|

काठमाडौं : आइतबार बिहान ९ बजे जमल पुग्दा नयाँ शक्तिका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई दलबलसहित जमल पुगेका थिए। विभिन्न साना ६२ दलहरुको नेतृत्व गरेर उनी लगायत नेताहरु निर्वाचन कार्यालय घेर्न पुगिसकेका थिए। माग थियो- नयाँ दललाई दलीय चुनाव चिन्हबाट वञ्चित गर्ने गरी जारी भएको स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने।

जसका लागि नयाँ शक्ति नेपालले आइतबार देशभरीका सबै निर्वाचन आयोग र निर्वाचन कार्यालयहरुमा धर्ना दिने कार्यक्रम राखेको थियो। गत बिहीबार नै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर ऐन संशोधनका लागि ४८ घण्टाको समयसीमा दिएको नयाँ शक्ति माग पुरा नभएपछि सडक प्रदर्शनमा उत्रिएको थियो।

जनयुद्धका सहयात्री भए पनि पछिल्लो समय अलग अलग राजनीति गरिरहेका बाबुराम भट्टराई र माओवादी क्रान्तिकारीका उपाध्यक्ष सीपी गजुरेलले एक अर्काको हात समातेर कान्तिपथतिर अगाडि बढेका थिए। बाबुराम भट्टराई प्रधानमन्त्री एवम् तत्कालीन एकीकृत माओवादीका नेता छँदा पार्टी भट्टराईको कार्यदिशा अनुसार संसदीय भासमा डुबेको लगायतका आरोप लगाएर मोहन वैद्य र सीपी गजुरेल लगायतका नेताले पार्टी फुटाएका थिए।

त्यसपछि सीपी गजुरेल भट्टराईका आलोचकका रुपमा प्रस्तुत हुदै आएका थिए। तर, आइतबार भने संसदीय प्रकृयाकै लागि बाबुराम भट्टराई र सीपी गजुरेल एकअर्काको हात जोडेर नारा लगाउदै निर्वाचन आयोग घेर्न पुगेका थिए। उनीहरुका साथमा थिए नयाँ शक्ति नेतृ हिसिला यमी, सांसद गंगा चौधरी, नेताहरु रामकुमार शर्मा, परशुराम तामाङ, कम्युनिष्ट नेता साध्यबहादुर भण्डारी, माओवादी क्रान्तिकारीका केन्द्रीय सदस्य सुरेश श्रेष्ठ, वसन्त वोगटी।

हिसिलाले तोडिन् निशेधित क्षेत्र

कान्तिपथस्थित बहादुर भवनमा उपराष्ट्रपति कार्यालय र निर्वाचन आयोगको कार्यालय रहेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ। त्यसैले निषेधित क्षेत्रमा सुरक्षाका लागि सयौं प्रहरी तैनाथ गरिएको थियो। नेपाल प्रहरी अग्रपंतिमा थियो भने सशस्त्र प्रहरी पानीको फोहोरा फाल्ने यन्त्रसहित तैनाथ थियो। त्यस्तै केशरमहल अगाडि पनि ठूलो संख्यामा प्रहरी तैनाथ थिए।

जमलबाट निर्वाचन आयोगको कार्यालयतिर जाने बाटोमा अगाडि बढेको बाबुराम भट्टराईसहितको टोलीलाई ज्योति भवन पुग्नै लाग्दा प्रहरीले निषेधित क्षेत्र भन्दै रोकेको थियो। अगाडि प्रहरीको हुल र पछाडिबाट नाराबाजी गर्दै गरेका कार्यकार्ताले गर्दा प्रहरी र प्रदर्शनकारीबीच ठेलाठेल भयो। बीच सडकमा काँडेतार लगाएर प्रदर्शनकारीलाई अगाडि बढ्न दिइएको थिएन। अब के गर्ने भनेर प्रदर्शनकारीबीच अलमल थियो। उनीहरु निषेधित क्षेत्र तोड्ने कि नजिकै गएर नाराबाजी मात्रै गर्ने भन्नेमा अन्योलमा थिए।

नयाँ शक्ति नेतृ हिसिला यमीले प्रहरीले लगाएको काँडेतार धकेल्न थालिन्। उनले काँडेतारलाई धकेल्न थालेपछि प्रदर्शनकारी पनि हौँसिए। उनीहरु प्रहरीलाई धकेल्न थाले। प्रदर्शनकारीसँगको २० मिनेटको घम्साघम्सीपछि प्रहरी पछाडि हट्यो र काँडेतार पनि हटायो।

बाबुराम लागायत नेता पक्राउ

प्रशासनले प्रदर्शनका लागि निषेधित क्षेत्र तोडेपछि प्रहरी र नयाँ शक्ति लगायत दलका प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो। २० मिनेटको घम्साघम्सीपछि प्रहरी पछि त हट्यो तर उसले प्रदर्शनमा अग्रपंतिमा रहेका नेताहरुलाई पक्राउ गर्न थाल्यो। जसमा अग्रपंतिमा रहेका बाबुराम भट्टराई, सीपी गजुरेल, हिसिला यमी लगायत नेता कार्यकर्ता परे। प्रहरीले उनीहरुलाई पक्राउ गरेर सुरुमा २ नम्बर गण महाराजगन्जमा लगिएको थियो। अहिले उनीहरुलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा राखिएको छ।

जहाँ विभिन्न ११ दलका ४८ जनालाई राखिएको छ। त्यहाँ पनि भट्टराईले आफ्नो माग पूरा हुनुपर्छ भनेर अड्डी कसेका छन्। उनले आफ्नो माग पूरा नभएसम्म महेन्द्र पुलिस क्लबमा नै धर्ना दिने सामाजिक सञ्जालमा लेखेका छन्।

मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीले प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै विरोध गरेको छ। उसले आन्दोलनकारी दलको माग पूरा गर्न सरकारसँग माग गरेको छ। साथै पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.