चारजना घाइते, दुई जनाको अवस्था गम्भीर

|

सिरहा : सिरहाको मिर्चैया नगरपालिकामा रहेको एक निजी विद्यालयका प्रिन्सिपलले विद्यालयको शुल्क भुक्तानमा ढिलाइ भएपछि एक परिवारमाथि कुटपिट गरेको छन्‌।

मिर्चैया नगरपालिका-१०, मथलेश्वरमा रहेको श्री राजदेवी इङ्‌ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले समयमै विद्यालयको शुल्क दिन नसक्दा स्थानीय अशोक साहको परिवारमाथि कुटपिट गरेका हुन्‌।

​३ छोरी र १ छोरा रहेका अशोकको कान्छो छोरा नवीनकुमार साह सोही विद्यालयको युकेजीमा पढ्दैछन्। ५/६ हजार रुपैयाँजति शुल्क तिर्न बाँकी रहेको परिवारजनको भनाइ छ।

अशोकले मथलेश्वर बजारमा पान पसल चलाइरहेका छन्‌। उनी पसलमै रहेका बेला बाँकी पैसा माग्न प्रिन्सिपल साह सोमबार दिउँसो साढे १२ तिर त्यहाँ पुगेका थिए।

लकडाउनका कारण आर्थिक समस्या परेको भन्दै केही दिन समय मागेपनि प्रिन्सिपल साहले ‘अहिले नै पैसा दिनुपर्छ’ भन्दै अपशब्द प्रयोग गर्दै कुटपिटमा उत्रिएको पीडित अशोकले बताए।

कुटपिट भइरहेको देखेपछि छुटाउन आउँदा उनीहरूलाई पनि प्रिन्सिपल साहले कुटपिट गरेका थिए। कुटपिटबाट उनको पत्नी सुनितादेवी साह, जेठी छोरी सरिता साह र माइली छोरी अञ्जली साह घाइते भएका छन्।

कुटपिटबाट अशोक र उनकी छोरी सरिता गम्भीर भएकी छिन्। अशोकको टाउकोमा चोट लागेको छ भने छोरी सरिताको हात भाँच्चिएको र टाउको पनि फुटेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

गम्भीर रहेको दुवैलाई मिर्चैयामा प्राथमिक उपचारपछि विराटनगर रिफर गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले बताए। सामान्य घाइतेहरूको उपचार मिर्चैयामै भैरहेको छ।

कुटपिटमा संलग्न प्रिन्सिपल साह फरार भएका छन्। निजको खोजीकार्य भइरहेको प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रेष्ठले बताए।

हात भाँचिनेगरी विद्यार्थीमाथि कुटपिट

मिर्चैया नगरपालिकामा निजी विद्यालयले विद्यार्थी र अभिभावकमाथि कुटपिट गरेको यो पहिलो घटना होइन।

२ वर्षअघि मिर्चैया बजारमा रहेको स्वास्तिक पाठशालामा गृहकार्य नगरेको भन्दै एक विद्यार्थीलाई शिक्षकले हात भाँचिनेगरी कुटपिट गरेका थिए।

कक्षा ६ मा अध्ययनरत सिरहा नगरपालिका-२ का १२ वर्षीय रितिक यादवलाई गृहकार्य नगरेको भन्दै शिक्षकले २०७६ माघ १० मा कुटपिट गरेका थिए।

नेपाली विषयको गृहकार्य नगरेको भन्दै शिक्षक तारा कार्कीले कुटपिट गर्दा रितिकको हात नै भाँच्चिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.