|

ओखलढुंगा : जिल्लाको खिजिदेम्बा गाउँपालिका-९ का ६० घरधुरीलाई राहत वितरण गरिएको छ। कोरोना महामारीका कारण निषेधाज्ञा हुँदा समस्यामा परेकाहरुका लागि लक्षित गर्दै राहत वितरण गरिएको हो।

करिब १ लाख ५३ हजारको लागतमा स्थानीयलाई प्रतिघर ३० केजी चामल, दाल २ केजी, तेल आधा लिटर प्रदान गरिएको छ। स्थानीय समाजसेवी पेमगेली शेर्पाको पहलमा जर्मनी नागरिक (हर्टमुट) को सहयोगमा वडा नम्बर ९ को फाप्रे र वाङडीडाँडा टोलमा राहत वितरण गरिएको स्थानीय ङावाङ ल्हाक्पा शेर्पाले जानकारी दिए।

पेमागेलीले यसअघि पनि राहत वितरण गरेका थिए। उनले वडा नं. ९ को करिब सबै परिवारलाई नै राहत वितरण गर्ने अभियान सञ्चालन गरेको बताए।  पथ प्रदर्शकको रूपमा पर्यटन व्यवसायमा संलग्न शेर्पा आफूसँगै घुम्न आएका विदेशी नागरिकमार्फत सहयोग संकलन गरेर स्थानीय पीडितहरुलाई सहयोग गर्दै आएका छन्।

वडामा राजनीतिक स्वार्थ जोडेर सहयोग गर्नेहरुको लर्को लाग्ने गरेको भए पनि यो पटक कसैले राहत उपलब्ध नगराएपछि आफूले  भने निःस्वार्थ सहयोग गरेको र राहत दिएर कुनै अपेक्षा नराखेको अगुवा पेमागेली शेर्पाको भनाइ छ।

ओखलढुंगामा गतवर्षको बन्दाबन्दीमा स्थानीय तहहरूले समस्यामा परेका नागरिकहरूलाई राहत उपलब्ध गराएका भए पनि यो पटक भने कुनै स्थानीय सरकारले समस्यामा परेको नागरिकको चुल्हो बले नबलेको हेरेका छैनन्। जिल्लामा स्थानीय समाजसेवी तथा संघसंस्थाहरूले समस्यामा परेका नागरिकको पहिचान गरी राहत सामग्री उपलब्ध गराउँदै आएका छन्।

खिजीदेम्बा–९ मा पनि स्थानीय युवाहरुले स्थानीयहरुलाई विभिन्न समयमा राहत प्याकेज बनाएर सहयोग गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.