली मैदान उत्रनेछन्। दुई खेलबाट ४ अंक जोडेको चिली समूहको दोस्रो स्थानमा रहेको छ। चिलीले यसअघि समूहको पुछारमा रहेको बोलिभियालाई १–० गोलले हराएको थियो भने अर्जेन्टिनासँग १–१ गोलको बराबरी खेलेको थियो।

उरुग्वेलाई हराउन सके चिली पनि अघिल्लो चरणमा पुग्ने छ। आफ्नो पहिलो खेल अर्जेन्टिनासँग १–० गोलले गुमाएको उरुग्वे आज पहिलो जितमा खोजीमा छ। अंकविहीन रहेको उरुग्वे समूहको चौथो स्थानमा छ।

यी दुई टिमबीच हालसम्म भएका ८२ खेलमा उरुग्वेले ४६ खेल जितेको छ भने चिलीले १९ खेल आफ्नो पक्षमा पारेको छ। बाँकी १७ खेल भने बराबरीमा सकिएको छ। यी दुई टिम बीचको खेल भोली बिहान पौने ३ बजे सुरु हुनेछ। 

समूह ‘ए’ को ब्राजिल आफ्ना दुबै खेलमा जित निकाल्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। पहिलो खेलमा भेनेजुयलालाई ३–० गोलले हराएको ब्राजिलले दोस्रो खेलमा पेरुलाई ४–० गोलले पाखा लगाएको थियो।

प्रतियोगितमा ५/५ टिमको दुई समूह बनाइएको छ। दुवै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्नेछन्। समूह ‘ए’ मा ब्राजिलसँगै कोलम्बिया, पेरु, भेनेजुयला र इक्वेडर रहेका छन्। यस्तै समूह ‘बी’ मा अर्जेन्टिना, चिली, पाराग्वे, उरुग्वे र बोलिभिया छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.