|

नवलपरासी : कोरोना महामारीका समयमा खटिएकाहरुलाई दिइएको भत्तामा विभेद गरिएको नवलपरासीको बर्दघाट नगरपालिकाका स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन्। सँगै खटिएका स्वास्थ्यकर्मीमध्ये कसैलाई भत्ता उपलब्ध गराएको र कसैलाई उपलब्ध नगराएको भन्दै महिला स्वास्थकर्मीहरुले गुनासो गरेका हुन्।

उनीहरुले प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्यलाई पत्र बुझाएका छन्। महिला स्वास्थ्यकर्मीहरुले आफूहरुलाई लैंगिक आधारमा समेत विभेद  गरिएको आरोप लगाएका छन्। १५ जना महिला स्वास्थकर्मीले भत्ता नपाएको बताइएको छ। महामारीको समयमा अन्य स्वास्थयकर्मी सरह काम गरे पनि स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले आफ्नो अनुकूलमा भत्ता उपलब्ध गराएको र समन्वय नगरेको भत्ता नपाएका महिला स्वास्थ्यकर्मीहरुको आरोप छ।

प्रमुख प्रशासकीय अधिकृत पाध्यले यस वर्षको भत्ता सबैलाई उपलब्ध गराएको र गत वर्ष केहीको छुटफुट भएको हुनसक्ने बताए। यस विषयमा स्वास्थय शाखाबाट जानकारी लिएर सोहीअनुसार अगाडि बढ्ने उनको भनाइ छ।

स्वास्थ्य शाखा प्रमुख ज्ञवालीले भने सबै स्वास्थयकर्मीहरुलाई उनीहरुको तलब स्केलअनुसार पाउनुपर्ने भत्ता उपलब्ध गराएको बताएका छन्। कोही छुटेको भए उनीहरुलाई भत्ता उपलब्ध गराइने उनले बताए।

भत्ता नपाएको गुनासो गरेका चिसापानी अस्पताल र नगरका वडाहरुमा रहेका स्वास्थ्य केन्द्रमा कार्यरत महिला स्वास्थ्यकर्मीहरुले नगर प्रमुख धीरज शर्मा बस्याललाई समेत भेटेर ध्यानाकर्षण गराएका छन्। उनीहरुले जोखिमको समयमा काम गरेबापत सरकारको तर्फबाट उपलब्ध गराइएको भत्ता खटेका सबै स्वास्थ्यकर्मीले पाउनुपर्ने माग गरेका छन्।

यसअघि कोरोनाको खोप लगाउने क्रममा चिसापानी अस्पतालको केन्द्रमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको र खोपको रेकर्ड फाइल च्यातिए पनि घटनामा संलग्नलाई अहिलेसम्म पनि कारबाहीको दायरामा नल्याएको प्रति पनि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले गुनासो गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.