|
फाइल फोटो

धादिङ : अविरल वर्षापछि आएको पहिरोमा ट्रक पुरिँदा दुईजनाको मृत्यु भएको छ। पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–१० मा खसेको पहिरोले चारवटा सवारी साधनमा क्षति पुगेको छ। 

पहिरोले क्षति पुर्‍याएको चारमध्ये ना ८ ख ४५४० नम्बरको ट्रक  र ना ७ ख ३२० नम्बरको कण्टेनरको पहिचान खुलेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। अन्य दुईवटा सवारी साधनको नम्बर खुलेको छैन । ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका–६ का १८ वर्षीय वीरबल चेपाङ  र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ।

चेपाङको शव ट्रकमा चेपिएको अवस्थामा छ भने सोनीको पोखराको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिए। तीन जनाको पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ।

राजमार्गमा पुरिएका सवारी साधन पहिरो रोकिएपछि खोजी गर्न सकिने प्रहरीको भनाइ छ। सडक अवरुद्ध हुँदा मालबाहक तथा यात्रुबाहक सवारीको लामो लाइन लागेको छ। 

पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका सहित गजुरी गाउँपालिका लगायतका सडक पहिराले अवरुद्ध भएको छ। धादिङ सदरमुकाम जोड्ने कालुपाण्डे राजमार्गअन्तर्गत सिद्धलेक गाउँपालिकाका परेवाटारमा पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.