भत्काउन थाल्यो नगरपालिकाले मापदण्ड मिचेका घर

|

  • रमेश पराजुली-

सिन्धुपाल्चोक : चौताराको पुरानो बसपार्कदेखि टुँडिखेल चोकसम्म सडक बिस्तार कार्य सुरु भएको छ। यस क्रममा नगरपालिकाले सडक मापदण्डभित्र पर्ने घरटहरा भत्काउन थालेको छ।

नगरपालिकाले यसअघि पटक पटक सडक मापदण्डभित्र पर्ने घरटहरा भत्काउन निर्देशन दिएको थियो। नगरपालिकाको निर्देशनलाई बजारबासीले बेवास्ता गरेपछि नगरपालिकाले सडक मापदण्डभित्र पर्ने गरी बनाइएका घरटहराहरूमा डोजर लगाएको छ। सडक बिस्तार कार्य थालनी गरेसँगै मापदण्ड मिचिएका दुई घर भत्काइसकेको छ।

चौतारा नगरपालिकाको चौथो नगर परिषद्ले सडक बिस्तार गर्ने योजना बनाएको थियो। पछिल्लो नगर परिषद्ले बजारभित्र दोहोरो सवारी साधन आवात–जावत गर्न मिल्ने गरी सडक बिस्तार गर्ने निर्णय गरेको थियो। 

पछिल्लो नगर परिषद्कै निर्णयलाई आधार मानेर सडक बिस्तार कार्य थालनी गरेको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख उमाकान्त अधिकारी बताउँछन्। सडक बिस्तार कार्यलाई तीव्र रूपमा अगाडि बढाई छिट्टै चौतारा बजारमा दोहोरो सवारी साधन आवत–जावत गर्ने बनाउने अधिकारीको भनाइ छ। 

बेथितिमा बजार

०७२ बैशाख १२ को भूकम्पले बजारका अधिकांश घरटहरा भत्केपछि चौतारको सडक धुलाम्य भएको छ। साँघुरो सडक, त्यसमा पनि सवारी साधनको अत्यधिक चापले गर्दा सर्वसाधारणलाई सदरमुकामको सडकमा हिँडडुल गर्न समस्या परेको स्थानीय बताउँछन्।

भूकम्पले जीर्ण बनाएका घरहरू भत्काइए पनि त्यसको उचित व्यवस्थापन हुन नसक्दा बजारबासी र बटुवा निकै सास्ती खेप्न बाध्य छन्। भूकम्पले जीर्ण बनाएका बजारको दायाँ–बायाँका घरहरू अहिले पनि नभत्काउँदा कति बेला दुर्घटना हुने हो भन्ने त्रासमा बजारबासी छन्।

भूकम्पअघि बजारमा सवारीको चाप कम भए पनि भूकम्पपछि भने सवारीको चाप ह्वात्तै बढेको छ। दैनिक पाँच सय बढी सवारी साधन आवत–जावत हुँदा बजार धुलाम्य हुने गरेको स्थानीयको भनाइ छ। 

अहिले बजारमा आवत–जावत गर्नेहरू मास्क नलगाई हिँड्नै सक्दैनन्। वृद्धवृद्धा, बिरामी, स्कुले विद्यार्थी, बालबालिका यो धूलोको कारण बढी समस्यामा रहेका र नगरपालिकाले समयमा नै बजार सरसफाई नगर्दा समस्या भएको स्थानीयहरू बताउँछन्।

सरकारी भवनकै बेवास्ता

नेपाल सरकारले लागू गरेको सडक मापदण्डअनुसार सडकको दायाँ–बायाँ पर्ने सरकारी भवनसमेत भत्काउने काम थालनी गरिएको छैन। सरकारी पक्षकै बेवास्ता हुँदा सरकारीलाई त्यसै छाडेर व्यक्तिगत घरटहरामा डोजर लगाइएको स्थानीयको गुनासो छ। 

सडक मापदण्डभित्र बिजुलीको पोल, टेलिफोन तथा केवल लाइनहरू सार्ने र खानेपानीको पाइपसमेत सार्ने नगरपालिकाले गर्दासमेत अझै हटाउने छाँटकाट देखिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.