|

गुडियाजस्ता दुईटी छोरी भएर पनि सुधाको रहर मेटिएन। अर्को सन्तान चाहियो, त्यो पनि छोरा नै!

पति मनोहरसँग एकान्तमा बिन्ती बिसाई, ‘एउटा छोरा त चाहिन्छ।

मनोहर झर्कियो, ‘छोरा किन चाहिएको भन्ने मलाई थाहा छ।

किन?,’ आश्चर्य भावमा सुधाले सोधी।

किन हुन्थ्यो, मरेपछि पिण्ड खान!,’ मनोहरको जवाफले सुधाको बोली बन्द भयो। मनमा जे भए पनि त्यस दिनदेखि बाहिर ल्याइनन्। रहर मारेर बसिन्।

श्रीमतीलाई मात्र होइन, ‘छोरा चाहिन्छ भन्नेहरूलाई मनोहर यस्तै जवाफ दिन्थ्यो।

०००

छोरीहरू हुर्किँदै थिए। बुझ्ने भइसकेका थिए। छोरा र छोरीबीच विभेद गर्नु हुँदैन भन्ने बुबाप्रति उनीहरू पनि गर्व गर्थे। सुधाले बुझिसकेकी थिई, ‘छोरा हुने सबैले सुख कहाँ पाएका छन् र!

०००

बेलुकीको खाना खाएर लिभिङ रूममा बसेका थिए चारैजना। कुराकानी चल्दै थियो। मोबाइलको घण्टी बज्यो। बोल्दै शयन कक्षतिर लाग्यो मनोहर। आमाछोरीले चलिरहेको प्रसङ्गलाई निरन्तरता दिए।

अरू कुरा त याद गरेनन् आमाछोरीले। अन्तिमको वाक्य सुनेर तीनै जनाको मुहारको भाव एकाएक परिवर्तन भयो।

‘...हतार नगर न यार!’ फोनवार्ता टुङ्ग्याउँदै गर्दा मनोहर भन्दै थियो, ‘ढिलो भएर क्यै बिग्रँदैन, ढिलो होस्-छोरै होस्।

मनोहरको मुखमा एकाएक यो उखान कसरी आइपुग्यो? तीनै आमाछोरी मुखामुख गर्न थाले।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.