१२ बुँदे निर्णय

|

डडेल्धुरा : लकडाउनले यातायात मजदूर मारमा परेको र व्यवसाय धरासायी भएको तर, सरकारले सहयोग नगरेको भन्दै सुदूरपश्चिमका यातायात व्यवसायी चिन्तित बनेका छन्।

सोमबार उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रालिको आयोजनामा सुदूरपश्चिमका सबै यातायात प्रालि सम्मिलित भेलामा सहभागीले सरकारले बैंक ब्याज र ऋण किस्ता मिनाहा गर्नुपर्ने बताएका हुन्।

घरजग्गा धितो राखी लगानी गरेको सार्वजनिक यातायात क्षेत्रमा आबद्ध लाखौं मजदुर लकडाउनले समस्यामा परेको भन्दै व्यवसायीले बैंक ब्याज–ऋण किस्ता मिनाहा गर्नुपर्ने शैलेश्वरी सार्वजनिक यातायात प्रालिका अध्यक्ष गणेशबहादुर मलासीले बताए।

११ चैत २०७६ पछि केही समय खुकुलो भएको लकडाउनमा यात्रुवाहक सवारी साधनहरूले आफ्नै खर्च पनि उठाउन नसकेको अवस्थामा पुनः कोरोना महामारीको दोस्रो लहरका कारणले भएको निषेधाज्ञाले यातायात बन्द हुँदा समस्या परेको व्यवसायीको भनाइ छ।

लकडाउनको अवधिमा पनि सार्वजनिक यातायात क्षेत्र पूर्ण जोखिममा हुँदाहुँदै पनि राज्यले ध्यान नदिएको यातायात महासंघका सल्लाहाकार होमबहादुर कुवँरले बताए। यातायात सञ्चालन गर्दा कोरोनाको जोखिम समेत रहेकोले सरकारले सम्पूर्ण यातायात व्यवसायी र यातायातमा काम गर्ने मजदुरलाई कोरोना खोप लगाउनुपर्ने बताए।

दैनिक जीवनयापनमा समस्या भइरहेको अवस्थामा सरकार तथा बैंक वित्तीय संस्था संवेदनशील नभएको यातायात व्यवसायीहरूको गुनासो छ। लामो समय थन्किएका गाडी चल्ने स्थितिमा ल्याउने पैसासमेत नभएको उनीहरूको भनाइ छ।

‘जिन्दगी लोनमा चल्ने भो। थन्किएका गाडी बिग्रिसकेका छन्। एकातिर बनाउने पैसा छैन अर्कोतिर बैंकलाई ब्याज–ऋण किस्ता तिर्नुछ,’ सार्वजनिक यातायात केन्द्रिय महासंघका सुदूरपश्चिम अध्यक्ष दिलबहादुर कलौनाले भने, ‘अब कसरी ऋण तिर्नु कसरी गाडी मर्मत गर्नु? सरकारले ध्यान दिनुपर्छ।

यात्रुवाहक सवारीसाधन मर्मत गर्न लाखौं रूपैयाँ चाहिने उनीहरूको भनाइ छ। ‘घाम पानीले टायर खराब भइसकेको छ। मोबिल, ब्याट्रीलगायत धेरै कुरा फेर्नुपर्छ,’ उनले भने।

सरकारले कुनै ठोस निर्णय नलिए गाडी चलाउन पनि कठिन हुने उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रालिका  निवर्तमान अध्यक्ष सन्तोष खड्काले बताए।सर्वप्रथम गाडी चलाउने मोडालिटी प्रस्ट हुनुपर्ने उनको तर्क छ। अहिलेको अवस्थामा यातायात व्यवसायीलाई पैसा कमाउनु नपरेको उनले स्पस्ट पारे।

१२ बुँदे निर्णय

यातायात व्यवसायीले १२ बुँदे निर्णय गरेका छन्। सुदूरपश्चिमका यातायात व्यवसायी तथा यहाँका विज्ञहरूको टोलीले १२ बुँदे निर्णय गरेको हो।

यातायात व्यवसायीलाई मध्यम जोखिमबाट पूर्ण जोखिममुक्त कायम गराई रोजगार व्यवसाय र मजदुरहरूलाई कोरोना खोप उपलब्ध गराए मात्र गाडी सञ्चालन गर्ने, निजी यात्रुवाहक साधनलाई यात्रु ओसारपोसारमा रोक लगाउन सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रालिका प्रमुख लक्ष्मणसिंह महरले जानकारी दिए।

यस्तै, लकडाउन अवधि भरको व्याज पूर्ण रूपमा छुट र सावामा बढीमा पाँचदेखि सात प्रतिशत ब्याज कायम गराउने निर्णय गरिएको, डिजेल, पाट पुर्जाका, मजदूर भत्ता लगायतका आधारमा भाडादर कायम गर्न लगाउने, लकडाउन खुलेको ६ महिनापछि मात्र किस्ता सञ्चालन गर्नेलगायत निर्णय गरिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.