|

ओखलढुंगा : उदयपुरको चपन जंगलमा रुख ढलेर पोल ढाल्दा माथिल्लो सगरमाथाका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ। लगातारको वर्षाले जमिन गलेर रुख ढाल्दा खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा विद्युत् सेवा अवरुद्ध भएको हो।

बुधबार राति परेको भारी वर्षाका कारण उदयपुर–बुइपा सबस्टेशन रुटअन्तर्गत उदयपुर जिल्लाको चपन जंगलमा रुख ढलेर ५ वटा पोल ढाल्दा बिहीबार बिहान (११ः४५ बजे) बाट तीन जिल्लामा विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण ओखलढुंगा वितरण केन्द्रले जनाएको छ। उदयपुरबाट बुइपा सब–स्टेसनसम्म ३३ केभी प्रसारण लाइन आउने र त्यहीबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा विद्युत् विस्तार गरिएको छ।

खोटाङ र ओखलढुंगाबाट चपन जंगल पुग्न धेरै समय लाग्ने भएका कारण उदयपुरको गाईघाटबाट टोली पुगेर मर्मत गर्न थालेको र मर्मत सकिएपछि विद्युत् आउने ओखलढुंगा वितरण केन्द्रका कर्मचारी बाबुराम पन्थीले जानकारी दिए। 

त्यस्तै अवरुद्ध विद्युत् मर्मतका लागि रसुवाघाटबाट २ जना प्राविधकी र अन्य सहयोगका लागि गाईघाट केन्द्रलाई आग्रह गरिएको विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ललित नारायण चौधरीले बताए। ५ वटा पोल ढल्दा तार चुडिएको, अन्य पोलहरुमा क्षति पुगेको, एङ्गल भाँचिएका प्राधिकरणले जनाएको छ।

विद्युत् प्रसारणको लामो रुट भएको र अधिकांश रुट जंगलमै पर्ने भएकाले बर्खामा धेरै बाढी, पहिरो जाने र कतिपय अवस्थामा जमिन गलेर पुराना रूखहरू ढल्दा विद्युतका पोल ढाल्ने, तार चुडाइदिने गरेको छ।

यो  समस्याबाट ओखलढुंगा सोलुखुम्बु र खोटाङका सर्वसाधारण आजित भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.